२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चार्ल्स शोभराजः १९ वर्षअघि किन नेपाल आएका थिए, कसरी पक्राउ परे

२०७९, ८ पुष शुक्रबार ०९:२०

पुस ८, काठमाडौँ | एक "अज्ञात र रहस्यमय" व्यक्तिको "सुटुक्क" तस्बिर खिच्न उनी तीन दिन ठमेल क्षेत्रमा "गौँडा ढुकेर" बसे। पासपोर्ट साइजको एउटा फोटो दिएर उनलाई ती व्यक्ति चिन्न र फोटो खिच्न अह्राइएको थियो। यो सेप्टेम्बर २००३ को प्रसङ्ग हो। काम त्यति सजिलो थिएन। तैपनि मनमा अलिअलि डर र काँधमा क्यामरा बोकेर ठमेलमा खटिए। ती व्यक्ति "खतरनाक" भएको सङ्केत पाएको भए पनि कति "खतरनाक" थिए भन्ने कुराको भेउ २६ वर्षे ती जोसिला युवकलाई थिएन।

आफ्ना एक साथीले त्यो फोटो चार्ल्स शोभराजको हुनसक्ने बताएको भए पनि उनलाई शोभराज को हुन् भन्ने भेउपत्तो थिएन। तर "कुख्यात हत्यारा" भनेको सुनेपछि उनको मनमा चिसो पसेको थियो। लामो र पट्यारलाग्दो प्रतीक्षापछि उनले ती व्यक्तिलाई सेप्टेम्बर १६ मा देखे र उनको फोटो खिचे। त्यो फोटो भोलिपल्ट काठमाण्डूबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्स र उसको भगिनी प्रकाशन नेपाली दैनिक अन्नपूर्ण पोस्टमा प्रकाशित भयो।

ती दुई पत्रिकामा फोटोसहित 'स्कूप' छापिएपछि बल्ल प्रहरी र प्रशासनले कुख्यात अपराधी शोभराज काठमाण्डूमा निर्विघ्न घुमिरहेको जानकारी पायो। शोभराजलाई सन् १९७० को दशकमा नेपालमा केही विदेशी पर्यटकको हत्या गरेको आरोप लागेको थियो। जोसेफ नाथनको बाइलाइनमा समाचार छापिएको थियो। तर फोटोमा कसैको क्रेडिट थिएन। त्यसरी ठमेलमा शोभराजको त्यो तस्बिर खिच्ने फोटोपत्रकार राजेश गुरुङ थिए। अहिले उनी द हिमालयन टाइम्सको फोटोग्राफी विभागका प्रमुख छन्।

शोभराजलाई फर्जी राहदानी प्रयोग गरेको मुद्दा र सर्वस्वसहित जन्मकैद हुनेगरी सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या गरेको अभियोगमा छुट्टाछुट्टै मुद्दा चल्यो। सर्वोच्च अदालतको आदेशपछि १९ वर्ष तीन महिना काठमाण्डूको जेलमा बिताएका शोभराज जेलबाट छुटेका छन्। अदालतले उनलाई १५ दिनभित्र स्वदेश फिर्ता गर्ने व्यवस्था मिलाउन पनि आदेश दिएको थियो।

'निकै डर लागेको थियो'

उन्नाइस वर्षको अवधिमा गुरुङले शोभराजको बारम्बार फोटो खिचे। उनी जेलबाट छुट्दा पनि उनी फोटो खिच्न पाइने आशामा केन्द्रीय कारागार गएका थिए। तर शोभराजले कसैलाई पनि फोटो खिच्न दिएनन्।

शोभराज जेलबाट रिहा हुन लागेको थाहा पाएपछि गुरुङले पहिलाको कुरा सम्झिँदै भने, "ठमेलको उत्तरतिर नयाँबजारस्थित गार्डन होटलबाहिर गएर म साँझ नढल्किँदासम्म बस्थेँ।"

कैयौँ पटक आफू झुक्किएको तर तेस्रो दिन दिउँसोतिर "खोजेको मान्छेजस्तो लागेको विदेशी" देखा परेको उनी सम्झिन्छन्।

"सबै विदेशी अग्ला र गोरा हुँदा एकैखालका लाग्ने, टोपी लगाएको मान्छे नलगाएर पो आएको छ कि भन्ने शङ्का हुने। त्यसमाथि परबाट चियाएर हेर्नुपर्ने।"

"हो कि हो कि जस्तो लागेको एक जनालाई मैले होटलबाट निस्किएको देखेँ। पहिला त नजिकै गएर [फोटो] खिचौँ कि भन्ने पनि लाग्यो। तर उसले झम्टेला भन्ने डर पनि लाग्यो।"

"त्यो दिन मैले कैयौँ पटक उठ्ने र बस्ने गरेँ, क्यामरा जूम गरेँ तर क्लिक गर्न सकिनँ," गुरुङले भने।

आफूले त्यति सोच्दासोच्दै शोभराज नजिकैको टेलिफोन बुथ छिरेको र उनी त्यहाँबाट निस्किनुअघि आफूले क्यामरा मिलाउने अवसर पाएको गुरुङले बताए।

"डर लागेको थियो। तर अगाडि नगई मैले ३०० एमएमको टेलिजूमले परैबाट फोटो खिचेँ।"

पाँचवटा जति तस्बिर खिचेपछि बाटोमा गाडीहरू आएपछि पारिपट्टि छेकिएकाले केही नदेखिएको र त्यस बीचमा शोभराज एउटा मोटरसाइकलको पछाडि बसेर गएको उनी सम्झिन्छन्।

अझै राम्रो फोटो खिच्न सकिन्छ कि भन्ने आशामा गुरुङले केही बेर आफ्नो मोटरसाइकलमा उनीहरूलाई पछ्याए।

"फोटो त खिचेँ तर पूरै अनुहार देखिने आएन। तैपनि एउटा फोटो शोभराजको फाइल फोटोसँग तुलना गर्दै भोलिपल्ट पत्रिकामा छापियो। तर त्यतिबेला मलाई आफ्नो नाम लेख्न पनि डर लाग्यो।"

किन त? "उसका अरू मानिस पनि होलान् भन्ने डर थियो। मलाई जोखिम लिने आँट आएन," उनी भन्छन्।

चार्ल्स शोभराज नेपाल आएको कसरी थाहा भयो?

'बिकिनी किलर', 'सिरीअल किलर' र 'द सर्पेन्ट' जस्ता उपनामले विश्वभरि चिनिएका शोभराजको जीवन जति नाटकीय थियो त्यति नै अनपेक्षित रूपमा उनी काठमाण्डूमा नाटकीय शैलीमै पक्राउ परेका थिए।

द हिमालयन टाइम्समा कार्यरत पत्रकार जोसेफ नाथनले सेप्टेम्बरको दोस्रो सातामा दरबारमार्गस्थित होटल याक एन्ड यतीको जुवाघरमा एक व्यक्तिलाई देखे। उनीसँगै उनका सहकर्मी ध्रुव पाइनुली पनि थिए।

द हिमालायन टाइम्स

दुई जनालाई नै ती व्यक्ति शोभराज हुन् जस्तो लाग्यो। तर शोभराजले हुलिया केही फेरेको भए पनि पहिला भारतमा पत्रकारिता गरेकाले र आफ्ना सहकर्मीहरूले शोभराज तिहाड जेलबाट छुटेपछि अन्तर्वार्ता गरेकाले नाथनलाई शोभराज चिन्न गाह्रो भएन।

नाथनले ती व्यक्तसँग कुरा गर्ने मनसाय बनाए। नाथन अहिले द हिमालयन टाइम्स दैनिकका सम्पादकीय सल्लाहकार छन्।

बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै नाथनले आफूले सामान्य शिष्टाचारपछि ती व्यक्तिलाई अङ्ग्रेजीमा "तपाईँ चार्ल्स शोभराज हैन?" भनेर सोधेको बताए।

अकस्मात् आफूलाई कसैले त्यसो भनेको सुनेर ती व्यक्ति केही हच्किए। तर उनले कुटिल पारामा प्रत्युत्तर दिए, "को? बलीवुड फिल्मको हिरो?"

यो प्रसङ्ग पत्रकारद्वय अनन्तराज लुइँटेल र विकास भट्टराईले लेखेको पुस्तक "चार्ल्स शोभराजः अपराध र सजाय"मा पनि उल्लेख नगरीकन लेखिएको छ। तर त्यसमा नाथनको नाम उल्लेख गरिएको छैन।

लगत्तै नाथन कार्यरत पत्रिकाले ती व्यक्ति शोभराज भएको प्रमाण जुटाउन गृहकार्य गर्‍यो। त्यस काममा फोटो खिच्ने उत्तरदायित्वसहित राजेश गुरुङ पनि संलग्न भए।

"उसलाई देख्नासाथ मैले शोभराज हो भनेर चिनिहालेँ," नाथनले बीबीसीसँग भने, "त्यहाँबाट फर्किएपछि मैले १५ दिन लगाएर शोभराजको परिचय स्थापित गर्न खोजबिन गरेँ।"

"हामीले शोभराजको पासपोर्टको प्रतिलिपि पनि हात पार्‍यौँ र ऊ बसेको होटल पनि पत्ता लगायौँ।"

यी सबै प्रमाण र तस्बिर जुटिसकेपछि आफूले समाचार प्रकाशित गरेको उनी सम्झिन्छन्।

कसरी परे पक्राउ शोभराज?

प्रमाणका रूपमा फोटोसहित समाचार छापिएपछि उनलाई पक्रन प्रहरी परिचालित भयो। तर शोभराज केही समय सार्वजनिक स्थानमा देखा परेनन्। प्रहरी दबावमा पर्‍यो।

"अनेकौँ होटलमा प्रहरीले छापा मार्‍यो। तर ऊ दुई दिनसम्म कहीँ फेला परेन। तर त्यसको भोलिपल्ट बिहान ४ बजे नै ऊ रोयल क्यासिनो दरबारमार्गबाट पक्राउ पर्‍यो," शोभराजबारे प्रकाशित पुस्तकमा लेखिएको छ।

एक अमेरिकी महिला र क्यानडाका अर्का पुरुषको हत्या भएको झन्डै २८ वर्षपछि शोभराज फेरि नेपाल आएका थिए।

काठमाण्डूमा "ब्रेक" भएको समाचारले संसारभरि तहल्का मात्र मच्चाएन प्रहरीलाई समेत वर्षौँअघिको नसुल्झिएको एउटा घटना खोतल्ने अवसर पनि दियो।

शोभराज काठमाण्डूमा छद्मभेषमा बसिरहेको विषयमा समाचार प्रकाशित भएपछि काठमाण्डू प्रहरीमा कार्यरत डीएसपी गणेश केसीले आफूहरूले योजना बनाएर ठाउँठाउँमा छापा मारेको बताए।

संयोग कस्तो भने केसी सन् १९७५ मा शोभराजले हत्या गरेकी भनिएकी अमेरिकी नागरिकको शव काठमाण्डूको जडीबुटी क्षेत्रमा फेला पर्दा १२ वर्षे किशोरका रूपमा घटनास्थलमा हेर्न पुगेका थिए।

"शोभराज पहिला बसेको थाहा भएको होटलमा फेला परेनन्। काठमाण्डूका चारवटै सम्भावित क्यासिनोमा खोज्दा समाचार बाहिरिएको भोलिपल्ट रोयल क्यासिनोबाट काठमाण्डू प्रहरीको टोलीले पक्राउ गर्‍यो," डीआईजीबाट सेवानिवृत्त केसीले १९ वर्ष तीन महिनाअघिको क्षण सम्झिँदै भने।

सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनले गरेका भनिएको अपराधहरूमा आधारित भनेर 'द सर्पेन्ट' नामक शृङ्खला बनाएका थिए। तर त्यसमा एउटा काल्पनिक पत्रिकामा शोभराज काठमाण्डूमा आइपुगेको र त्यसकै आधारमा उनी पक्राउ परेको देखाइएको छ।

शोभराजविरुद्ध कसरी चल्यो मुद्दा?

तर शोभराज पक्राउ परेपछि पनि ठूलो "पहाड छिचोल्न" बाँकी रहेको प्रहरीले थाहा पायो।

"उनले यसअघि कहिल्यै नेपाल नआएको दाबी गरिरहे, जुन दाबी सत्य नभएको नेपाल प्रहरीलाई थाहा थियो," केसी सुनाउँछन्।

"सुरुमा हामीले अध्यागमनसम्बन्धी नियम उल्लङ्घनको कसुरमा मुद्दा चलायौँ। एउटै व्यक्ति दुई पटक नेपाल आउँदा फरकफरक नामका राहदानी प्रयोग गरेको भन्दै आवश्यक कारबाहीका लागि हामीले मागदाबी गरेका थियौँ।"

सन् १९७५ मा नेपाल आउँदा उनले डच नागरिक हेन्क बिटान्जाको राहदानी प्रयोग गरेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार ती व्यक्तिलाई शोभराजले थाईल्यान्डमा हत्या गरेर उनको नाम आफूले प्रयोग गरेका थिए।

तर शोभराजले सबै आरोप अस्वीकार गर्दै आएका छन्।

सन् २००३ मा भने उनी चार्ल्स शोभराजकै नाममा नेपाल आएका थिए।

तर प्रहरीलाई सन् १९७५ को घटनाको ज्यान मार्ने उद्योगसम्बन्धी फाइल फेला पार्न सकस पर्‍यो।

"विसं २०३३ सालमा हनुमानढोका प्रहरीको १० नम्बर डायरीमा चार्ल्स शोभराजकै नाममा काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता भएको देखियो, तर त्यसको मिसिल अदालतमा भेटिइराखेको थिएन," शोभराज पक्राउ पर्दादेखि उनीविरुद्ध मुद्दा चलाउनेसम्मको काममा संलग्न गणेश केसीले भने।

"तर कैयौँ दिनको हाम्रो निरन्तरको प्रयासपछि डिल्लीबजारमा राखिएका अदालतका पुराना दस्तावेज खोतल्दा त्यो भेटियो। अनि अध्यागमको मुद्दा सकिएपछि हामीले कर्तव्यज्यान मुद्दाको फरार अभियुक्तका रूपमा उनलाई थप हिरासतमा लियौँ।"

त्यसकै आधारमा प्रहरीले झन्डै तीन दशकपछि 'परिस्थितिजन्य प्रमाणहरू' जुटाएर अदालतमा शोभराजलाई पेस गर्‍यो।

प्रहरीका अनुसार शोभराजको एउटा शैली के थियो भने आफूले हत्या गरेको व्यक्ति पुरुष भए निजकै पासपोर्टमा आफ्नो फोटो राखेर उनी सोही नामधारण गरेर विदेशयात्रा गर्थे।

उनले नेपालमा हत्या गरेका क्यानडाका नागरिकको राहदानी बोकेर ब्याङ्कक पुगी भोलिपल्टै फेरि नेपाल फर्केको देखिएको प्रहरीले बताएको छ।

सन् १९७५ को घटनामा उनी आफ्नो सहीका कारण पनि धेरैतिर "चुकेको" नेपाली प्रहरीले फेला पार्‍यो।

"उनी बसेको होटलमा लरेन्स करीअर भनेर अर्कै नाम लेखेको पनि सही भने चार्ल्स शोभराजकै नामको थियो। उनको अनुमतिमा प्रकाशित कैयौँ पुस्तक तथा सामग्रीमा उनले पहिला गरेको नेपालयात्राबारे उल्लेख थियो," केसी भन्छन्।

"नेपाल अध्यागमनमा बुझाइने कार्डमा समेत उनको हस्ताक्षर 'चार्ल्स शोभराज' कै नाममा थियो।"

शोभराज किन नेपाल आए?

शोभराज सन् २००३ मा काठमाण्डूमा आए र केही साताभित्रै पक्राउ परे।

पक्राउ पर्दा पनि उनी खासै नआत्तिएको र हिरासतमा परेकै भरमा आफू जेल नपरिनेमा शोभराज आश्वस्त देखिएको केसी बताउँछन्।

"सुरुका दिनमा उनी यी सबै घटनासँग आफू अनभिज्ञ भए जसरी प्रस्तुत भइरहे। उनको आत्मविश्वास निकै बलियो थियो।"

दर्जनौँ पटकका भेटमा उसले कहिल्यै आफ्नो गल्ती नस्विकार्ने बरु कानुनका छिद्रमा खेल्न सक्ने सङ्केत दिइरहेको केसी सुनाउँछन्।

शोभराजलाई "चलाख अपराधी"को सङ्ज्ञा दिँदै केसीले उनी त्यस्ता क्षण सामना गर्न अभ्यस्त रहेको देखिएको केसी ठान्छन्।

"उसले आफू अन्तर्राष्ट्रिय क्रिमिनल सेलिब्रिटी भएको मनोवैज्ञानिक सिन्ड्रोम पालेर बसेको देखिन्थ्यो।"

जेलमा हुँदा पनि उनी बारम्बार चर्चामा आइरहे। जेलमा हुँदै उनले निहिता विश्वास नामक नेपाली युवतीसँग बिहे गरेको चर्चा पनि चल्यो।

निहिता विश्वास र चार्ल्स शोभराज

गत वर्ष उनले जेलभित्रबाटै विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएपछि विवाद उत्पन्न भएको थियो।

नेपालमा हत्या गरेको अदालतले ठहर गरेको भए पनि शोभराजले आफूलाई झुटा प्रमाणका आधारमा फसाइएको र आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।

यस सम्बन्धमा उनले संयुक्त राष्ट्रसङ्घको मानवाधिकार आयोगलाई पनि गुहारेका थिए।

शोभराज अहिले ७८ वर्षका भए। नेपाल र भारतमा गरी उनी झन्डै चार दशक कारागारमा बसे।

तर अहिलेसम्म शोभराज किन पहिला आफूले "अपराध गरेको देश" नेपाल फर्केर आए भन्ने खुलेको छैन।

पूर्वप्रहरी अधिकारी केसीले एकपटक चार्ल्स शोभराजलाई "के नेपालमा २० वर्षपछि कुनै आपराधिक दायित्व रहन्न भन्ने गलत बुझेर आएको हो?" भनी सोधेका थिए।

तर शोभराजले "फिस्स हाँसेर" उनको प्रश्न टारिदिएका थिए।

नेपालको कानुनले अपराधको सजाय भुक्तान गर्ने अवधिसम्म पक्राउ नपरेमा त्यसको हदम्याद सकिन्छ भन्ने आमबुझाइ भए पनि कर्तव्यज्यान मुद्दाको हदम्याद कहिल्यै नसकिने कानुनविद्हरू बताउँछन्।

शोभराजले कहाँकहाँ गरेका थिए अपराध?

शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए।

हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।

तर सन् २००४ सम्ममा ती आरोपहरूमा उनी कतै पनि दोषी ठहर भएका थिएनन्।

सन् २००७ मा शोभराज

भेष बदल्न र प्रहरी प्रशासनलाई झुक्क्याउन वा प्रभावमा पार्न उनी पोख्त मानिन्थे।

फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।

आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए। त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो।

भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागे।

थाईल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ।

थाईल्यान्डमा पाँच जनाको हत्या गरेको अभियोगमा फैसला हुँदा उनलाई मृत्युदण्ड पनि हुनसक्थ्यो।

सन् १९९७ मा जेलबाट मुक्त हुँदा थाईल्यान्डमा मुद्दा चल्ने हदम्याद गुज्रिसकेको थियो। जेलबाट छुटेपछि उनलाई फ्रान्स पठाइएको थियो।  -बिबिसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से