असोज १, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई लेख, पढ र प्रशिक्षणमा जुट्न आह्वान गरेका छन् ।
एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सातदिने प्रशिक्षक प्रशिक्षण समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले लिएको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि र जनताको बहुदलीय जनवादको विचारलाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको बताए ।
पार्टीका स्कुल विभागका प्रमुखसमेत रहनुभएका अध्यक्ष ओलीले ‘जबज’ समाज सापेक्ष विचार भएको र त्यसको जगमा पार्टीले जनताको मन जितेको उल्लेख गर्दै आफ्नो सरकारका पालामा भएका राम्रा काम, नीति कार्यक्रम र समृद्धिका योजनाबारे देशव्यापी प्रशिक्षण सञ्चालन गरिने बताए ।
स्कुल विभाग उपप्रमुख तथा एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेलले प्रशिक्षित कार्यकर्ताले मातहतका सदस्यलाई प्रशिक्षण दिन आग्रह गरे । उनले सबै जनवर्गीय सङ्गठनका केन्द्रीय नेतालाई प्रशिक्षण दिने अभियान स्कुल विभागको जारी रहेको बताए ।
प्रशिक्षणमा नेताहरु प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, डा राजन भट्टराई, वृन्दा पाण्डेलगायतले सहजीकरण गरेका थिए । महासङ्घका अध्यक्ष खगेन्द्र राईले सातदिने प्रशिक्षणबाट आफ्नो सङ्गठनमा थप ऊर्जा मिलेको बताए । रासस