३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कतारबाट फर्किएर कफी व्यवसाय

१८ फाल्गुन २०७९, बिहीबार ०७:३७

फागुन १८, काठमाडौँ | मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतदेखि पोखरा पुग्नु अगावै लुम्ले गाउँ आउँछ । मुटु काम्ने गरी चिसो हावा चल्ने भएरै होला, यस ठाउँलाई लिएर गायक तिलक बम मल्लले ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीत नै गाउनुभएको थियो । लुम्ले गाउँ गीतमा मात्रै सीमित छैन । कृषि, कृषि पर्यटन र कृषि अध्ययन गर्न चाहनेका लागि पनि लुम्ले गाउँ परिचित छ । 

यही गाउँका २७ वर्षीय युवा नवीन देवकोटाले सडक छेउमा ‘लुम्ले कफी स्टेट’ नाम दिएर ग्राहकलाई आफैँले उत्पादन गरेको जैविक कफीबाट बनेका पेयपदार्थ पिलाउँदै आउनुभएको छ । उहाँले चार वर्षअघि सडक छेउको आफ्नै जग्गामा सानो कन्टेनरमा क्याफे सञ्चालन गर्नुभएको हो । राजमार्ग हुँदै गन्तव्यतर्फ दौडिरहेका यात्रु केही छिन आफ्नो क्याफेमा कफी पिउनलाई रोकिने गरेको देवकोटाले बताउनुभयो । 


“सडक छेउमा त्यो पनि एकान्त वातावरणमा भएर पनि हुन सक्छ मुस्ताङ, पर्वत, बागलुङ हिँडेका नेपाली र विदेश पर्यटक रोकिने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “विदेशी ग्राहकलाई मैले आफैँ उत्पादन गरेको जैविक कफी हो भनेपछि उनीहरू जिज्ञासु र उत्साहित हुन्छन्, कति त कफी खेती देखाउन लैजा भनेर बोटसम्म नै पुग्ने गर्छन् ।” 

होटेल म्यानेजमेन्ट विषय पढ्दै गर्दा पैसा कमाउने हुटहुटीले पढाइ छाडेर कतारको यात्रामा लाग्नुभएका देवकोटा दुई वर्षको बिचमै स्वदेश फर्कनुभयो । आफ्नै बाँझो जग्गा जमिनमा सहजै फलाउन सकिने कफी कतारका ठूला क्याफेमा महँगो मूल्य खर्चेर कफी पिउने पारखीको भीड देखेपछि देवकोटालाई स्वदेश फर्कन प्रेरित गरेको थियो । 

“म पोखराको बरिस्टामा कफी बनाउने तालिम लिएर कतार गएको थिएँ, अन्तर्राष्ट्रियस्तरमै कफी कल्चरलाई नजिकबाट नियाल्ने र काम गर्ने अवसर पाएँ”, उहाँले भन्नुभयो, “कतार जानुअघि नै लुम्लेमा कफी उत्पादन गर्न सकिन्छ भन्ने थाहा भएको कुराले हरेक दिन दिमागमा हान्न थाल्यो, भिसा बाँकी रहँदै देश फर्केर आफ्नो र भाडामा लिएको १५ रोपनी जमिनमा कफी खेतीको सुरुवात गरेँ ।” 

सामान्य परिवारमा हुर्केका देवकोटाका बुबा अहिले पनि विदेशी मुलुकमा श्रम गर्दै आउनुभएको छ । छिट्टै बुबालाई पनि स्वदेश फर्काउने उहाँको चाहना छ । आमाले छोराको कफी यात्रालाई पूर्ण रूपमा सघाउँदै आउनुभएको छ । “नर्सरीमा उत्पादन भएका बिरुवादेखि प्रशोधनसम्मको काममा आमाले सघाउनुहुन्छ”, देवकोटाले भन्नुभयो, “मैले क्याफे सञ्चालनदेखि कफीको बोट र धुलो पनि प्याकेजिङ गरेर बेच्ने भएकाले त्यसको बजारीकरण र ब्राण्डिङमा काम गर्छु ।” 

देवकोटालाई आफूले उत्पादन गरेको कफी बजारमा राम्रो मूल्यमा बिकोस् भन्ने चाहना थियो । उहाँ धेरै ठाउँमा कफी बेच्न पुग्नुभयो । उहाँले दुःखअनुसारको मूल्य कहीबाट नपाएपछि आफ्नो जग्गामा उत्पादित कफी प्रशोधन गर्ने र क्याफेसमेत सञ्चालन गर्ने निर्णय गर्नुभयो । पहिले गुड्ने क्याफे सञ्चालन गर्ने सोच बनाउनुभएका उहाँले भनेजस्तो सस्तो मूल्यको सवारीसाधन फेला नपरेपछि सजिलै उचालेर सार्न सकिने कन्टेनरमा क्याफे स्थापना गर्नुभएको हो । 

“नेपालमा कफी संस्कृति बढिरहेको अवस्थामा स्थानीय कफीले सही मूल्य नपाउँदा कृषकले कफी खेतीमा चासो नदिएको देखिन्छ”, उहाँले भन्नुभयो, “नजिकै गाउँहरूमा कृषकले लगाएको कफीसमेत खरिद गर्दै आएको छु, उहाँहरू मैले दिने मूल्यमा खुसी हुनुहुन्छ, कृषकलाई बचाउन सकेमा मात्रै सहरका क्याफेमा गाउँको जैविक कफी पिउन पाइन्छ भन्ने हो ।” 

देवकोटाको क्याफेमा स्थानीय कफीबाट बन्ने पेयपदार्थको स्वाद लिने मुख्य ग्राहक भनेका राजमार्गमा गुड्ने यात्रु नै हुन् । विदेश त्यागेर आएका देवकोटालाई गाउँमा बसेर कफी बेच्नुभन्दा पोखरामा गएर राम्रै क्याफे सञ्चालन गर्न सल्लाह दिने प्रशस्तै भेटिन्छन् । उहाँलाई अहिलेसम्म गाउँ छाडेर कतै जाने रहर आएको छैन । 

आफ्नै घरमा बसेर कफीका बिरुवा हुर्काउन पाउँदाको आनन्द आफूले अन्त कतै नपाउने देवकोटा बताउनुहुन्छ । “हाम्रो कफी बजारभन्दा फरक भएरै होला दिनप्रति दिन ग्राहकको सङ्ख्या बढ्ने गरेको छ”, उहाँले भन्नुभयो, “कफी पारखीहरूले कफीको कपमा स्वाद मात्र भेट्दैनन् त्यहाँ खुसी र माया पनि भेट्ने गर्छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली