२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लोप हुँदै शिखरबेंसीको चामल

२०७५, ७ मंसिर शुक्रबार १०:१६

जमुना गजुरेल | मङ्सिर ७, विदुर (रासस) | खुवाका लागि ठेचो, चाकुका लागि टोखा, नास्पातीका लागि फर्पिङ, उखुका लागि धुनीबेंसी, अदुवाका लागि, चामलका लागि शिखरबेंसी आदि नेपालमा प्रसिद्धस्थल रहेको भनी सामान्य ज्ञानका पुस्तकमा लेखिएको छ । नुवाकोट जिल्लास्थित साविकको शिखरबेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकामा तीस चालीस वर्ष पहिले समुद्रफिनी(समुद्रफीँज) चामल उत्पादनका लागि नाम चले पनि हाल यसको बीउ लोप हुँदै गएको छ । 

घरमा पाहुना आउँदा होस् अथवा कोसेली लैजाँदा होस्, सत्कारस्वरुप यही चामल प्रयोग हुने गरेको थियो । आजकाल यहाँका खेतमा यो चामलको बीउ नलगाई अरु नै हाइब्रिड धान लगाएको देखिन्छ । साविकको राउतबेंसी गाविस वडा नम्बर ८, हाल दुप्चेश्वर – ६ गोगनचौरका ६५ वर्षीय मधुसूदन आचार्य आफ्नो खेतमा पहिले बीस रोपनी खेतमा समुद्रफिनी धान लगाउने गरेकामा अब भने यो चामल लगाउन गाह्रो भएको बताउनुहुन्छ । 

आचार्य भन्नुहुन्छ “जमानामा मेरै आफ्नो २० रोपनी खेतका गराहरुमा समुन्द्रफिनी धान नै लगाउने गरेको थिएँ तर आजकल थोरै मात्र लगाइरहेको छु । पहिला पहिलाको त के कुरा गर्नु र खै नानी, धान लगाउनासाथ खेतको आलीमै बैना मारेर जाने गर्थे शहरबाट आएका ठूलाबडाहरु, यहीँ बसेर काम गर्ने सरकारी कार्यालयका हाकिमसाबहरुले समेत आफ्ना घर जाँदा साथीभाइ, इष्टमित्रलाई कोसेलीसमेत लाने गरेका थिए । हामीले बेचेर साध्यैै थिएन, अब कहाँ छ र फिनी चामल, पाइन्न हौ ।” 

उहाँले अहिले पनि १२ रोपनीमा यही धान लगाएर भित्र्याइसक्नुभएको छ । “लगाएको थाहा पाउन हुन्न आफूले घरमा समेत खान छुट्टाएको चामल एक दुई केजी मात्र भए नि दिनुन भन्न आउँछन् मान्छेहरु, के कुरा गर्नू ? अहिले यस चामलको माग बढेको छ तर खेती लाउनेले नलगाएपछि कहाँबाट व्यापारीले व्यापार गर्नु र बजारमा किन्न पाउनु, पाइन्न अहिले त ।” 

समुद्रफिनी धान लगाउन धेरै मेहनत गर्नुपर्ने र अरु धानको तुलनामा थोरै फल्ने भएकाले पनि यो धान लगाउन छाडेको दुप्चेश्वर – ६ सल्लेका ६० वर्षीय केदारप्रसाद आचार्यले बताउनुभयो । वहाँ भन्नुहुन्छ, “गोगनचौरको फाँटमा मेरो १०÷१२ रोपनी खेत छ, पहिला समुन्द्रफिनी नै धान लगाउने गरेको थिएँ तर अहिले छाडिसकेको छु, समुद्रफिनी धान लगाउन धेरै खटिनुपर्छ, अरु धानलाई समय मिलाएर यसो पानी लगाइदिने एक पटक गोडेर मल हाल्दे आनन्द हुन्छ । फल्न नि मज्जैसित फल्छ, यो फिनी धानले त ज्यानै लिन्छ खेती गर्दा, रातदिन यसकै स्याहारसुसारमा लाग्नुपर्छ ।” यो धान पाक्न ६ महिना पूरा लाग्छ । यो धान लगाउन सके बजार चाहिँ पाउने किसान बताउँछन् । अरु धान जेठमा लगाएपछि असोजको पहिलो सातामा नै भित्र्याउन चटारो पर्छ । त्यही भएर थोरै मेहनत गरेर धेरै आम्दानी हुने खेतीमा मानिसहरु लागेको दुप्चेश्वर – ६ का नीलकण्ठ आचार्य बताउनुहुन्छ । 

समुन्द्रफिनी धानको चामाल खानमा धेरै स्वादिलो हुन्छ । भात पकाउँदा बास्ना आउँछ । खाँदा निकै स्वादिलो र गुलियोे हुन्छ । अझ तातो दूधसँग खाँदा झन् बढी मीठो हुन्छ । भात साह्रै नरम र कपासजस्तै हुन्छ, निल्न सजिलो र स्वास्थका लागी फाइदा हुनेभएकाले यसको मूल्य पनि धेरै पर्छ । एक पाथीको रु ६ सयभन्दा बढी पर्न जान्छ । यो चामलको भात प्रायः बालबालिका, वृद्धवृद्धा, बिरामीलगायतलाई खुवाइन्छ । 

साविकका शिखरबेंसी र राउतबेंसीका मानिसले समुद्रफिनी धान लगाउँदा घरमा भित्र्याउन नपाई खेतैमा हारालुछ हुन्थ्यो । विगतमा शिखरबेंसी र गोगनचौरका फाँटमा फिनी धान झुलेको हुन्थ्यो । अहिले भने त्यस ठाउँमा विभिन्न हाइब्रिड धानले कब्जा गरिसकेको छ । 

राणाहरुले पनि समुद्रफिनी चामलको भात खाने गरेका थिए । पछि राजपरिवार, ठूलाबडाहरुले समेत यही चामलको भात खान रुचाउँथे र शिखरबेंसीबाट शहर लैजाने गरेको दुप्चेश्वरका अध्यक्ष योवीन्द्रसिंह तामाङ बताउनुहुन्छ । तामाङ भन्नुहुन्छ, “समुन्द्रफिनी धानको भात हाम्रो नुवाकोट जिल्लाकै इज्जत हो । यसलाई लोप हुन नदिन गाउँपालिकाले अहिलेको वर्षदेखि नै यस धान रोप्न लगाउने र अनुदान दिने व्यवस्था गर्न लागेका छ । अरु धानको तुलनामा त समुन्द्रफिनी अति नै थोरै फल्ने हो । अब किसानहरुले खेती गरिसकेपछि त फाइदा अवश्य नै खोजिहाल्छन् । हाइब्रिड धान थोरै समयमा धेरै फल्ने हँुदा किसानहरुको ध्यान त्यतैतिर ढल्केको हो । अब संस्कृति जोगाउन र नामका लागि भए पनि अरु धान लगाउँदा र फिनी धान लगाउँदाको हिसाब गरी कति किसानहरुलाई घाटा पर्छ त्यहीअनुसारको अनुदान दिने र सबैको खेतमा समुन्द्रफिनी धान नै रोप्न लगाउने हाम्रो अबको योजना रहेको छ ।” 

अध्यक्ष तामाङका भनाइअनुसार गाउँपालिकामा हाल ७ वटा वडा छन् । अब ती सबै वडामा जति पनि खेतहरु छन्, ती सबै फाँटमा समुद्रफिनी धान रोप्न सूचना दिइनेछ । सो धान लगाउँदा हुने फाइदाका विषयमा गाउँका किसानलाई वडा कार्यालयबाट सम्झाउन वडाका जनप्रतिनिधिलाई खटाइनेछ । 

कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत डा कमल गैरे भन्नुहुन्छ, “ समुन्द्रफिनी धान कति हेक्टरमा लगाइयो र कति उत्पादन भयो भन्ने यकिन तथ्याङ्क हामीसँग छैन । नुवाकोटका किसानहरुले आजकल मुख्य धानका जातहरुमा खुमल–४, राधा, सावित्री, रामधान र हाइब्रिड धान लगाउँछन् । कहीँ कतै थोरै जग्गाहरुमा आफूलाई खान पुग्ने र परम्परा जोगाउनका लागि मात्रै मनभोग र समुन्द्रफिनी धान लगाउँछन् ।” नुवाकोटमा हाईब्रीड जातहरुका धान लगभग ४५ प्रतिशत भन्दा बढी लगाइएको छ । 

डा गैरेका अनुसार यस वर्ष नुवाकोटमा वर्षे धानको उत्पादन बढेको छ । मनसुनी वर्षा राम्रो हुनु, बाढीपहिराबाट धान खेतीमा क्षति नहुनु, मल र बीउ समयमै उपलब्ध हुनुका साथै धानमा लाग्ने रोग र कीराको प्रभावकारी नियन्त्रण गर्न समयमा नै सक्नुले धानको उत्पादन बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार आव २०७३÷०७४ मा १४ हजार ५३४ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकामा ६२ हजार २७४ टन, अव २०७४÷०७५ मा १४ हजार ४३४ हेक्टरमा ६१ हजार ३४० टन धान उत्पादन भएको थियो । त्यसैगरी आव २०७५÷०७६ मा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा ६३ हजार ४०७ टन उत्पादन भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा