पढ्न करिब 5 मिनेट लाग्छ

नारायणी रजौरे | वैशाख ६, दाङ (रासस) | लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमीनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभीलगायतका धेरै तरकारी लटरम्म फलेका छन् ।

यति धेरै जमीनमा फरक फरक प्लटमा छुट्टाछुट्टै तरकारी लटरम्म फलेको देख्दा त्यहाँ पुग्ने जो सुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ तरकारी किसान श्रीधर पुन पनि । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै थरिका तरकारी ।

व्यवसायिक बेमौसमी तरकारी खेतीबाट अब्बल किसानका रुपमा सफल हुनुहुन्छ पुन । उहाँको तरकारी खेती यो क्षेत्रकै एक नमूना बनेको छ, जसले उपभोक्ता मात्र होइन, देख्ने सबैलाई लोभ्याउने गर्दछ । उहाँले प्रायः सबै तरकारी एक, एक बिघा क्षेत्रफलको जमीनलाई प्लट बनाएर छुट्याई फरक फरक तरकारी रोप्नुभएको छ । ती प्लटमा झल्किने हरियाली र लटरम्म झुलेका तरकारीले नै पुनलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ ।

आफूलाई एक सफल कृषकका रुपमा स्थापित गर्न सफल उहाँले राप्ती बहुउद्देश्यीय कृषि फार्म पनि सञ्चालन गरिरहनुभएको छ । कृषक पुनको कृषि फार्म दाङको तरकारी खेतीमा लागेका किसानका लागि एक सफलताको उदाहरण बनेको छ । विसं २०७१ मा रु चार लाखको लगानीमा तरकारी खेती शुरु गरेको बताउने पुनले अहिलेसम्म तरकारी खेतीमा नै कम्तीमा रु २० लाख लगानी गरेर गरेको बताउनुहुन्छ ।

उहाँको तरकारी खेती सात बिगाहा जमीनमा फैलिएको छ । यो जमीन उहाँले भाडामा लिनुभएको हो । यसरी जमीन भाडामा लिएर उहाँले विभिन्न जातका बेमौसमी तरकारीको खेती गरिरहनुभएको छ । त्यस जग्गाका लागि उहाँले वार्षिक रु दुई लाख भाडा तिर्नु हुन्छ । उहाँको कृषि फार्ममा अहिले १२ जनाले रोजगारी पनि पाएका छन् । उहाँ भन्नुहुन्छ, “सबै खर्च कटाएर वार्षिक रुपमा रु १५ लाखसम्म बचत गर्न सकेको छु ।” पुनको चार जनाको परिवारमध्ये श्रीमतीको उहाँलाई व्यवसायमा साथ रहेको भने दुई छोरा पढाइ र कामका लागि बाहिर छन् ।

वर्षमा तरकारी खेतीबाटै यति कमाई गर्न सक्नु सामान्य कुरा होइन । पुन भन्नुहुन्छ, “म आफ्नो व्यवसायबाट सन्तुष्ट छु, खुशी छु । आफ्नै माटोमा खेलेको छु, माटोको माया बढ्दो छ ।” अहिले उहाँको बारीमै गएर किन्दा लौका प्रतिकेजी रु २५ थोक मूल्यमा र फुट्करमा रु ४० सम्म पर्दछ । उहाँका फर्ममा करेला प्रतिकेजी रु ९० देखि रु १००, बोडी रु ६५ देखि रु ८०, भिण्डी प्रतिकेजी रु ७० देखि रु ८०, गोलभेँडा प्रतिकेजी रु ४० देखि ५०, काँक्रा प्रतिकेजी रु ४० देखि ४५ र भेडेखुर्सानी प्रतिकेजी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ ।

शुरुमा २५ वर्षसम्म खेती किसानी गरेर जीवनयापन गरेपछि एग्रोभेट खोलेर बसेका ४६ वर्षीय किसान पुन त्यसबाट सोचेजस्तो आम्दानी नभएपछि मौसमी र बेमौसमी तरकारी खेतीमा लागेको बताउनुहुन्छ । पहिले उहाँले मौसमी तरकारी गर्ने गर्नुभएकामा मौसमी खेती सबैले गर्ने र बजार भाउ पाउन गाह्रो पर्ने भएपछि त्यतिबेला आधा जति जमीनमा मकै खेती गर्नुभयो । अहिले भने बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने भएपछि सबै जमीनमा नै बेमौसमी तरकारी गर्नुभयो ।

पुन भन्नुहुन्छ, “अहिले सबै घरखर्च धान्न, छोरा पढाउन र एक दर्जन व्यक्तिलाई रोजगारी दिन सफल भएको छु ।” तर पनि कृषि क्षेत्रमा धेरै समस्या रहेको र तरकारीले उचित बजार तथा मूल्य नपाउने र पर्याप्त मात्रामा सिँचाइको सुविधा र नयाँ यन्त्र तथा उपकरण नहुनु समस्या हुन् । उहाँका अनुसार सस्तो दरमा ऋण नपाउँदा पनि सानोतिनो व्यवसाय गर्ने किसानलाई मर्का पर्ने गरेको उहाँको अनुभव छ ।

उहाँको बारीको तरकारी सबैभन्दा बढी प्यूठान, दाङको लमही, घोराही, तुलसीपुर, सल्यान, बुटवल, धादिङ र काठमाडौँसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । लमही नगरपालिका–५ लमहीबाट लौका किन्न आएकी २३ वर्षीया पूर्णिमा चौधरीले यहाँ ताजा र सस्तोमा तरकारी पाइने हँुदा बोटमा नै किन्न आएको बताउनुभयो । एक दिन बिराएर यहाँ तरकारी किन्न साइकलमा यहाँ आउने गरेको बताउने उहाँ भन्नुहुन्छ, “एकै ठाउँमा धेरै तरकारी छ र ताजा पनि छ, त्यसैले म यहीँबाट नै तरकारी लाने गर्छु ।”

सोही ठाउँकी ४३ वर्षीया सीता चौधरीले पनि बजारमा बासी तरकारी त्यसमा पनि महङ्गो पर्ने हुँदा अफू पनि यहाँ रोजेर ताजा र सस्तो मूल्यमा तरकारी किन्न आउने गरेको बताउनुभयो । पुन यस क्षेत्रका सफल कृषकका रुपमा स्थापित हुनुभएको छ । उहाँले कृषि प्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर पनि राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको गुनासो गर्नुभयो ।

उहाँले कृषिमा देशको अर्थतन्त्रको ठूलो योगदान रहेको भए पनि पछिल्लो समयमा कृषि उत्पादन अथवा कृषिजन्य वस्तु बाहिरबाट आयात गर्नु दुःखद हो भन्नुहुन्छ । उहाँले नेपालमा तरकारी तथा कृषिजन्य उत्पादन आयात गर्ने कामलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने यस क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थालाई रोक्नुपर्ने सुझाव दिनुहुन्छ । देशभित्रै सीपमूलक कृषि कार्यक्रमका विभिन्न अयोजनाहरु सञ्चालन गर्नुपर्ने र विदेशिने युवालाई लक्ष्य गरेर उनीहरुलाई स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फार्म सञ्चालनमा ल्याउनुपर्ने बताउनुहुन्छ ।

आफ्नै माटोमा पसिना र पौरख पोख्न सके सुन फल्छ भन्दै श्रीधर पुन वर्षेनी कामका लागि विदेशिने युवालाई आफ्नै माटोमा पसिना पोख्न सुझाउनुहुन्छ । हाम्रो धर्ती मलिलो छ, यहीँ रोपौँ जे पनि फल्छ, कामका लागि विदेशिनु पर्दैन, उहाँको आग्रह छ ।

साथै सरकारले खेती किसान गर्ने मानिसलाई वातावरण निर्माण गरिदिन, आवश्यक ऋण सकेसम्म सस्तोमा दिन र उत्पादित वस्तुको बजार सुनिश्चित गरिदिन सरकारसँग आग्रह पनि गर्नुभयो । यदि त्यसो गर्न सकिएमा बर्षेनी लाखौँ युवा कामकै लागि खाडीमा नथुप्रिने उहाँको भनाइ छ ।