2026-09-14 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा

वासुदेव पौडेल | साउन १२, पोखरा | वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ ।

विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । 

कोदोको उत्पादन घट्दै गए पनि यसको माग भने अत्यधिक बढ्दै गएको कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषक आशबहादुर गुरुङले बताउनुभयो । “उहिले विपन्न वर्ग एवम् समुदायको दैनिक आहाराका रुपमा कोदो रहेको थियो”,उहाँले भन्नुभयो, “अहिले भने ठ्याक्कै उल्टो भएको छ, हुने खानेको रोजाइमा कोदो पर्न गएको छ ।”

कोदोमा मानिसको शरीरमा आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले यो स्वास्थ्यका लागि पनि बहुउपयोगी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मधुमेह जस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको छ । कोदोबाट रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ ।

कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले अघिल्लो वर्षदेखि कोदोको उत्पादनमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।

सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गरी यसलाई प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका क्षेत्र पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य मानिन्छ । अन्नपूर्ण क्षेत्रमा कोदोको उपादनमा अभिप्रेरित गर्ने कार्यक्रमका साथै यहाँका प्रत्येक होटेलका मेनुमा कोदोको परिकार राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो । गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाउने लक्ष्यअनुरुप कोदोखेती प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाले यहाँका ११ वटै वडामा एक÷एक वटा कोदो माड्ने उपकरण वितरण गर्ने सोच राखेको छ ।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा तीन वटा कोदो माड्ने मेशिन अनुदानमा उपलब्ध गराएको र उक्त कार्यक्रम चालू आर्थिक वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाको कृषि शाखाका प्रमुख शशीकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार अघिल्ला आर्थिक वर्षमा गाउँपालिकाका–४, ७ र १० लाई अनुदानमा कोदो माड्ने मेशिन उपलब्ध गराएको थियो ।

अन्नपूर्ण क्षेत्रमा आउने पर्यटकले पनि कोदोको परिकार अत्यधिक माग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । पछिल्लो तथ्याङ्कअनुसार गाउँपालिकाको छ हजार २९ घरधुरीमध्ये औसतमा एक घरले एक मुरी कोदो उत्पादन गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिकाले अघिल्लो वर्ष वडा नं ४ भदौरेमा आयोजित कोदो महोत्सवमा कोदो राम्रो उत्पादन गर्ने कृषकलाई सम्मान गरिएको थियो । अघिल्लो वर्ष गाउँपालिकामा एक व्यक्तिले अधिकतम ३५ मुरी कोदो उत्पादन गरेका थिए । महोत्सवमा स्थानीयवासीले कोदोको सेलरोटी, सुक्खारोटी, मःमः लगायतका २५ परिकार बनाएर खुवाएका थिए ।

उक्त महोत्सवमा कोदोको खोले, दाम्ले मिठाई, शङ्खे चक्लेट, ढिँडो, जेरी, पुरी, नमकिन, पकौडा, केकलगायत स्वाद लिने व्यवस्था गरिएको थियो । कास्कीमा पछिल्ला वर्षमा कोदोखेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको छ । कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव दुई मेट्रिक टन रहेको यस जिल्लामा कूल १७ हजार ७०० मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ । कोदो हुने क्षेत्रफल घट्दा यसको उत्पादन घटेर यो वर्ष १५ हजार मेट्रिक टन पुग्ने अनुमान छ ।

कास्की आसपासका स्याङजा, तनहँु, लमजुङ, गोरखा, पर्वत, वागलुङ, म्याग्दीलगायतका जिल्ला कोदो उत्पादन राम्रो हुने भए पनि उत्पादन भने घट्दो रहेको बताइएको छ । कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति पनि लोप हुँदै गएका छन् । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्ले जस्ता विभिन्न प्रजातिका पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएको कृषकहरू बताउँछन् । 

पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै अन्य हाइब्रिड जातका पाखे धान लगाउन थाल्नु पनि यसको उत्पादन घट्दै गएको हो । यसका साथै पछिल्ला वर्षमा सर्वसाधारण बेंसीतर्फ झर्नेक्रम बढेकाले ती क्षेत्रका अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेका छन् । यसरी पहाडी क्षेत्रमा जमीन बाँझो रहन जाँदा कोदो उत्पादनमा ह्रास आएको अनुमान कृषि विज्ञको छ । विगतमा कास्कीका अधिकांश पहाडी भू–भागमा कोदो खेती हुने गरेकोमा खेती हुने क्षेत्रफल क्रमशः घट्दै गएको छ । 

मानिसका लागि अत्यावश्यक आइरन र अन्य भिटामिन कोदोमा पाइन्छ । विशेषतः आइरन चक्की खाने गर्भवती महिलाका लागि कोदोका परिकार बहुृउपयोगी मानिन्छ । कोदोका परिकार बनाउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै घरवास सञ्चालन भएका स्थानमा आवश्यक तालीम प्रदान गर्नसके मध्य एवं उच्च पहाडी क्षेत्रमा यसको खेतीमा आकर्षण बढाउन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले