2026-07-26 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाल्पामा ५० प्रतिशत रोपाइँ

पवित्रा घिमिरे । असार १६, तानसेन (रासस)। पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँ छिटो भएको आकलन गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताउनुभयो ।

जिल्लाको तानसेन नगरपालिकाको माडीफाँट, रम्भाको हुँगी, अर्सेदी, निस्दीको ढुङ्गानाबेँसी, तिनाउको कचल, रैनादेवी छहरा गाउँपालिकाको सर्देवा, रिब्दीकोटको लदुवा तथा बगनासकाली, माथागढी, पूर्वखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लाकै बढी धान उत्पादन हुने क्षेत्रका रूपमा पहिचान बनाएको माडीफाँटमा करिब ७० प्रतिशत धान रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ ।

पाल्पाको रामपुरमा भने केही मात्रामा मात्रै रोपाइँ थालिएको छ । रामपुरमा करिब पाँच प्रतिशत रोपाइँ भए पनि अधिकांश खेतबारीमा मकै पाक्नै बाँकी भएका कारण रोपाइँ नभएको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । उहाँका अनुसार मकै छर्ने समयमा आकाशबाट पानी ढिलो परेको, पर्याप्त पानी नपर्दा समयमा मकै नपाकेकाले धान रोपाइँ यस वर्ष ढिलो भएको छ ।

जिल्लामा विशेषगरी असारको पहिलो सातादेखि साउनको अन्तिम सातासम्म रोपाइँ हुन्छ । विगत वर्षमा भन्दा यस वर्ष धानखेती गरिने क्षेत्रफलसमेत वृद्धि भएको छ । यस वर्ष विभिन्न पालिकाले अनुदानमा धानको बीउ अनुदानमा दिएको तथा युवा गाउँ फर्केर बाँझो जग्गामा खेती गर्न थालेका कारण पनि यस वर्ष नौ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख अर्यालको भनाइ छ । यसअघि जिल्लाका करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको थियो ।

पछिल्लो समय जिल्लामा धान उत्पादनसमेत बढ्दै गएको छ । जिल्लामा विसं २०७६ मा तीन दशमलव आठ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएकामा वृद्धि भएर २०७७ मा चार मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको केन्द्रको तथ्याङ्क छ । उन्नत जातका वर्णसङ्कर धान रोपाइँ, यन्त्रको प्रयोगले माटोको राम्रोसँग खनजोत तथा समयमा वर्षाका कारण पनि उत्पादन वृद्धि भएको ज्ञान केन्द्रको अनुमान छ । 

असार १५ मा कोरोना भाइरसको जोखिम कायमै रहेकाले जिल्लाका केही स्थानमा मात्रै दूरी कायम गर्दै सामान्य तरिकाले रोपाइँ महोत्सव गरिएको छ । कृषि ज्ञान केन्द्र पाल्पाको सहयोग र निस्दी कृषि शाखाको आयोजनमा ढुङ्गानाबेँसी, कृषि ज्ञान केन्द्र र तानसेन नगरपालिका कृषि शाखाको सहयोग स्थानीय महिला समूहको आयोजनामा माडीफाँटमा १८औँ धान दिवस तथा रोपाइँ महोत्सवसमेत गरिएको छ । जिल्लाको माडीफाँट, अर्गलीफाँट, रामपुरफाँट, हेक्लाङफाँट र दोभानलगायतका फाँटमा बढी धान उत्पादन हुन्छ ।

हराउदै रैथाने धान 

पछिल्लो समय पाल्पामा रैथाने जातका धान भने लोपोन्मुख अवस्थामा छ । स्थानीय विभिन्न जातका धान खाँदा मिठो स्वादका भए पनि उत्पादन कम हुने र वर्णसङ्कर जातका धान उत्पादन बढी हुने भएका कारण पनि कृषकले रैथाने जातका धान रोप्न छाडेका हुन् । पहिले–पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको कृषकको भनाइ छ ।

पछिल्लो समय बजारमा पाइने विभिन्न थरीका धानको बीउबाट उत्पादन धेरै हुने तथा पानी कम लाग्ने भएपछि कृषकको यसतर्फ आकर्षण बढेकोे कृषि शाखा कार्यालय रामपुरका प्रमुख पाण्डेयको भनाइ छ । उहाँका अनुसार उत्पादन बढी, धानको नल छोटो र स्याहार्न पनि सजिलो हुने भएपछि कृषक उन्नत धानको बीउतर्फ आकर्षित भएका छन् । सावा मनसुली, शान्ति, जानकी, जिरामसिना, साना मनसुली, युएस, खुमल चारलगायतका धानखेतीमा यस क्षेत्रका कृषकको आकर्षण देख्न सकिन्छ ।

नयाँ उन्नत जातका धानको बीउमा किरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण कृषकले पहिलेपहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । कृषकले धेरै उत्पादन हुने र प्रविधिको प्रयोगबाट छिटोछरितो ढङ्गले खेती गर्ने प्रणाली अपनाउन थालेका छन् । पुराना धानबाट खाना स्वादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ कृषकको ध्यान कम जान थालेको कृषक हुमादेवी देवकोटाले बताउनुहुन्छ । चाहिएको बेला आकाशबाट सिँचाइका लागि पानी नपर्ने र सजिलै पानी उपलब्ध नहुने ठाउँमा पानी कम लाग्ने भएका कारण पनि कृषकले धुलोमा बीउ राख्ने र वर्णसङ्कर धान रोप्ने गर्दछन् । बेलाबेला पानी बोकेर धानमा राख्ने कृषकको भनाइ छ ।

पछिल्लो समय वर्णसङ्कर जातको भनेपछि धेरै फल्ने लोभमा कृषक प्रभावित भएको रामपुरका कृषक सूर्यप्रसाद रेग्मी बताउनुहुन्छ । वर्णसङ्कर भन्दा पुराना जातका धान धेरै स्वादिलो र फाइदाजनक भए पनि यसको महत्व कृषकले बुझ्न नसकेको उहाँको धारणा छ । पाल्पामा वर्णसङ्कर जातका धान रोपे पनि बजारका स्वादिला चामल किनेर खाने गर्दछन् । आफूले उत्पादन गरेका धान बिक्री गरी बासमतीलगायतका केही चामल बजारबाट खरिद गरी कृषकले नै प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ