पढ्न करिब 2 मिनेट लाग्छ

कात्तिक १६, चौतारा | विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।

भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी

(१४) फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्मको क्षतिग्रस्त स्थानको करीब २३० मिटर सडकको नयांँ ट्र्याक खोलेको छ ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र क्षेष्ठका अनुसार तातोपानी धाराभन्दा माथि २०० मिटर र कोदारीको कोप्लाङमा ३० मिटर ट्र्याक खोलिएको छ । त्यस्तै लिपिङ खोला नजिक सडकको तल्लो भागमा सिमेण्टेड टेवा पर्खाल लगाउने काम भइरहेको हँुदा लिपिङको बसपार्कसम्म साना गाडी सञ्चालन भएका छन् ।

सडक निर्माणका साथै नाका सञ्चालन गर्न गत भदौ १७ गते तिब्बत स्वशासित प्रदेशकी उपसचिव छुयाङलुको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र नेपाल सरकारका विभिन मन्त्रालयका अधिकारी सम्मिलित टोलीले बाह्रबिसेदेखि तातोपानी सडकका साथै खासा क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका थिए ।

उक्त सडक खण्डको साविक चौडाइ वृद्धि गरी १२ मिटर फराकिलो पारिने भएको छ । सडक चौडा गर्दा कसैको पूरै र कसैको आधा घर पर्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले बताए ।

सडक निर्माणका लागि आवश्यक ठूला निर्माण सामग्री आइसकेको बताइएको छ । चीन सरकारले बनाइदिने मितेरी पुल पनि खासापट्टिको भागमा काम भइरहेको स्थानीयले बताएका छन् । राजधानीबाट छोटो दूरीमा रहेको सो नाका बन्द हँुदा वार्षिक रु छ अर्ब राजस्व गुम्नुका साथै हजाराँैको रोजीरोटी गुमेको छ ।

सोही कम्पनीले निर्माण गरिरहेको सुख्खा बन्दरगाहको काम पनि तीव्रगतिमा भइरहेको छ । गत वैशाख २० गते सम्झौता भएको उक्त बन्दरगाह आगामी मे महीनामा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि छ महीनाकै अवधिमा हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । भोटेकोशीमा बनाइने ११२ मिटर पक्की पुलको काम अबको तीन÷चार महीनामा सम्पन्न हुने बन्दरगाहमा कार्यरत मिलन शेर्पाले जानकारी दिए ।