2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना प्रभाव : लगानी सम्मेलन योजनामै सीमित

असार १०, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न बनाएको योजना योजनामै सीमित भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस सङ्क्रमणका कारण योजनामै सीमित भएको हो ।

कोरोना सङ्क्रमण शून्य भएपछि आउँदो आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरेका थियौं, अब आउँदो वर्ष गर्न पुनः योजना बनाउँछौँ ।” यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दा स्वेदेशीसहित विदेशी लगानीकर्ताले रु १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो ।

“हामी निर्णय गरेरै गत चैतमा लगानी सम्मेलनको तयारीमा जुटेका थियौँ तर कोरोना सङ्क्रमणका कारण गर्न सकेनौँ”, खरेलले भन्नुभयो । उहाँका अनुसार पाँचखालको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न रु २५ लाख प्रारम्भिक बजेट छुट्याइएको थियो । खरेलले भन्नुभयो, “पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ ।”

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माणकार्य शुरु गरिएको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता भई ठेक्काको कार्य प्रारम्भ गरिएको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्टसिटीका लागि पनि जमीन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो । “विशेषगरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षित गर्नेछौँ”, खरेलले भन्नुभयो । उहाँ पाँचखालमा लगानी तथा पर्यटनको प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्याइसकिएको तथा पुर्याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षित हुनु स्वाभाविक रहेको जिकिर गर्नुहुन्छ ।

 कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ । “स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिन पनि छलफल गर्दैछौँ”, नगरप्रमुख खरेले भन्नुभयो । उहाँका अनुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ ।

 त्यसो त ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरले पाँचखालको खेतीयोग्य जमीनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । “आफूखुसी र व्यापारिक हिसाबले खेतीयोग्य जमीन प्लटिङ गर्न पूर्णतः रोक लगाएका छौँ, हामीे कृषि उत्पादमा जोड दिइरहेका बेला खेतीयोग्य जमीन मास्न दिँदैनौँ”, नगरप्रमुख खरेलले भन्नुभयो । उहाँले अबको बजेटमा पाँचखाल उपत्यकामा चक्रपथ निर्माणको योजना बनाइनेसमेत जानकारी दिनुभयो । यसका लागि सरोकारवाला तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल भइरहेको उहाँले बताउनुभयो । 

नगरले चक्रपथ राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमीन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने जनाएको छ । खरेलले भन्नुभयो, “यसबाट शहरीकरणलाई मात्र व्यवस्थित गर्दैन, कृषि उत्पादनमा लगानी बढाउन सकिन्छ ।” विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ । तेह्र वडामा विभाजित पाँचखाल नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने ३७ हजार ७९७ जनसङ्ख्याको बसोबास छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द