<p><b>असार १६, राजविराज ।</b> चार/पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति भएकोे औद्योगिक क्षेत्रले जनाएको छ ।<br></p><p>सरकारी उपेक्षाको मार खेप्दै आएको औद्योगिक क्षेत्रका केही उद्योगमा पानीसमेत पसेको जनाइएको छ । औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउमा पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ । </p><p>अविरल वर्षाले सप्तरीको दक्षिणी भेगकाको २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको बताउनुभयो । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । सोमध्ये ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । रासस </p>
June 30, 2020
अर्थ/विकास, सप्तरी - SPT
औद्योगिक क्षेत्रमा पानी पस्यो, २०० बिघा धान खेत डुबानमा
By साझासवाल
3 मिनेट पढाइ







