2026-09-13 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालोपत्र सडक निर्माण शुरु

माघ १८, कास्की | कास्कीको माछापुछ्रे गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । नौ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र सडक पूर्वाधारबाट जोड्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधारः समृद्ध माछापुछ्रेको आधार’ को नारासहित अघि बढेको गाउँपालिकाले हालै पालिकाका तीन वडालाई जोड्ने गरी पक्की कालोपत्र सडक निर्माण शुरु गरेको छ । वडा नं ४ लाहाचोकको भिरकटेराबाट वडा नं ३ को घाचोक र वडा नं १ को साविक माछापुछ्रे गाविसको टुसेसम्म चार किमी पक्की सडक निर्माण शुरु भएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारको समपूरक बजेटबाट ती सडक पूर्वाधार निर्माण गर्न लागिएको हो ।

भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी विद्यालयसम्म एक र भलाबोटबाट टुसेसम्म अर्को खण्डमा विभाजन गरी काम गरिने गाउँपालिकाले जनाएको छ । भलाबोटबाट टुसे खण्डका लागि रु तीन करोड ७५ लाख लागतमा गत पुस २६ गते ठेक्का सम्झौता भएर काम शुरु गरिएको छ । यसै आर्थिक वर्षभित्र सो सडकखण्ड पक्की कालोपत्र गरिने गर्ने नयाँबाटो निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ४ को पानपाते चौताराबाट वडा नं ३ को शुक्लागण्डकी विद्यालयसम्मको एक किमी ६०० मिटर लामो सडकका लागि बोलपत्र आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको छ । “गाउँपालिकाको कार्यालयबाट वडाका केन्द्रलाई पक्की सडक सञ्जालबाट जोड्ने गरी योजना निर्माण गरेर कार्यान्वयन शुरु गरेका छौँ”, उपाध्यक्ष दबाडीले भन्नुभयो, “स्तरीय सडक पूर्वाधारका माध्यमबाट गाउँपालिकावासीलाई सुविधा दिने योजना छ ।”

यसैगरी गाउँपालिकाका अधिकांश वडालाई समेट्ने गरी वडा नं २ को कोलचोकबाट, भलाबोट, लाहाचोक, भिँडाबारी, गैरीगाउँ, धिताल हुँदै धम्पुससम्मको १५ किमी सडक गत आवदेखि स्तरोन्नति काम भइरहेको छ । सङ्घ, प्रदेश र गाउँपालिकाको लगानीमा माछापुछ्रेमा सडक पूर्वाधारका ठूला योजना सञ्चालनमा रहेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पोखरा–२५ मेलबोटबाट गाउँपालिकाको वडा नं ९ घलेलसम्मको १५ किमी सडकको काम विसं २०७५ असोजदेखि शुरु भएकामा आगामी चैत मसान्तभित्रमा निर्माण सम्पन्न हुने जनाइएको छ ।

यसैगरी प्रदेश सरकारको प्रदेश सदरमुकामबाट स्थानीय तहका केन्द्र जोड्ने सडक कार्यक्रमअन्तर्गत पोखरा–२५ मिलनचोकबाट माछापुछ्रे गाउँपालिकाको केन्द्र लाहाचोकसम्म पाँच किमी सडक रु १० करोड लागतमा कालोपत्र गर्ने योजनाअनुसार हाल सडक फराकिलो बनाउने, नाला निर्माणलगायतका काम भइरहेको गाउँपालिका उपाध्यक्ष दबाडीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन