पढ्न करिब 2 मिनेट लाग्छ

चैत २८, सुर्खेत | सुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दीप बहुमुखी क्याम्पस र बझाङकै सुनकुडा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भएको जानकारी गराउनुभयो।

“सरकारले उक्त क्याम्पसको दरबन्दी स्वीकृत गरेर विश्वविद्यालयका कार्यक्रमहरु सञ्चालन गर्नेछ”, उहाँले भन्नुभयो, “विसं २०७५ मै समायोजन गरेर शैक्षिक कार्यक्रम सुरु गर्ने भनिए पनि दरबन्दी स्वीकृत नहुँदा ढिलाइ भएको हो ।”

यसअघि उक्त विश्वविद्यालयमा १५ सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पस बनाइएको थियो । हाल विश्वविद्यालयले आठवटा सङ्कायमा अध्यापन गराउँदै आएको छ । सरकारले डडेलधुरा अस्पताललाई पनि सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक सङ्कायका रुपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले आउँदो शैक्षिकसत्रदेखि वन विज्ञान र हर्वल साइन्सको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । “विश्वविद्यालयको आङ्गिक सङ्कायका रुपमा रहने गरी स्वास्थ्य मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यस विश्वविद्यालयको त्रिपक्षीय सम्झौता भएको छ”, उहाँले भन्नुभयो, “यसै शैक्षिकसत्रदेखि हर्वल साइन्स र इन्जिनियरिङ सङ्कायको स्नाकोत्तर तहमा भर्ना प्रक्रिया सुरु गरेका छौ ।”

हाल विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि विज्ञान, कानुन र स्वास्थ्य विज्ञान गरी आठवटा सङ्काय सञ्चालन गरेको उपकुलपति जोशीले बताउनुभयो । विसं२०६८ मा स्थापना भएको विश्वविद्यालयले ०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको थियो । उक्त विश्वविद्यालयको केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थी अध्ययनरत छन् ।