2026-09-13 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार

दुर्गा देवकोटा | साउन ९, कैलाली (रासस) | कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राको नतिजामा सुधार आएको विद्यालय प्रशासकको भनाइ छ ।

“महीनावारीको समयमा दैनिक पाँच जनासम्म छात्राले कक्षा छाड्थे । हाल बिदा मागेर घर जाने छात्रा घटेका छन्”, कैलालीको टीकापुरस्थित सरस्वती मावि वनगाउँका प्रधानाध्यापक खगेन्द्र घर्तीमगरले भन्नुभयो, “विद्यालयमै प्याड वितरण हुन थालेपछि छात्रभन्दा छात्राको नतिजा राम्रो आएको छ ।” सरस्वती माविमा कक्षामा प्रथम, द्वितीय, तृतीय हुनेमा छात्रा अगाडि छन् । छात्र करीब ३० प्रतिशत मात्र उनीहरुको प्रतिस्पर्धामा छन् । प्रअ मगरका अनुसार ६ कक्षामाथि त प्रथम, द्वितीय, तृतीय सबै छात्रा नै छन् । “हामीले साना–साना कुरामा ख्याल गरेका रहेनछौँ”, प्रअ घर्तीमगर भन्नुहुन्छ, “यो सानो प्रयासले छात्रालाई निकै राहत भएको छ । साथै उनीहरुको शैक्षिक विकासमा समेत सहजता आएको छ ।”

सरस्वती माविले दुई वर्षदेखि महीनावारीका बेला छात्रालाई आवश्यक प्याड विद्यालयमै पाउने व्यवस्था गरेको छ । प्रधानाध्यापक घर्तीमगर रु पाँचमा प्याड उपलब्ध गराउने गरेको बताउनुहुन्छ । “निःशुल्क उपलब्ध गराउने चाहना त हो तर आर्थिकभार व्यहोर्न नसकिने भएकाले रु पाँच लिन्छौँ”, उहाँ भन्नुहुन्छ, “टाउको दुख्यो भन्दै घर जाने छात्रा प्याड किनेर पूरै कक्षा लिएर जान्छन् ।”

त्यस्तै कर्णाली मावि टीकापुरमा समेत विद्यालयमै प्याड वितरण थालेपछि विद्यालयमा छात्राको उपस्थिति बढेको छ । कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्मा विगतमा महीनामा चार÷पाँच दिन कक्षा छाड्ने किशोरी नियमित विद्यालय आउन थालेको बताउनुहुन्छ । “महीनावारीको समयमा किशोरीहरु प्याड नपाउँदा कक्षा छाडेर घर जान्थे, त्यो घटेको छ । साथै विद्यालयमै प्याड पाइन्छ भनेर उनीहरु ढुक्कसमेत हुने गरेका छन् ।” प्रअ शर्मा आफ्नो विद्यालयमा किशोर–किशोरीमैत्री स्वास्थ्य कार्यक्रम लागू भएकाले किशोर–किशोरी आफ्ना समस्याबारे खुलेर छलफल गर्ने बताउनुहुन्छ ।

कैलालीकै खड्ग स्मृति माविकी शर्मिला चौधरी कक्षामा दशौँ स्थानमा हुन्थिन् । कक्षा ७ मा उनी कक्षामा दशौँ स्थानमा आइन् । सानो कक्षामा प्रथम हुने उनलाई दशौँ स्थानमा पुगेपछि निकै तनाव भयो । उनका घरमा समेत राम्ररी पढिन भनी हप्काउन थालियो । “म हरेक महीना चार दिन विद्यालयमा जान्थिनँ, मलाई महीनावारीको समयमा रगत लुकाउने डर हुन्थ्यो ।” शर्मिलाले भनिन्, “विद्यालयमै प्याड दिन थालिएपछि म ढुक्क भएँ, अब मलाई महीनावारी हुँदाको तनाव छैन ।” शर्मिला कक्षा ९ मा द्वितीय भइन् । उनी भन्छिन्, “यस्ता साना–साना तनावले किशोरीको पढाइ बिग्रन्छ ।” खड्ग स्मृति माविकी शिक्षिका सीता भट्टराई स्थानीय सरकारले विद्यालयमा निःशुल्क प्याड पाउने वातावरण बनाइदिनुपर्ने माग गर्नुहुन्छ । “महीनावारी नियमित प्रक्रिया हो, प्याड खर्चिलो पनि छ । धेरै किशोरीले किनेर प्रयोग गर्नसक्ने अवस्था छैन, यसमा सरकारले ध्यान दिनुपर्छ ।”

टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले नगरपालिकाले यस वर्ष सामुदायिक विद्यालयमा प्याड व्यवस्थापनका लागि रकम छुट्याएको बताउनुभयो । “हामीले प्याड व्यवस्थापनका लागि रु १० लाख रकम छुट्याएका छौँ”, उहाँले भन्नुभयो । चौधरीले विद्यालयमा छात्राको उपस्थिति बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सरकारले पनि सबै सामुदायिक विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले