पढ्न करिब 3 मिनेट लाग्छ

दुर्गा देवकोटा | साउन ९, कैलाली (रासस) | कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राको नतिजामा सुधार आएको विद्यालय प्रशासकको भनाइ छ ।

“महीनावारीको समयमा दैनिक पाँच जनासम्म छात्राले कक्षा छाड्थे । हाल बिदा मागेर घर जाने छात्रा घटेका छन्”, कैलालीको टीकापुरस्थित सरस्वती मावि वनगाउँका प्रधानाध्यापक खगेन्द्र घर्तीमगरले भन्नुभयो, “विद्यालयमै प्याड वितरण हुन थालेपछि छात्रभन्दा छात्राको नतिजा राम्रो आएको छ ।” सरस्वती माविमा कक्षामा प्रथम, द्वितीय, तृतीय हुनेमा छात्रा अगाडि छन् । छात्र करीब ३० प्रतिशत मात्र उनीहरुको प्रतिस्पर्धामा छन् । प्रअ मगरका अनुसार ६ कक्षामाथि त प्रथम, द्वितीय, तृतीय सबै छात्रा नै छन् । “हामीले साना–साना कुरामा ख्याल गरेका रहेनछौँ”, प्रअ घर्तीमगर भन्नुहुन्छ, “यो सानो प्रयासले छात्रालाई निकै राहत भएको छ । साथै उनीहरुको शैक्षिक विकासमा समेत सहजता आएको छ ।”

सरस्वती माविले दुई वर्षदेखि महीनावारीका बेला छात्रालाई आवश्यक प्याड विद्यालयमै पाउने व्यवस्था गरेको छ । प्रधानाध्यापक घर्तीमगर रु पाँचमा प्याड उपलब्ध गराउने गरेको बताउनुहुन्छ । “निःशुल्क उपलब्ध गराउने चाहना त हो तर आर्थिकभार व्यहोर्न नसकिने भएकाले रु पाँच लिन्छौँ”, उहाँ भन्नुहुन्छ, “टाउको दुख्यो भन्दै घर जाने छात्रा प्याड किनेर पूरै कक्षा लिएर जान्छन् ।”

त्यस्तै कर्णाली मावि टीकापुरमा समेत विद्यालयमै प्याड वितरण थालेपछि विद्यालयमा छात्राको उपस्थिति बढेको छ । कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्मा विगतमा महीनामा चार÷पाँच दिन कक्षा छाड्ने किशोरी नियमित विद्यालय आउन थालेको बताउनुहुन्छ । “महीनावारीको समयमा किशोरीहरु प्याड नपाउँदा कक्षा छाडेर घर जान्थे, त्यो घटेको छ । साथै विद्यालयमै प्याड पाइन्छ भनेर उनीहरु ढुक्कसमेत हुने गरेका छन् ।” प्रअ शर्मा आफ्नो विद्यालयमा किशोर–किशोरीमैत्री स्वास्थ्य कार्यक्रम लागू भएकाले किशोर–किशोरी आफ्ना समस्याबारे खुलेर छलफल गर्ने बताउनुहुन्छ ।

कैलालीकै खड्ग स्मृति माविकी शर्मिला चौधरी कक्षामा दशौँ स्थानमा हुन्थिन् । कक्षा ७ मा उनी कक्षामा दशौँ स्थानमा आइन् । सानो कक्षामा प्रथम हुने उनलाई दशौँ स्थानमा पुगेपछि निकै तनाव भयो । उनका घरमा समेत राम्ररी पढिन भनी हप्काउन थालियो । “म हरेक महीना चार दिन विद्यालयमा जान्थिनँ, मलाई महीनावारीको समयमा रगत लुकाउने डर हुन्थ्यो ।” शर्मिलाले भनिन्, “विद्यालयमै प्याड दिन थालिएपछि म ढुक्क भएँ, अब मलाई महीनावारी हुँदाको तनाव छैन ।” शर्मिला कक्षा ९ मा द्वितीय भइन् । उनी भन्छिन्, “यस्ता साना–साना तनावले किशोरीको पढाइ बिग्रन्छ ।” खड्ग स्मृति माविकी शिक्षिका सीता भट्टराई स्थानीय सरकारले विद्यालयमा निःशुल्क प्याड पाउने वातावरण बनाइदिनुपर्ने माग गर्नुहुन्छ । “महीनावारी नियमित प्रक्रिया हो, प्याड खर्चिलो पनि छ । धेरै किशोरीले किनेर प्रयोग गर्नसक्ने अवस्था छैन, यसमा सरकारले ध्यान दिनुपर्छ ।”

टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले नगरपालिकाले यस वर्ष सामुदायिक विद्यालयमा प्याड व्यवस्थापनका लागि रकम छुट्याएको बताउनुभयो । “हामीले प्याड व्यवस्थापनका लागि रु १० लाख रकम छुट्याएका छौँ”, उहाँले भन्नुभयो । चौधरीले विद्यालयमा छात्राको उपस्थिति बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सरकारले पनि सबै सामुदायिक विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने घोषणा गरेको छ ।