कात्तिक ३, काभ्रेपलाञ्चोक | घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दशैँ बिदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो ।

दशैँमा समुदायमा धेरै व्यक्तिको आउजाउ हुने भएकाले स्वास्थ्य सुरक्षाबारे जनचेतना फैलाउन सहज हुने ठानेर विद्यार्थी–शिक्षकलाई निर्देशन दिइएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । “दशैँका अवसरमा १५ दिनको बिदामा शिक्षक–विद्यार्थीले आफ्नो घर तथा व्यक्तिगत सरसफाइ, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम र समूहमा भेटघाट नगर्ने वातावरण बनाउन सहजीकरण गर्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

उक्त अवधिमा विद्यार्थीले कोरोनाबाट बच्नका लागि खोल्नुपर्ने भूमिकाबारे सचेत गराउनेछन् भने शिक्षकले विद्यार्थीको निगरानी गर्ने नगर शिक्षा शाखाले जनाएको छ । शाखाप्रमुख दीनानाथ पन्थीले दिन प्रतिदिन कोरोना भाइरस सङ्क्रमण बढ्दै गएकाले दशैँको बिदा अवधिमा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी–शिक्षकले आफ्नो घर र समुदायमा जनचेतना फैलाउन निर्देशन दिइएको बताउनुभयो ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गत वैशाखदेखि बन्द विद्यालयमा नगरले नै शिक्षक–विद्यार्थीलाई स्वास्थ्य सामग्री उपलब्ध गराई असोज ४ गतेदेखि स्वास्थ्य–सुरक्षा अपनाई प्रत्यक्ष विधिबाट विद्यालय सञ्चालनमा ल्याइएको थियो । नगरमा ५० सामुदायिक र निजी विद्यालय छन् । रासस