जेठ ६, गलेश्वर (रासस)। नयाँ भेरियन्टसहितको कोभिड–१९को दोस्रो लहरको सङ्क्रमणबाट थलिएको हिमाली जिल्ला म्याग्दीका विद्यालयहरुमा पशुको रजाइँ भएको छ । सङ्क्रमणबाट बच्न गरिएको निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले पढ्ने ठाउँ गाई, भैँसी, बाख्रा र कुखुराको चरन क्षेत्रमा परिणत भएका छन् ।

विद्यालयको प्राङ्गणमा घाँस उम्रिएर हराभरा भएको छ । तारबार नगरिएका विद्यालयहरुमा गाउँका पशु चौपायाहरु विद्यालय हाताभित्रै प्रवेश गरेर चरिरहेका देखिन्छन् । विद्यालयहरु बन्द भएको एक महिना हुनै लाग्दा ग्रामीण क्षेत्रका विद्यालयको अवस्था पशु गोठजस्तै बन्न लागेको स्थानीयवासीले बताएका छन् । कोरोना सङ्क्रमण झन तीव्ररूपले फैलिँदै गइरहेको अवस्थामा विद्यालयहरु कहिले सञ्चालन हुने हो भन्ने कुराको कुनै टुङ्गो छैन । स्थानीय प्रशासन र स्थानीय तहहरुले जारी निषेधाज्ञालाई अझै लम्ब्याउने तयारी गरिरहेका छन् ।

बेनी नगरपालिका–६ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालय र बगरफाँटको सरस्वती आधारभूत विद्यालय परिसरको क्षेत्र अहिले पशुहरुको चरन क्षेत्र बनेको स्थानीयवासीले बताएका छन् । यी दुई विद्यालय मात्र नभई जिल्लाका ग्रामीण भेगका सबै विद्यालयको अवस्था यस्तै रहेको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन् ।

विद्यालय पशुका लागि चरन क्षेत्र बनेपछि पशुका हेरालु पनि विद्यार्थी नै बनेको बेनी–२ बगरफाँटका समबहादुर किसानले बताउनुभयो । “विद्यालय बन्द छन्, घरमा कि टिभी हेर्छन्, कि मोबाइल खेलाउँछन्”, किसानले भन्नुभयो, “बरु पशु चौपायाको हेरालु बनाएर पठाइदिएपछि पशुहरुले पनि घाँस चर्न पाउँछन्, केटाकेटीहरु पनि भुल्छन्, आनन्दै हुन्छ ।”

भकिम्लीका मङ्गलबहादुर विकको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । स्थानीय जयन्ती मावि भकिम्लीमा अहिले कक्षा ९ मा अध्ययनरत विक शहरबजारमा अनलाइनबाट पढाइ भइरहेको कुरा थाहा त पाउनुहुन्छ तर आफ्नो घरमा न वाइफाइ छ, न विद्यालयले नै अनलाइन कक्षा सञ्चालन गरेको छ ।

उहाँ भन्नुहुन्छ, “पढ्न त मन लाग्छ नि, तर पढ्ने पो कसरी हो ? बाख्रा चराउन जङ्गल जान्छौँ, विद्यालय नखुलेसम्म पढ्ने कुरा हरायो अब ।” उहाँजस्तै म्याग्दीको ग्रामीण भेगका धेरै विद्यार्थी अहिले गाईभैँसी र भेडाबाख्राका हेरालु बनेका छन् ।

सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तारसँगै इन्टरनेट सेवा हुँदा विद्यार्थीहरुले प्रविधिको भरपूर मात्रामा सदुपयोग गरे पनि ग्रामीण क्षेत्रमा बस्ने विद्यार्थी भने पशुचौपायाको हेरालु बनेर दिन बिताइरहेका स्थानीय जनप्रतिनिधिहरुको पनि भनाइ छ । शहरका विद्यार्थीले विभिन्न माध्यमबाट दोहोरो शिक्षा लिइसक्ने समयसम्म गाउँका विद्यार्थीले एकसरो पढ्न पाउने अवस्थासमेत मुस्किल बन्दै गएको छ । अघिल्लो वर्षको कोरोनाका कारण बल्लबल्ल विद्यालय सञ्चालन भएर आधा पढाइ हुनेबित्तिकै फेरि यो वर्षसमेत सोही घटना दोहोरिँदा विद्यार्थी मर्कामा परेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार ग्रामीण भेगका विद्यार्थीले सरकारद्वारा गरिएको प्रसारण शिक्षाको सदुपयोग गर्न सकेका छैनन् । अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि विभिन्न माध्यमबाट काम चालु रहे पनि सबै स्थानका विद्यार्थीसँग प्रविधिको पहुँच नभएकाले समस्या भएको उहाँको भनाइ छ ।

चरन क्षेत्र बन्दै विद्यालय, हेरालु बने विद्यार्थी
Leave a Comment