पढ्न करिब 2 मिनेट लाग्छ

असोज २०, काठमाडौं। कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन्। भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ।

सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ। यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखेको छ। प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन्। सो क्षेत्रमा स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा राख्दै मुख्य दुई नाका वीरगञ्ज र भिठामोडमा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीमा कोरोना जाँच नियमित रूपमा हुँदैआएको छ। प्रदेश १ का काँकडभिट्टाको मेची भन्सार र भद्रपुर नगरपालिकाको भद्रपुर भन्सार कार्यालय खुला गरिएको छ। यद्यपि, औपचारिक रूपमा भारतले नाका खुलाएको छैन।

गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र सीमा नाका पनि चार दिनदेखि सञ्चालनमा आएको छ। १८ महिना बन्द रहेको भन्सार कार्यालय खुला भएपछि मानिसको चहलपहल बढेको छ। भारतले वाल्मीकि नगर भन्सार र नेपालले त्रिवेणीतर्फको भन्सार सञ्चालनमा ल्याएको छ।

प्रदेश २ का स्वास्थ्य निर्देशक विजयकुमार झाका अनुसार, भारतीय नम्बरका निजी सवारी प्रवेशका लागि सरकारले स्वास्थ्य मापदण्ड निर्धारण गरेको छ। स्वास्थ्य मापदण्ड जाँचका लागि प्रदेश २ मा वीरगञ्ज र भिठामोडमा मात्र स्वास्थ्य जाँच केन्द्र राखिएका कारण समस्या आउन सक्ने उनको धारणा छ।

पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म कम्तीमा आठवटा स्वास्थ्य जाँच केन्द्र स्थायी रूपमा सञ्चालन गर्नुपर्ने निर्देशक झाले बताए। प्रदेश २ का सीमा क्षेत्रमा कोभिडको प्रथम चरणका बेला ३० स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको थियो। उनले सीमा नाकासँग जोडिएको स्थानीय तहको समन्वयमा सङ्घीय सरकारले तत्कालै हेल्थ डेस्क स्थापना गर्ने तयारी गरिरहेको बताए। गोरखापत्र दैनिकमा छ।