२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हराउँदै भकारी र कोठी

२०७९, २१ चैत्र मंगलवार ०८:५३

चैत २१, महोत्तरी | – गोपालप्रसाद बराल | चैतेबाली धमाधम भित्र्याउन थालेपछि भङ्गाहा नगरपालिका–६ स्थित पर्सा टोलका किसान दीपलाल सिंह थारू बाली कसरी सुरक्षित राख्ने भन्ने  चिन्ताले पिरोलिनु भएको छ । गहुँ, रहर, चना, मसुरोसहित चैते बाली काटेर  चुट्ने, दाइँ गर्न चटारो भइरहेका बेला यी फसल सुरक्षित राख्ने चिन्ताले उहाँलाई सताएको होे । 

चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र  रहरलगायत खाद्यान्न भण्डारणका लागि चाहिने माटाका कोठी र भकारी अब बन्न छाडेपछि थारूसहितका यस भेगका किसानलाई  उत्पादित फसल सुरक्षित भण्डारण गर्ने सामानको अभावमा चिन्ता देखिएको हो ।

“प्रत्येक घरमा माटाका कोठीमा बाली राखेपछि घुन लाग्दैनथ्यो”, बर्दिवास नगरपालिका–९ की नथुनी महताले  भन्नुभयो, “अब पुराना कोठी फुटेर गए अब नयाँ कोठी बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।”

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ । “माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर न पोखिने चिन्ता !”, भङ्गाहा–४ की रामसुनरदेवी थारूले भन्नुभयो, “अब त घरमै आफैँ खान राखिने खाद्यान्न घुनबाट सुरक्षित राख्न पनि जानाजान थरीथरीका औषधि मिसाउनु पर्नेभयो ।” 

“हेर्नोस् न जानाजान विष खान तयार भएका छौँ” उहाँले भन्नुभयो, “माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढकनले छोपेपछि वर्षौैंसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अहिलेका छोरी, बुहारीले त के हो कोठी भन्या भनी सोध्न थाल्याछन् , खै के भनौँ !”

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा खासगरी थारू समुदायमा माटाका कोठी बनाउनु  कौशलका रूपमा लिइन्थ्यो । माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनाका साथै यसलाई कौशल र थारू संस्कृतिसँग जोडिएकाले विगतमा बुहारी छनोट गर्नुपूर्व यो सीपबारे सोधपुछ गर्ने गरिएको  भङ्गाहा–८स्थित धर्मपुरका बृद्ध मोती बछार थारूले बताउनुभयो । “हाम्रो जातिमा दुई दशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिँदा तिनले माटाका कोठी बनाउन, काँस (एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् भनेर सोधिन्थ्यो”, उहाँले भन्नुभयो, “अब त ती सबै कुरा हराइसके, अनि के कोठी देखिनु ? माटाका कोठी बनाउन छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझेलमा परेको छ । ”

कोठी बन्न छाडेपछि यहाँका थारूले पनि अब खाद्यान्न थन्क्याउन प्लास्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन् । “के गर्नु बाबु, आफ्ना नाडी बसिहाले”, भङ्गाहा बस्तीकी पारोवती चौधरी थारूले भन्नुभयो, “अबका छोरी, बुहारीले यसो सिकाँै भन्ने चासो नै देखाउँदैनन्, अबका केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?”, पछिल्लो पुस्ताको अरुचिले अब हस्तसीपको खास नमूना मासिन लागेकामा  पाको उमेरका थारूमा चिन्ता थियो  । 

विगतमा तराई क्षेत्रमा थारू महिलाकै सामीप्यले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिक्ने गरे पनि थारू समुदायमै यो कुरा हराउन थालेपछि अन्त के खोज्नु ? भन्ने बूढापाकाको प्रतिक्रिया हुने गरेको छ ।  विगतमा कस्का कस्ता कोठी भनेर सामाजिक प्रदर्शन र चर्चा हुने गरेकामा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको गौशाला–२ निगौलका पूर्वशिक्षक विचारी चौधरीले बताउनुभयो । प्रत्येक दिनको फुर्सदको क्षणमा तयार गरिने कलात्मक कोठी हेर्न बस्तीमा हल्लीखल्ली नै हुने गरेको विगत सम्झँदै सोही स्थान निवासी शान्तिदेवी सिंह दनुवारले भन्नुभयो, “अब यो कुरा नातिनातिनालाई सुनाउने कथा मात्रै भयो ।”

विगतमा तराईमा बिघौंबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निकै गहुँ, चना, रहरलगायत फसल  हुने र चामल पनि निकै थन्क्याउनु पर्ने भएकाले त्यतिबेला घुनबाट खाद्यान्न बचाउन कोठी बनाउने चलन थियो ।  पछिल्ला वर्षहरुमा जग्गा पनि घट्दै गएकाले कोठी प्राथमिकतामा पर्न छाडेको बताउने पनि छन् । “नयाँ पुस्तामा  कोठी बनाउने सीपबारे चासो नहुनु त मुख्य कुरो छँदैछ”, साहित्यकार डा राजेन्द्रप्रसाद विमलले भन्नुभयो, “अब जग्गाको स्वामित्व खुम्चँदै गएर चैतेबालीको उत्पादन पनि कम हुन थालेपछि यसको आवश्यकता महसुस नभएजस्तो छ ।” 

पछिल्ला दिनमा मौसमअनुसार उत्पादित फसल बेच्ने र पछि आफुलाई चाहिने बेला बजारबाट किनेर चलाउने चलन बढेको उहाँको भनाइ थियो  । यो चलनले बाली थन्क्याउने झन्झट पनि हटेको छ ।

स्थानीय परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान भएकाले लोप हुँदै गएको माटोको कोठी बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउनुपर्ने पशुपतिनगरस्थित राष्ट्रिय माविका  प्रधानाध्यापक हरिदेव महतोको भनाइ थियो । यसका लागि आपूmले साप्ताहिक एउटा अतिरिक्त कक्षामा सीप जानेकाहरुबाट माध्यमिक तहका छात्रालाई अभ्यास गराउन चाहेको उहाँले बताउनुभयो ।

यसैगरी भकारी पनि अब बन्न, देखिन छाडेको छ । तराईका डोम र बिन समुदायको जातीय सीप मानिने भकारी बनाउने सीप पनि अब माग हुन छाडेपछि हराउँदै गएको छ । भकारीलाई बाहिरबाट लिसाइलो माटोले पोतेर माथि खरको छाना लगाएपछि वर्षौं वर्षसम्म धान सुरक्षित रहने गथ्र्यो । अब किसानले भकारीको माग गर्न छाड्नाका साथै पछिल्ला पुस्ता  पनि अन्य वैकल्पिक काममा लाग्दा यो सीप र पेसा हराउँदै गएको भङ्गाहा–५स्थित सिद्धपुर स्टेसनटोलका प्रगाश मरिक (डोम) ले बताउनुभयो ।   

माटाका कोठी र भकारीमा कुनै विषादी प्रकारका औषधि नमिसाई खाद्यान्न  सुरक्षित राख्न सकिने भएकाले कोठी र भकारीको प्रचार र प्रवद्र्धन गराउनुपर्नेमा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जोड दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै