2026-07-26 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इम्बोस्ड नम्बर: प्रदेशको नाम नेपालीमा, अन्य यथावत

वैशाख १४, काठमाडौँ | सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । 

प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो । “जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ”, उहाँले भन्नुभयो । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको  कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो । 

सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन । “नम्बर प्लेटमा देवनागरी लिपि राख्नका लागि उनीहरुको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ”, इन्जिनियर थापाले भन्नुभयो, “उनीहरुले त्यसका लागि तयारी गर्दैछ । अब छिट्टै सुरु हुन्छ । हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’लाई निर्देशन दिएका छौँ ।”

विविआइएनअन्तर्गतका बङ्गलादेश, भूटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उहाँको भनाइ थियो । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाउनुभयो । 

यही वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अङ्ग्रेजीमा र अङ्गे्रजीमा गरी तीनवटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराउनुभएको थियो । 

गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा इम्बोस्ड नम्बर देवनागरीमा छपाइ गर्ने विषयलाई अगाडि बढाइएको बताउनुभएको थियो । “त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ”, उहाँले भन्नुभएको थियो । 

सरकारले अङ्ग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुँदै आएको थियो । 

निर्देशनको पर्खाइमा विभाग

सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरु रहेको बताउनुभयो । 

“देवनागरी लिपिमा छाप्ने भन्ने भयो, तर कुनकुन अक्षर र अङ्क देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन”, उहाँले भन्नुभयो, “मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरु हुन्छ ।” विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ । “अङ्ग्रेजीलाई अमान्य भनेको होइन, इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’ अनुसार प्लेट छपाइ भइरहेको छ”, सूचना अधिकारी पनेरुले भन्नुभयो । हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ