२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यती एयर विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

२०८०, १ माघ सोमबार ०८:२८

माघ १, पोखरा | माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसोतिर घर आउने जानकारी प्रतिभालाई थियो ।

तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसो नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काटेका थिए । उनले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १० : ५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए ।

दुर्घटनासम्बन्धी समाचार, तस्वीर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा आएका थिए भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमानको नाम देख्दा पनि उनलाई विश्वास लागेको थिएन ।

‘उहाँ हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ’, प्रतिभाले भनिन्, ‘आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।’

दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । ‘त्यो बेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन’, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भनिन्, ‘सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।’

श्रीमान् गुमाउनुको पीडासँगै प्रतिभालाई छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमानको सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । ‘म आफ्नो भविष्यबारेमा अहिले केही भन्नसक्ने अवस्थामा छैन ।’

दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । ‘अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ’, प्रतिभाले पीडा सुनाइन् ।

सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुल्न सकिरहेकी छैनन् । ‘भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेकी थिएँ’, उनले भनिन्, ‘तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।’ गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन् ।

अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि थिए । दुई साताअघि दुबईबाट नेपाल आएका शाही तत्काल काम विशेषले केरला पुगेका थिए । अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाएका थिए ।

प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा. सुशील श्रेष्ठ, बुहारी डा. सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए ।

सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन् ।

‘मानवीय त्रुटिका कारण भएको दुर्घटनाका दोषीले सजाय पाउनै पर्छ’, उनले भने ।

दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ ।

आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो