पढ्न करिब 2 मिनेट लाग्छ

विनोद सिंह विष्ट । मङ्सिर २५, बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् ।

बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो ।

बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफुल मात्रै होइन पकाएको खाना र बजारबाट किनेर ल्याएका सामान समेत बाँदरले लग्ने गर्दा स्थानीय बासिन्दा आतङ्िकत बनेका हुन् । बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको पार्वती चन्दको भनाइ छ ।

बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खाना समेत नष्ट गर्न थालेको नगरपालिका–८ त्रिपुराका हिम्मत चन्दले बताउनुभयो । “वर्षौँदेखि गाउँमा बाँदर आतङ्क छ”, उहाँले भन्नुभयो, “अन्नबाली बाँदरले सखाप पार्न थालेपछि खेतीपाती गर्न छाडेका छौँ ।”

खेतमा लगाएको बालीनाली मात्रै नभएर भान्छामा पकाएको खाना समेत बाँदरले लग्ने गरेको नगरपालिका–५ का स्थानीबासी डम्बर टमाटाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरको एकजना मान्छे दिनभरि घरमा बाँदरका लागि कुरुवा बस्नुपरेको छ ।”

यहाँका स्थानीयले बाँदरका कारण खेत बाँझै छाडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि विगत पाँच/छ वर्षदेखि खेतमा बालीनाली नलगाई बाँझै छाडिएको स्थानीय तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

बाँदरले सबै फलफूल समेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । यो मौसममा लाखौंँको सुन्तला, मौसम, अमिलो फल फल्ने यी क्षेत्रमा अहिले एक दाना पनि नभएको स्थानीयवासीले बताएका छन् ।

बाँदर आतङ्क रोक्न नगरपालिका–५ ले गतवर्ष रु एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाएको भए पनि फेरि बाँदर फर्केर आएको वडाध्यक्ष भट्टले बताउनुभयो । नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्कलाई पहिलो प्रकोपको रूपमा स्तरीकरण गरिएको छ ।

बाँदर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नगरपालिकामा छलफल भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । बाँदरको आतङ्क बढेपछि नगरपालिकाले गतवर्ष बाँदर धपाउने अभियान शुरु गरेको थियो, तर त्यो सफल हुनसकेको छैन् ।

स्थानीय मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर लखेट्ने अभियान चलाएको भए पनि बाँदर लखेट्ने प्रयास सफल हुन नसकेको हो ।

भारतको काशी तथा वाराणसीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडेको र त्यसपछि जिल्ला सदरमुकाममा बाँदरको आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ छ । रासस