२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा

२०७८, २९ असार मंगलवार ०५:२६

असार २९, टीकापुर (रासस)। कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

शाहीपुरमा नदीले तीव्र कटान गरेपछि रोकथामका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । नदी कटान भएर बस्तीमा पसेमा नगरपालिकाका चार वडा खतरामा पर्ने देखिएको छ । नदी कटान भएमा वडा नं ५, ६, ७ र ८ का नागरिक प्रभावित हुनेछन् । सिँचाइ आयोजनाले छ वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको छ । गत वर्ष पनि सो तटबन्ध भत्किएपछि आयोजना, नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जैविक तटबन्ध गरेर बस्ती जोगाइएको थियो । आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइको तटबन्ध नदीले कटान गर्दा गत वर्ष झण्डै दुई मिटर मात्रै बाँकी थियो । 

यस वर्ष पनि तटबन्ध निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गरिसकेको जनाएको छ । “तत्काल कटान शुरु भएपछि सोमबार सिँचाइ आयोजनाका प्राविधिकले निरीक्षण गरेका छन् । केही रोकथामका लागि स्थानीय सरकारले पहल गरेमा अस्थायी तटबन्ध गरेर बस्ती जोगाउन आयोजनाले सघाउने भनेको छ”, टीकापुर–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारूले भन्नुभयो, “नदी कटान हुँदा कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ । नदी कटान तत्काल नरोके टीकापुर–५ को शाहीपुर र सिम्रेनी, ६ का केही भाग, ७ को सत्ती र ८ को धनसिंहपुर प्रभावित हुनेछन् । हजारौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुनेछ । क्षतिको अनुमान गर्नै सकिँदैन ।”

नदी कटान शुरु भएपछि वडाध्यक्षले सम्बन्धित निकायमा जानकारी गराएको बताउनुभएको छ । केही दिनअघि नगरपालिकाको विपद् समितिको बैठकले समेत कटानको जोखिम रहेका क्षेत्रमा जैविक तटबन्ध गर्ने निर्णय गरेको थियो । नगरप्रमुख तपेन्द्रबहादुर रावल नदीले धार परिवर्तन गरिरहेका कारण नदी कटान रोक्न निर्माण गरिएका तटबन्ध हरेक वर्ष भत्कन थालेको बताउनुहुन्छ । “हामीले आगामी दिनमा भौतिक संरचना बनाउँदा दिगोपनमा ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “अघिल्लो वर्ष बनाएका संरचना अर्को वर्ष नदीमा पानी बढ्दा बगेर जान थालेका छन् । यसले बस्ती थप जोखिममा पर्छ ।”

कर्णाली नदी कटानले टीकापुरको शाहीपुरमात्र होइन, वडा नं २, वडा नं ८ को श्रीलङ्का, सत्ती पुलसमेत जोखिममा छ । केही दिनअघि सत्ती पुलको बर्दियातर्फ कटान गरेपछि छ दिन अवरुद्ध भएको थियो । तत्कालका लागि अस्थायीरूपमा मर्मत गरेर पुल सञ्चालन भएको छ । स्थानीयवासी रुपेश बुढा सरकारले समयमै नदी नियन्त्रणका लागि दीर्घकालीन योजना अघि नसारे कैलाली र बर्दिया जिल्ला नदीकै कारण जोखिममा पर्ने बताउनुहुन्छ । “नदी कटानले बर्सेनि हजारौँ बिघा जमीन कटान हुने गरेको छ । नदी तटीय क्षेत्रका नागरिक बर्सेनि विस्थापित हुन थालेका छन्”, बुढाले भन्नुभयो, “यसले खेतीयोग्य जमीन बाँझो रहने गरेका छन् । नागरिक र धनजनको सुरक्षाका लागि समाधानतर्फ सबैको ध्यान जानुपर्छ ।” 

नदी तटीय क्षेत्रका नागरिक बर्सातको समयमा रातभरि सुत्न नसक्ने अवस्था आएको टीकापुर–५ शाहीपुरका गगनसिंह ठकुल्लाले बताउनुभयो । “नदी कटान शुरु भएपछि कतिखेर नदी गाउँ पस्छ भन्ने खतरामा नागरिक निदाउन सकेका छैनन्”, ठकुल्ला भन्नुहुन्छ, “त्रासमा बस्नेहरुको जीवन कस्तो होला । उनीहरुको स्वास्थ्य, रहनसहन बिग्रिएको छ । नदी नियन्त्रणका लागि पहल गरिदिन अनुरोध छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ