पुस २०, काठमाडौँ | रासस | महोत्तरीकाे एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच छन्। उनकाे परिवारका काेहीसँग पनि शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन्। घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसकेका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि बस्न बाध्य छन्।

चरम गरिबीले छोएको त्यस परिवारमा स-साना बालबालिका गरी १३ जना थिए। तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको छैन। त्यसैगरी महिलाहरू अनिवार्य रुपमा इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक थप लत्ताकपडामा भेटिएनन् । पुरुषहरू पनि आधा-अधुरा च्यातिएको लुगाफाटाले सकीनसकी आफूलाई चिसोबाट जोगाउने प्रयत्न गरिरहेका छन्। सञ्चारकर्मीलाई देखेर बालबालिका दगुर्दै ‘केही बाँड्ने मान्छे आयो’ भन्दै आए। हुकुमाले परैबाट ‘हजुर जे लाइलछी से ओकरेसबके ददिऔ’ (हजुरले जे ल्याउनुभएछ, त्यो उनीहरुलाई नै दिदिनुहोस्) भन्दै कराए।

उनकै छिमेकी सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुटाले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लाष्टिकबाट ठाउँठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रामा चिसोसँगै लड्दै छन्। उनले घरभरि आफू र आफ्ना सन्तानको जीउ न्यानो पार्न र राति सुत्नका लागि पराल ओछ्याएका छन्। ओढ्नका लागि जुटका ठूलाठूला बोरामा पराल कोचेर राखेका छन्। कुनै छोराछोरीका जीउमा पनि पूरा लत्ताकपडा छैन। घरभित्रैबाट चिसाले काँप्दै सीताले रुँदै भनिन्, ‘हजुर हमरा सबल केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ (हजुर हामीकहाँ कोही आउँदैनन् । जाडाले मरिरहेछौँ तर पनि कसैलाई कुनै मतलब छैन)।

उनले आफू तीन वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै सोही झुप्रामा दिन बिताउन बाध्य रहेको बताए। ‘ठूलो परिवार भएकाले खानपानकै जोहो त गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनू ?’, उनले थप पीडा पाेखे।

उनी र उनका सन्तान पनि सञ्चारकर्मीलाई देखेर असहनीय चिसाको बेला आफ्नो बस्तीमा कुनै कुरा बाँड्न आएका व्यक्ति सम्झेर माग्न थाल्छन्। त्यहीँ नजिकै चार वर्षदेखि दमरोगकी शिकार अनरियादेवी सदा झोत्रो कम्बल ओढेर काँप्दै थिइन्। उनले आफूलाई पति र छोराछोरीले समेत राम्ररी हेरचाह नगरेको भनी सहारा मागिन्। उनले भनिन्, ‘हजुर मलाई पनि आफूसँगै लग्नुस्, नत्र यहाँ केही दिनमै मर्छु । मलाई बिरामीले धेरै च्यापिसकेको भए पनि मेरो उपचार न त पतिले गराउँछन् न छोराछोरीले नै मलाई माया गर्छन्’।

उनले आफूलाई चिसो मौसमको दुश्मन दम रोगबाट मुक्ति दिलाइदिन पनि आग्रह गर्दै भनिन्। उनले तातो र पोषिलो खानाको अभावसँगै आफू दुई-दुई दिनसम्म भोकभोकै पनि रहने गरेको दुखेसो गरिन्।

उनीजस्तै सोही ठाउँ बस्ने ४५ वर्षीया कोशिला सदा दुई सातादेखि राति सुत्न पाएकी छैनन्। भनिन्, ‘ दिनभरि जसोतसो काटे पनि राति आगोकै सहाराले नै बाँच्दै आएको छु।’ दुई सातादेखिको चिसो स्याँठबाट बालबालिका र आफूलाई बचाउन रातभरि पातपतिङ्गरको घुर जलाएर सुत्नेगरेको बताउँदै उनले आगो बालेर सुत्दा जल्ने, पोल्ने डरले बालबालिकालाई सुताए पनि आफू खासै नसुत्ने गरेको सुनाइन्।

गरिबीका कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका पति दिनभरि मजदूरी गरेर कमाएको पैसामध्ये आधा मदिरामा उडाइदिने गर्छन्। आधा पैसाले जहानपरिवारका लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाले न्यानो लुगाफाटा र पोषिलो खानेकुरा पाएका छैनन्। यस वर्षमात्रै नभएर वर्षौँदेखि आफूहरूले जाडो याममा यसैगरी समय काट्ने गरेको पाँच सन्तानकी आमा कोशिलाले बताइन् । दिनमा घाम लागे खुसी हुने र साँझ ढल्दै गर्दै दुःखी भई रातभरि घुरमा आगो तापेर रात बिताउने उनको दिनचर्या बनिसकेको छ।

बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्ती नजिकै धान खेतमा धान बढार्दै गरेकी ७२ वर्षीया भुटीदेवी सदाले पनि टाढैबाट कराउँदै आफ्नो पीडा सुनाइन्, ‘हजुर, खान पाएकी छैन । घरमा अन्नपात छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन, यस्तोमा निष्ठुरी जाडोले ज्यानै लिन लागेको छ।’ ‘कहाँ जाऊँ, के गरूँ र कसरी बाँचूँ ‘ भन्ने चिन्ताले पिरोलिएकी उनी घरी आगो ताप्ने र घरी धान बढार्दै थिइन्। उनले दैनिक रुपमा मजदूरी गरेपछि मात्रै घरमा खानपिनको व्यवस्था हुन्छ। एकदिन पनि मजदुरी नगरेमा सात बालबालिकासहित ११ जनाको परिवारका सबै सदस्य भोकभोकै बस्नुपर्ने उनको दुखेसो छ।

‘अहिले कठ्याँग्रिदो जाडोमा कहिले काम पाइन्छ भने कहिले कामै पाइँदैन । काम नपाइएमा परिवारजन भोकै बस्छन्’, भुटीले थपिन्, ‘हजुर कोही दाता छन् भने हामीलाई कम्तीमा एक महिनाका लागि राहत दिलाइदिनुस्। एक महिनामा जाडो हटेर गएपछि पुनः रोजगारी गरेर खान्छु तर अहिले रोजगारी गर्नू कि ज्यान जोगाउनू ?’

उनीसँगै अर्को खेतमा एउटा हातै नभएका ११ वर्षीय बालक पनि धान बढार्दै थिए। किशन सदा नाम गरेका उनले पनि जीउमा च्यातिएको आधा लुगा मात्रै लगाएका थिए । कठ्याङ्गिँ्रदै एउटै हातले धेरथोर धान बटुल्दै गरेका उनी पनि परैबाट भन्दै थिए, ‘हजुर, राहतमा मेरो पनि नाम लेखिदिनुस्, मैले पनि दुई दिनदेखि खान पाएको छैन। मेरो पनि घरमा आमा, तीन दिदीभाइ र मलगायत पाँच जना छु तर कमाउने कोही नहुँदा एउटै हातले भए पनि काम गरेपछि मात्रै खान पाउँछु।’

त्यही बस्तीभित्रै सानो खरको झुप्रोभित्रै पराल ओछ्याएरै दुईमहिने बालकलाई झुत्रो लुगामा बेरेर सुताइएको छ। उनका अभिभावक सिकिन्दर सदा भन्दै थिए, ‘हजुर आफैँ त कठिनसँग जाडो सहन सकिरहेको छु तर यत्रो सानो बच्चालाई कसरी जोगाउनू ? डर हुन्छ कहीँ केही नराम्रो नभइहालोस्। घरमा चारैतिरबाट हावा पस्छ। जाडाले मुटु नै हल्लाउँछ । यस्तोमा ओढ्ने, ओछ्याउने नहुँदा मनै रोएर आउँछ। कसैगरी कतैबाट पनि राहत दिलाइदिनुस्।’

बस्तीका ललित, सरोज, वकिल, जोगिया, दिनेश, कृष्णा, सुरेन्द्र, रामस्नेही, सुमिन्त्रादेवी, पवित्रीदेवी, विदेही, मनतोरियादेवी सदासहित १०० परिवार मुसहरको अवस्था त्यस्तै छ। जुनसुकै व्यक्तिका घरमा जाँदा पनि सबैको उस्तै पीडा देखिन्छ । अभावैअभावमा जीवन काटिरहेका उनीहरूको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ। चिसो छल्न समयमै उनीहरुलाई न्यानो लुगाफाटा र पोषिलो खानेकुरासहितको राहतको व्यवस्था गरिएन भने बस्तीमा मानवीय क्षति हुन बेर नलाग्ने बस्तीका अगुवा रजिन्द्र सदाले बताए।

वडाध्यक्ष रामविलास रायले चिसो पीडितलाई राहत दिन वडामा केही पनि नरहेको बताए। उनले भने , ‘मैले चाहेर पनि मुसहरहरूका लागि तत्कालै केही गर्न सक्दिन, वडा सञ्चालनबाहेक हामीसँग कुनै थप बजेट छैन, सबै कार्यक्रम गाउँपालिकामै सीमित छ । पीडितको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदै केही गर्ने प्रयास भने अवश्य गर्ने छु ।’

गाउँपालिकाका अध्यक्षमा भने रामछविला साह तथा जिल्लाको निर्वाचन ३ मा पर्ने यस क्षेत्रबाट सङ्घीय सांसदमा महन्थ ठाकुर र प्रदेश २ प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी निर्वाचित भएका छन्।

रोग, भोक र कठ्याङ्ग्रिँदो चिसोबाट ज्यान गुमाउन लागेका मुसहरको उद्धार र राहतका लागि गाउँपालिका अध्यक्ष, सङ्घीय सांसद र प्रदेशसभा सदस्यले अहिलेसम्म कुनै पहल गरेको गुनासो एकै स्वरमा सबै मुसहरले गरेका छन्। उनीहरूका अनुुसार अहिलेसम्म कुनै एनजिओ र आइएनजिओसमेत तिनको हालखबर सोध्न वा कुनै किसिमको राहत बाँड्न आएका छैनन् ।

मुसहरहरूले आउँदो निर्वाचनमा आफ्नो बस्तीमा मत माग्न जानेलाई आफूहरुले यसै विषयबारे प्रश्न सोध्ने बताए। निर्वाचन भएको चार वर्ष बित्न लाग्दा पनि आफूहरुका लागि अहिलेसम्म जनप्रतिनिधिले कुनै कार्यक्रम नल्याएको र कुनै सहयोग नगरेको बस्तीका अगुवा रजिन्द्रले बताए। उनीसहित सम्पूर्ण बस्तीका पीडितले आफूहरूलाई बढ्दै गरेको चिसोबाट जोगाउनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकार पक्षसमक्ष आफ्ना कुरा पुर्याइदिन सञ्चारकर्मीलाई आग्रह पनि गरे।

मुसहर बस्तीमा चिसोको प्रहारः लुगा छैन, चुलो बल्दैन !
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment