पढ्न करिब 3 मिनेट लाग्छ

साउन २३, पोखरा | पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको थियो । यो विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्नेछ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अलावा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पनि सञ्चालनमा छ । गत आर्थिक वर्षमा मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७८ साल चैतमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । विमानस्थलको साँचो हस्तान्तरणलगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थल निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गरेका थिए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको योजना अन्तर्गत पर्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीका अनुसार करिब २१ अर्ब ६१ करोडको परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

अन्तिम चरणमा रहेको फिनिसिङ, रंगरोगनलगायतका केही काम रहेको भन्दै प्रमुख मुनानकर्मीले कामदार तथा निर्माण सामग्री समयमै व्यवस्थापन गर्न नसक्दा निर्धारित समय सीमाभित्र उक्त परियोजना सम्पन्न गर्न कठिन भएको जनाए ।

सन् २०२१ को जुलाई १० अर्थात् गत असार २६ गतेभित्र पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुने गरी चीनको सीएएमसी कम्पनीले जिम्मा लिए पनि कोरोनाका कारण समय सीमाभित्र नसकिएकाले कम्पनीले ६ महिना समय थप गर्न प्रस्ताव गरेको थियो ।

पोखरामा हाल निर्माण भएको दुई हजार पाँच सय मिटर लम्बाइको रनवे, रनवेको चौडाइ भने ४५ मिटरको रिजिट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनमार्ग अन्य क्षेत्रको भन्दा फरक भएको आयोजनाको दाबी छ । ४१७–१२९ मिटर क्षेत्रफलको अन्तर्राष्ट्रिय एप्रोन हाल निर्माण भए पनि भविष्यमा पुन: विस्तार गर्ने योजना अनुरुप १५०–१५२ मिटरको जग्गासमेत व्यवस्थापन गरिएको छ ।

८ हजार अन्तर्राष्ट्रिय र ६ हजारजतिे आन्तरिक पर्यटकका लागि, कन्ट्रोल टावर १ सय १७ मिटरको, फायर फाइटिङ क्याटगोरी एटको साथमा एउटा एम्बुलेन्ससमेत व्यवस्था गर्ने विमानस्थालको योजना छ ।

आयोजनाको सबैभन्दा ठूलो करिब ६ सय ५० सिट क्षमताको टर्मिनल भवन, टावर, कार्यालय भवन, कार्गो भवनसहित १४ वटा भवनको निर्माणकार्य सम्पन्न भएको आयोजनाको दाबी छ । सन् २०१७ जुलाईबाट उक्त परियोजनाको निर्माण कार्य सुरु भएको हो । हालसम्म पोखरामा १ सय ५० देखि २ सय सिट क्षेमताका न्यारोबडी जहाज आउने गरी विमानस्थल निर्माण कार्यसँगै छिट्टै सञ्चालन गर्ने तयारी गरिएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।