पढ्न करिब 1 मिनेट लाग्छ

माघ १, पोखरा | पोखरामा भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ ।

दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि खसेको हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो ।

पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।

‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो’ एक उद्धारकले भने, ‘एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो ।’

अर्का एक प्रत्यक्षदर्शीका अनुसार प्लेनको पखेटा तलमाथि भएर आएको थियो । ‘हामी ३ जनासँगै थियौं । पाइलटले सेफ ठाउँ खोज्दा खोचमा खस्यो’ उनले थपे, ‘पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेर अर्को दुर्घटना जोगाउन हरसम्भव प्रयास गरेको देखियो ।’

प्रत्यक्षदर्शीका अनुसार प्लेन जमिनमा बजार्ने बेलामा ठूलो आवाज आएको थियो । उनका अनुसार, ‘पहिले आफ्नो घरतिरै खस्ला जस्तो गरी जहाज आइरहेको थियो । तर जहाज हल्लिंदै सेती खोंचमा बजारिन पुग्यो ।’