काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अर्को मुद्दा पनि थपिएको छ । गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ । उक्त मुद्दा चलाइएको भन्दै मिश्रले आपत्ति जनाएका छन् । बिहीबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि पुर्याइएका मिश्रले न्यायाधीशसमक्ष राज्यले पुनः आफूमाथि कालो टिका लगाइदिएको बताए ।
‘आज ४२ औं दिन राज्यले मेरो निधारमा फेरि तेस्रो कालो टिका लगाइदिएको छ । ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरको टिका बोकेर हिँडेको थिएँ,’ मिश्रले न्यायाधीशसमक्ष भनेका छन्, ‘फेरि आपराधिक उपद्रवको टिका लगाइएको छ । त्यो टिका पुछ्ने अधिकार, निष्ठा यो न्यायालय र बेञ्चमा हुन्छ भनेर केही कुरा राख्छु ।’