२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै दुईवटा कसुरमा मुद्दा दर्ता

१८ पुष २०८१, बिहीबार १७:५३

काठमाडौँ | सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध ५७ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

सरकारी वकिल कार्यालय सप्तरीले जिल्ला अदालत सप्तरीमा साहलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको छ । बलात्कारको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको सजाय माग दाबी गरिएको छ । जअनुसार उनीविरुद्ध १० वर्षसम्मको कैद माग दाबी गरिएको छ ।

त्यस्तै, सामूहिक बलात्कार भएकाले दफा २१९ (७) बमोजिम थप सजाय पनि माग गरिएको छ । सामूहिक बलात्कारमा थप पाँच वर्ष कैद हुने व्यवस्था छ । जसअनुसार उनीविरुद्ध बलात्कारको कसुरमा १५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय माग दाबी गरिएको छ । जन्मकैदमा २५ वर्ष कैद हुने व्यवस्था छ । जसकारण बलात्कारपछि हत्यामा उनीविरुद्ध ४० वर्ष कैद साजय माग दाबी गरिएको छ ।

यसका साथै उनले अर्का एक व्यक्ति अपहरण गरी बेपत्ता पारेकाले अर्को मुद्दा पनि चलाइएको छ । मुलुकी फौजदारी अपराधसंहिताको दफा २०६ (१) (२) (ख) र (६) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यसमा दफा २०६ (७) (क) बमोजिम थप सजाय माग दाबी गरिएको छ ।

दफा २०६ (७) (क) अनुसार अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । सोहीअनुसार उनलाई अधिकतम सजाय मागदाबी गरिएको छ ।

साहले बेपत्ता पारेको आरोप लागेका नीतिशकुमार साह नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप सजाय माग दाबी गरिएको छ । जसअनुसार दफा २०६ (७) (क) मा हुने सजायमा थप दुई वर्ष कैद सजाय हुने दफा २०६ (८) मा उल्लेख छ । छुट्टाछुट्टै कसुरमा गरेर उनीमाथि ५७ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।

अपहरण गरी व्यक्ति बेपत्तामा वडाध्यक्ष साहसहित ६ जना र बलात्कारपछि हत्यामा उनीसहित सातजनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्धको मुद्दा जिल्ला अदालत सप्तरीका न्यायाधीश दीपक धितालको इजलासमा सुनुवाइ भइरहेको छ ।

आज बिहीबार थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भोलि शुक्रबार थुनछेक बहस सकिएको अवस्थामा साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये एक आदेश आउने छ ।

२० मंसिरमा उनी वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए । साहसहितको समूहले कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नीतिशकुमारलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ ।

यो घटना २०७९ फागुनको हो । १७ फागुनमा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैचाबाट मुखमा रुमाल कोचेर नीतिशलाई अहपरण गरी लगेको आरोप छ । त्यसयता नीतिश बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै