पढ्न करिब 1 मिनेट लाग्छ

असोज २, कपिलवस्तु।विभिन्न संघ संस्था र व्यक्तिले कपिलवस्तुको ठूलो क्षेत्रफलको वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ ।

जिल्लाको कूल ६२ हजार २११ हेक्टर वनमध्ये १० हजार ६४४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जिल्ला वन कार्यालयले जनाएको हो ।

वन कार्यलयका उपसचिव कृष्णराज न्यौपानेकाअनुसार उत्तरी क्षेत्रका दुबिया, वाणगंगा, महेन्द्रकोट, बूढी, जयनगर, वरकलपुर, भलवाड, धनकौली, पटनालगायतका स्थानमा अस्पताल, विद्यालय, विभिन्न संघसंस्था र व्यक्तिले वन अतिक्रमण गरेका हुन् ।

यस्तै तिलौराकोट, निग्लिहवा र शिवपुरलगायतका क्षेत्रमा पनि वन अतिक्रमण भएको वन कार्यलयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बाणगंगा नगरपालिकाको पटना क्षेत्रमा करिब तीन हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको उपसचिव न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लामा आव ०४७÷४८ मा सात हजार ७०० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकामा त्यसयता झण्डै थप चार हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

कार्यालयले पछिल्लो पाँच वर्षको अवधिमा ७१५ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएर वृक्षरोपण गरेको जनाएको छ ।

वन क्षेत्रमा अतिक्रमण बढेपछि रोक्ने प्रयास गरिए पनि पुरानो बस्ती, वैकल्पिक स्थान अभाव र राजनीतिक हस्तक्षेपले अवरोध भएको बताइएको छ ।

वन क्षेत्र अतिक्रमण गर्नेलाई वन अतिक्रमण ऐन २०६८ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको र कतिपयलाई कारबाहीसमेत गरिएको कार्यालयले जनाएको छ ।

रासस