2026-09-22 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम तालमेल सकसः दाङ क्षेत्र नम्बर २ मा पोखरेल कि महरा ?

असोज २३, दाङ । संविधानसभाको पहिलो निर्वाचनमा दाङमा विजयमाला पहिरिएर दोस्रो निर्वाचनमा रोल्पा उक्लिएका माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा निर्वाचनका लागि पुनः दाङ ओर्लिने मनस्थितिमा छन् । 

त्यो पनि आफ्नो पुरानै निर्वाचन क्षेत्र साबिकको ३ र अहिलेको २ नम्बर क्षेत्र । माओवादीले महराको नाम पहिलो नम्बरमै सिफारिस ग¥यो । महराको दाङबाट निर्वाचन लड्ने योजनाले एमाले नेता शंकर पोखरेलको सहज जित निकाल्ने आत्मविश्वासमा केही चुनौती थपियो । यस क्षेत्रमा पोखरेल उम्मेदवार बन्ने निश्चित भइसकेको थियो ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी नेता केन्द्रका कृष्णबहादुर महरा र एमाले नेता शंकर पोख्रेलबीच कडा प्रतिस्पर्धा त छ नै, तर निर्वाचनमा जितहारभन्दा पनि दुई पार्टीको तालमेलपछि अब टिकट कसले पाउने भन्ने बहस तातेको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी नेता केन्द्रका कृष्णबहादुर महरा र एमाले नेता शंकर पोख्रेलबीच कडा प्रतिस्पर्धा त छ नै, तर निर्वाचनमा जितहारभन्दा पनि दुई पार्टीको तालमेलपछि अब टिकट कसले पाउने भन्ने बहस तातेको छ । दुवै पार्टीका नेताहरू भन्छन्, ‘हेरौं, पार्टीको माथिल्लो तप्काले कस्तो निर्णय लिन्छ ?’

उपप्रधानमन्त्री महराका लागि माओवादीले अहिलेको दुई नम्बर चुनावी क्षेत्र सबैभन्दा सुरक्षित मान्दै आएको छ । पहिलो संविधानसभा निर्वाचनमा सहज जित निकालेको परिणामलाई पुनः अहिले सहजै क्यास गर्न सक्ने माओवादी विश्वास हो । 

‘महराजस्तो नेता दाङले पाउनु खुसीको कुरा हो,’ माओवादी नेता निर्मल आचार्यले नागरिकसंग भने, ‘उहाँका लागि जिल्लाका अरू क्षेत्रभन्दा पनि अहिलेको दुई नम्बर नै सबैभन्दा बढी उपयुक्त हो ।’ माओवादीले महराको दाङ आगमनलाई प्रादेशिक राजधानी बलियो बन्ने आधारका रूपमा समेत लिएको छ । यसर्थ दुई नम्बर क्षेत्रमै माओवादीको जोडबल बढी छ । महरा २०४८ सालमा जनमोर्चाबाट रोल्पा २ मा निर्वाचित भएका थिए । 

त्यसपछि २०६४ को पहिलो संविधानसभामा उनी दाङको तत्कालीन ३ नम्बर क्षेत्रबाट विजयी भए । दोस्रो संविधानसभा निर्वाचनमा उनले दाङ भन्दा रोल्पालाई आफ्नो बलियो आधार मानेर उक्लिए र रोल्पा १ नम्बर क्षेत्रबाट उनी विजयी भए ।

तर यसपाला रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र कायम गरिएपछि उनका लागि दाङ निर्विकल्पजस्तै बन्यो । किनकि रोल्पामा माओवादीकै अर्का नेता वर्षमान पुन प्रतिनिधिसभा उम्मेदवारका लागि तयार भएर बसिसकेका थिए । हुन त माओवादी रोल्पाले भने महराकै योजनामुताबिक वर्षमान रोल्पाबाट उम्मेदवार चुनिएको दाबी गर्छ । 

‘रोल्पाबाट अहिलेसम्म चुनाव लड्न नपाएका वर्षमानजी अहिले रोल्पाबाट चुनाव लड्नुपर्छ भनेर सुझाव दिने मान्छे महराजी हो,’ माओवादी रोल्पाका इन्चार्ज दीपेन्द्र पुनले भने, ‘महराजीले रोल्पामा ठावैं नपाएर दाङ झरेको भनेर चलाइएको हल्ला निराधार हो ।’

वामगठबन्धनले महरालाई दाङको २ का लागि टिकट नदिए यहाँका बाँकी दुईवटा निर्वाचन क्षेत्र उनका लागि त्यति सहज मानिँदैनन् । यहाँको १ नम्बर चुनावी क्षेत्र देउखुरी क्षेत्र हो । जहाँ थारू मतदाता बढी छन् । 

थरुहट आन्दोलनको उद्गमथलोकै रूपमा रहेको देउखुरी क्षेत्रले माओवादी उम्मेदवारलाई कतिसम्म सहयोग गर्छ भन्ने चुनौतीको सहजै आकलन गर्न सकिन्छ । त्यसमा पनि थरुहट आन्दोलनका अगुवा  योगेन्द्र चौधरीको गृहथलो यस क्षेत्रमा उनी स्वयं चुनौती बन्न सक्ने देखिन्छ ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र पनि यही क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन् । ‘मलाई पार्टीले सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ,’ योगेन्द्रले भने, ‘हेरौं, पार्टीले कस्तो निर्णय लिन्छ ?’  यसैगरी कांग्रेस नेता खुमबहादुर खड्काको निर्वाचन क्षेत्र पनि यही भएकाले महराको प्रभाव स्थापित हुन सक्ला या नसक्ला यसै भन्न सकिने अवस्था छैन ।

दाङको निर्वाचन क्षेत्र ३ नेपाली कांग्रेसको बलियो मानिन्छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, पूर्वसांसद गेहेन्द्र गिरी तथा हालका श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीको यो क्षेत्र पनि महराका लागि सहज छैन । 

पहिले निर्वाचन जितेको २ नम्बर चुनावी क्षेत्रलाई बलियो आधारका रूपमा देखेका महराका लागि वाम तालमेलले फुस्किने हो कि भन्ने चिन्ता माओवादी कित्तामा छ । महराले यसै कारण पनि वाम तालमेलप्रति असन्तुष्टि पोखेको हुन सक्ने आकलन गरिएको छ ।

महराले ताकेकै २ नम्बर निर्वाचन क्षेत्रलाई आफ्नो चुनावी क्षेत्र बन्ने विश्वासमा रहेका एमाले नेता शंकर पोख्रेल त यो निर्वाचन क्षेत्र नपाए अन्यत्रबाट चुनावै नलड्ने मनस्थितिमा पुगेको एमाले नेताहरू बताउँछन् । यही निर्वाचन क्षेत्रमा चुनाव लड्दै आएका पूर्व सञ्चार मन्त्री तथा एमाले पूर्वसचिव पोख्रेल यसपटक पनि आफ्नो चुनावी क्षेत्रभन्दा कतै टाढा नजाने एमालेका एक नेताले बताए । 

‘शंकर पोख्रेलजी यो चुनाव क्षेत्रभन्दा अन्त जानु हुन्न,’ एमाले दाङका सचिवालय सदस्य मनोहर बुढाथोकीले भने, ‘किनकि विगतदेखि नै उहाँ आफ्नो क्षेत्रभन्दा कतै बाहिर जानु भएन ।’ टिकट वितरणमा अन्यथा भए पोख्रेल चुनावै नलड्नेसम्मको मनस्थितिमा रहेको उनले बताए । ‘अन्यथा चुनावै लड्नु हुन्न होला, मलाई त्यस्तो लाग्छ,’ बुढाथोकीले भने ।

यी दुई नेताहरूको चुनावी टिकट रेसका कारण निर्वाचनमा एकले अर्कोलाई सहयोग गर्ने वातावरण निर्माण हुन्छ कि हुँदैन भन्ने बहस पनि सुरु भएको छ । केही दिनअघिको यहाँको एक कार्यक्रममा एमाले नेता पोख्रेलको भाषणलाई लिएर माओवादी कित्ताबाट असन्तुष्टिसमेत सार्वजनिक भएका थिए । विभिन्न आन्दोलनबाट विफल हुँदै आएको माओवादी अन्ततः एमालेमा समाहित हुन आइपुगेको अभिव्यक्ति पोख्रेलले दिएको भन्दै उनको आलोचनासमेत भएको थियो । पोख्रेलले त्यो आरोपको खण्डनसमेत गरेका थिए ।

‘टिकट वितरणमा ख्याल गरिएन भने त्यसको असर निर्वाचनमा पक्कै पर्छ नै,’ एमालेका एक कार्यकर्ताले भने, ‘यसर्थ महराजीलाई अरू निर्वाचन क्षेत्रमा समाहित गरेर २ मा भने पोख्रेलजीको विकल्प खोजिनु हुन्न ।’ तर दोस्रो बरियताका नेता महराको उम्मेदवारी निश्चय हुने हो कि भन्ने शंकामा एमाले नेताहरू छन् ।

वाम तालमेलपछि रोल्पामा पनि हेभिवेट नेताहरूको उम्मेदवारीमा जटिलता थपिएको छ । रोल्पामा माओवादी नेता वर्षमान र एमालेका सचेतक गोकुल घर्ती आआफ्नो पार्टीबाट उम्मेदवार सिफारिस भइसकेका छन् । तथापि माओवादीको गढ रोल्पामा एमाले ब्याक हुन सक्ने देखिन्छ । तर यसका लागि दाङ २ मा शंकर पोख्रेलको उम्मेदवारी निश्चित हुनुपर्ने सर्त एमालेले राखेको छ । 

रोल्पाबाट उम्मेदवार सिफारिस भएका एमाले सचेतक घर्तीले रोल्पामा एमाले ब्याक हुन सक्ने तर दाङ २ मा एमाले निश्चित हुनुपर्ने बताए । ‘माओवादीको बलियो पकड पनि रहेकाले प्रतिनिधिसभाका लागि माओवादी र प्रदेशमा एमालेलाई मिलान गरेर जान सकिन्छ,’ उनले भने, ‘तर दाङ २ मा भने माओवादीले आफ्नो ढिपी छोड्नुपर्छ ।’

रुकुमका दुई (पूर्वी र पश्चिमी) जिल्लामा आआफ्नै उम्मेदवार चयन गरिसकेका एमाले–माओवादीले पनि उचित मिलान हुनुपर्ने अडानमा छन् । माओवादीले एक निर्वाचन क्षेत्रमा समेटिएको पश्चिम रुकुममा जनार्दन शर्मालाई उम्मेदवार सिफारिस गरेको छ भने पूर्वी रुकुममा गणेशमान पुनलाई सिफारिस गरेको छ । नन्दराम देवकोटालगायतलाई पश्चिमी रुकुमबाट सिफारिस गरेको एमालेले पूर्वी रुकुममा टोपबहादुर ओलीलाई सिफारिस गरेको छ । 

तर एमाले दुईवटै जिल्लामा एकपक्षीय निर्णय मान्य नहुने बताउँछ । ‘एकलौटी ढंगले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने कुरा हुँदैन,’ एमाले जिल्ला अध्यक्ष विमलकुमार पुनले भने, ‘हाम्रो पनि दाबी रहन्छ ।’ -नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो