कात्तिक ९, काठमाडौँ प्रमुख सत्तारुढ दल कांग्रेस सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका दलहरूसँग दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने भएको छ ।
सरकारमा सहभागी राप्रपा र राप्रपा प्रजातान्त्रिक तथा सरकारलाई समर्थन गरेका राजपा र संघीय फोरमसँग कसरी तालमेल गर्ने विषयमा कांग्रेस संसदीय समिति बैठकमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक गठबन्धननिकटका दलहरूसँग कहाँ–कहाँ पार्टीले सहयोग माग्ने र कहाँ–कहाँ उनीहरूलाई सहयोग गर्ने भन्ने विषयमा सम्बन्धित पार्टीका प्रतिनिधिसँग बसेर टुंग्याउने निष्कर्ष निस्किएको कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाणले जानकारी दिए ।
‘२१ मंसिरमा दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सत्तासाझेदार र समर्थक दलसँग पार्टीले कहाँ–कहाँ सहयोग माग्ने र कहाँ–कहाँ सहयोग गर्ने भन्ने विषय सम्बन्धित पार्टी प्रतिनिधिसँग बसेर टुंग्याउने सहमति बनेको छ,’ खाणले भने, ‘कार्यदलका सदस्यहरूलाई सिट संख्या मिलाउने गरी छलफल अघि बढाउन बैठकले निर्देशन दिएको छ ।’ पहिलो चरणको निर्वाचनमा पनि कांग्रेसले केही स्थानमा सत्तासाझेदारहरूसँगको तालमेलमा उम्मेदवारी दर्ता गरेको छ ।
संसदीय समिति बैठकले तालमेलका लागि केही सैद्धान्तिक आधारसमेत तय गरेको छ । वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनलाई मजबुत बनाउन अन्य दलका शीर्ष नेताहरू र कांग्रेसको भन्दा बलियो पकड भएका नेताहरूलाई समर्थन गर्न लचिलो बन्नुपर्ने धारणा बैठकमा अधिकांश सदस्यले राखेका थिए ।
केही सदस्यले भने लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरूबीच प्रतिस्पर्धा हुने स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने र वाम गठबन्धन बलियो भएको स्थानमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलमध्य जो बलियो छ, त्यही दलको उम्मेदवारलाई अन्य दलले सहयोग गर्नुपर्ने बताएका थिए ।
‘लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूलाई अन्य दलहरूले सहयोग गरेर जिताउने या गठबन्धनभित्रकै दलमध्ये कुनै एकले जित्ने स्थानमा मित्रवत् एकता गर्ने भन्ने विषयमा सदस्यहरूले फरक–फरक धारणा राख्नुभयो,’ खाणले भने, ‘तर, लोकतान्त्रिक गठबन्धनका दलहरूभन्दा वाम गठबन्धन बलियो भएको स्थानमा एकताबद्ध भएर हराउनका लागि प्रयास गर्ने धारणा सदस्यहरूको आयो ।
अन्त्यमा गठबन्धनमा आबद्ध दलहरूमध्ये रूपान्तरिक संसद् र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा आएको मत परिणामका आधारमा जो बलियो छ, त्यसलाई अर्काले सहयोग गर्ने गरी तालमेल गर्न लचिलो हुने निष्कर्ष निस्कियो ।’
लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरू राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीसँग कार्यदलका संयोजक विमलेन्द्र निधि तथा सदस्यद्वय पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजालले तालमेलका लागि सिट बाँडफाँडका विषयमा छलफल गरिरहेका छन् ।
अहिलेसम्म सैद्धान्तिक विषयमा छलफल भइरहेको र सिट संख्या यसै हप्ताभित्र टुंगिने खाणले बताए । दैनिकजसो हुने छलफलमा सैद्धान्तिक सहमति बनेको र त्यो सहमति शीर्ष नेतृत्वले अनुमोदन गरेपछि तालमेलको विषय टुंगिने खाणको भनाइ छ ।
यसैबीच राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले चुनावी तालमेलका विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासँग बुधबार छलफल गरेका छन् । दुई नेताबीच मात्रै भएको छलफलमा चुनावी तालमेलका विषयमा कुराकानी भएको बताइन्छ । खाणले दुई दलका अध्यक्षबीच चुनावी तालमेलको लेनदेन कसरी टुंग्याउने भन्ने विषयमा छलफल भएको बताए ।
कांग्रेसले बिहीबारबाट दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा उम्मेदवार छनोटका विषयमा छलफल सुरु गर्ने भएको छ । दोस्रो चरणमा मनोनयन दर्ता गर्ने पहाडी जिल्लाको उम्मेदवारी पहिला टुंग्याउने गरी छलफल थाल्ने कांग्रेसको तयारी छ ।
शनिबारसम्म प्रत्यक्षतर्फका उम्मेदवार गठबन्धनका दलहरूसँग सहमतिमा टुंग्याइसक्ने खाणको भनाइ छ । बिहीबार जिल्लाबाट सिफारिस भई आएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ हुनेछ । २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लागि १६ कात्तिकमा मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ ।
प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले घोषणापत्र निर्माण कार्य सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्य महेश आचार्य नेतृत्वको समितिले तयार पारेको घोषणापत्रको खाका मंगलबार पार्टीका शीष नेताहरूलाई बुझाएको थियो ।
नेताहरूले दिएको सुझाबलाई घोषणापत्रको खाकामा समेट्ने काम आचार्य नेतृत्वको समितिले गरिरहेको र बिहीबार टुंग्याएर प्रेसमा पठाउने तयारीमा पार्टी केन्द्रीय कार्यालय रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । -नयाँ पत्रिका दैनिक