2026-09-22 08:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र दाहालको तामझाम, देउवाको उम्मेदवारी वारेसमार्फत

कात्तिक १७, काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार मुलुकभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । 

जुलुस, नाराबाजी र बाजागाजासहित उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । दोस्रो चरणमा प्रमुख दलका प्रमुख नेता उम्मेदवार बनेका छन् । बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । वाम गठबन्धनका नेताले सामूहिक रूपमा जुलुस प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गरेका थिए । ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ स्थानका लागि उम्मेदवारी दर्ता भएको हो ।

 उच्च हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणका लागि मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते हुँदै छ । संविधानसभाबाट संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड र गठबन्धनका कारण थोरै मात्र दलले प्रतिनिधिसभामा प्रवेश पाउने आकलन गरिएको छ । साना दल पनि ठूला दलका गठबन्धनमा मिसिएर चुनावमा सहभागी भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनका नेता-कार्यकर्ताको संयुक्त जुलुस र तामझामसाथ उम्मेदवारी दर्ता गराए । ओली झापा-५ र दाहाल चितवन-३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसमार्फत गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका थिए । देउवाले कांग्रेसका स्थानीय नेता गणेशदत्त पन्तलाई वारेसनामा दिएका थिए । सरकारी काम र पार्टीको बैठकका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला जान नसकेको उनको सचिवालयले जनाएको छ ।

एमाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले क्रमशः काठमाडौं २ र इलाम १ बाट उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाट उम्मेदवारी दिएका छन् । ०४८ देखि लगातार भक्तपुरबाट निर्वाचन जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे भने यसपटक उम्मेदवार बनेनन् । पूर्वसभामुख दमननाथ ढुंगानालाई कांग्रेसले भक्तपुर-२ बाट उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभाका लागि उम्मेदवारले मनोनयनपत्रसाथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको दलको औपचारिक पत्र अनिवार्य गरिएको थियो । निर्वाचन आयोगले प्रतिनिधिसभाको उम्मेदवारका लागि १० हजार र प्रदेशसभाको उम्मेदवारका लागि ५ हजार धरौटी निर्धारण गरेको थियो । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छुट दिइएको थियो ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा माग गरिएको थियो । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रत्यक्षतर्फ उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ । 

एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । विगतमा शीर्ष नेताहरू दुईवटा निर्वाचन क्षेत्रबाट एकैपटक उम्मेदवार बन्ने गरेका थिए तर नयाँ बनेको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले एकपटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गरेको थियो ।

दोस्रो चरणमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् । 

त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा निर्वाचन हुँदै छ ।

सबै जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदाताले निर्वाचनमा भाग लिँदै छन् । -अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो