
काठमाडौँ | भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो । भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा.निश्चलनाथ पाण्डे सहभागी छन् ।
भारतीय पक्षबाट विदेशमन्त्री डा.एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन् । त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उनका भारतीय समकक्षी मोदीले स्वागत गरेका छन् । यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।