
काठमाडौँ | आजदेखि नागढुंगा–मुग्लिन सडक खण्ड दैनिक ५ घण्टा बन्द हुने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका –४ मा पर्ने घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने र सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएपछि जोखिम न्यूनीकरणका लागि माटो तथा ढुंगा हटाउनका लागि सडक दैनिक पाँच घण्टा बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ। उक्त समयमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने सहायक प्रमुख जिल्ला अधिकारी र्इश्वरीप्रसाद शर्माले बताउनुभयो । सडक बन्द रहने अवधिमा नागढुंगा–मुग्लिन सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको उहाँको भनाइ छ। निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न तथा सम्बन्धित सबैलाई आवश्यक समन्वय र सहजीकरण गरिदिन कार्यालयले आग्रह समेत गरेको छ।
सडकमा पहिरोको जोखिम कायमै रहेकाले सम्भावित दुर्घटना तथा मानवीय क्षति रोक्न जोखिमयुक्त क्षेत्रको ढुंगा र माटो हटाउने कार्यलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ। गएको मंसिर १ गते घोप्टेभिरको पहिरोमा माथिबाट खसेको ढुंगाले लागेर काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलका चालक ६१ वर्षीय गङ्गाराम महर्जनको मृत्यु भएको थियो।