काठमाडौँ | नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारले एक वर्ष पनि नटिक्ने दाबी गरेका छन् । एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स सङ्घको स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिएका हुन्। बर्खा सकिएपछि घाम लाग्न थालेसँगै च्याउ मरेर जाने उल्लेख गर्दै बस्नेतले भने, ‘छाता ढालेको च्याउ र बर्खामा उम्रिएको च्याउको फरक हुन्छ। अहिले बालेन सरकार छ, यो बर्खामा उम्रिएको चुच्चे च्याउ हो। यो कुनै छाता ढालेको च्याउ होइन। बर्खा सकिए पछाडि जब घाम लाग्न थाल्छ, त्यसपछाडि यो च्याउ मरेर सकिन्छ। त्यही भएर यो हात न भुट्टामा आएको सरकार यो एक वर्ष पनि टिक्दैन।’
वर्तमान सरकारले सुकुमबासीलाई दिएको आश्वासन पूरा नगरेको आरोप लगाउँदै बस्नेतले सुकुमबासीका घर भत्काएर वर्षायाममा सडकमा बस्न बाध्य पारिएकाले सरकारविरुद्ध जनआक्रोश बढिरहेको दाबी गरे । बङ्गलादेशमा भइरहेको आन्दोलनको प्रसङ्ग निकाल्दै उनले सुकुमबासी, गरिब तथा युवाहरूको माग सरकारले सम्बोधन नगरे नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने बताए । साथै, सरकारले भोटेकोशीका बाढीपीडितलाई राहत दिन नसकेको र प्रधानमन्त्री राहत कोषमा १७ अर्ब रुपैयाँ जम्मा भए पनि बाढीपीडित भोकै बस्नुपरेको उनको भनाइ थियो।
वैदेशिक शक्तिहरूले केपी ओली र एमालेमाथि आक्रमण गरेर ओली बिनाको नेपाल, एमाले र युवा शक्ति निर्माण गर्न खोजेको आरोप बस्नेतले लगाए। उनले भने, ‘वैदेशिक शक्तिहरूले केपी ओलीमाथि आक्रमण गरे। नेकपा (एमाले) माथि आक्रमण गरे। केपी ओली बिनाको नेपाल बनाउन खोजे, केपी ओली बिनाको एमाले बनाउन खोजे, केपी ओली बिनाको युवा बनाउन खोजे, यो सम्भव छैन। यो सम्भव छैन भनेर अघिल्लो वर्ष मङ्सिर ५ गते हामीले उद्घोष गर्यौँ।’
युवाहरूले ‘केपी बा, वी लभ यु’ भन्दै साथ दिएको स्मरण गर्दै बस्नेतले स्थापना दिवसमा राजधानी कमिटी गठनसँगै युवाहरूले भोलिको देशको जिम्मा लिनुपर्ने आवाज दोहोर्याएको बताए। केपी ओलीबिनाको युवा र युवाबिनाको केपी ओली अपूरो हुने कुरा युवाहरूले प्रमाणित गरेको उनको भनाइ थियो। एमालेभित्र केपी ओलीको विकल्प खोज्नेलाई कार्यकर्ताले अस्वीकार गरिसकेको दाबी गर्दै बस्नेतले भने, ‘हामीले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्यौँ, राष्ट्रिय कार्यकर्ता भेला गर्यौँ र सर्वसम्मत ढङ्गले भन्यौँ, नेकपा (एमाले) मा केपी ओलीको विकल्प कसैले खोज्छ भने त्यसको विकल्प कार्यकर्ताले खोज्नेछन्, त्यसको विकल्प नेताहरूले खोज्नेछन्। त्यही भएर अहिले असामयिक ढङ्गले केपी ओलीको विकल्प खोज्नेहरूलाई आम राष्ट्रिय कार्यकर्ता भेलाबाट एउटा सन्देश हामीले दिएका छौँ।’
केपी ओलीले देश विकास गरेको देखेर प्रतिक्रियावादी शक्तिहरूले षडयन्त्र गरेको आरोप लगाउँदै बस्नेतले ओलीले राष्ट्रियताको प्रतीकका रूपमा भूमिका खेलेको दाबी गरे।