मङ्सिर १७, काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको छ ।

कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले विज्ञहरूसँग छलफल गरी विषयगत लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने अवधारणापत्र पेस गरेका हुन् ।

शिक्षाक्षेत्रका विज्ञहरूले समेत विषयगत लाइसेन्स दिने कुरामा सकारात्मक प्रतिक्रिया दिएका छन् । एकभन्दा बढी विषयमा लाइसेन्स लिन चाहनेलाई समेत उपलब्ध गराउन सक्ने गरी तयारी गरेको हो ।

निमाविदेखि माथि विषयगत रूपमा लाइसेन्स

आयोगले शिक्षकलाई अहिलेसम्म तहगत मात्र लाइसेन्स दिने गरेको छ । आयोगका अनुसार तहगत रूपमा लाइसेन्स दिँदा विषयवस्तुमा राम्रो ज्ञान भएका शिक्षक कम आउने गरेका छन् ।

‘शिक्षाको गुणस्तरीयताका लागि शिक्षकलाई विषयको किटान गरेर लाइसेन्स दिनुपर्ने अवस्था छ, निमाविदेखि माथि विषयगत रूपमा लाइसेन्स दिनुपर्छ भन्नेमा लागेका छौँ,’ आयोगका प्रशासकीय प्रमुख थपलियाले भने ।

साढे सात लाखसँग अध्यापन अनुमतिपत्र

आयोगका अनुसार अहिलेसम्म साढे सात लाखले लाइसेन्स लिएका छन् । ०६१ देखि वितरण गर्न सुरु गरेकामा ०७४ सम्ममा सात लाख ६५ ले लाइसेन्स लिएका छन् । आयोगका अनुसार सबैभन्दा बढी निमावि तहका लागि अध्यापन अनुमतिपत्र वितरण भएको छ ।

December 3, 2017
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
शिक्षक सेवा आयोगले ल्यायो यस्तो नयाँ नियम
By kit
3 मिनेट पढाइ