२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशको अस्थायी राजधानी र भवनको टुंगो लाग्यो (सुचिसहित)

२०७४, २१ पुष शुक्रबार ०३:२५

पुस २१, काठमाडौँ । सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो ।

प्रदेश १

प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुने मन्त्रालयको प्रस्ताव छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा त्यस्तो प्रस्ताव तयार पारिएको हो । 

पूर्वाञ्चल विश्वविद्यालय रहेको गोठगाउँको भवन प्रयोग गर्नु उपयुक्त हुने सुझाब दिइएको छ । गोठगाउँमा रहेको भवन १० वर्षदेखि प्रयोग हुन सकेको छैन । 

सो क्षेत्र आठ सय पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । ती भवनलाई प्रदेश मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश प्रमुखको कार्यालयका रूपमा प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रदेश २

मन्त्रालयले प्रदेश २ का लागि जनकपुर चुरोट कारखानाको भवनलाई प्रदेश कार्यालयका रूपमा प्रयोग गर्न सुझाएको छ । चुरोट कारखाना करिब ६८ बिघामा फैलिएको छ । 

जनकपुरलाई अस्थायी राजधानी तोक्दा प्रदेश कार्यालयका लागि चुरोट कारखानाको भवन, नजिकै रहेका क्षेत्रीय शैक्षिक तालिम केन्द्र, क्षेत्रीय कृषि तालिम केन्द्र, क्षेत्रीय वन तालिम केन्द्रका भवन प्रयोग गर्न सकिने मन्त्रालयको भनाइ छ ।

प्रदेश ३

मन्त्रालयले प्रदेश ३ को अस्थायी राजधानीका लागि भक्तपुर सबैभन्दा उपयुक्त हुने प्रस्ताव गरेको छ । संघीयता कार्यान्वयनमा जाँदा सानोठिमीमा रहेका शिक्षासँग सम्बन्धित अधिकांश कार्यालय खारेज हुने र त्यही भवनमा प्रदेश कार्यालय राख्न सकिने मन्त्रालयको सुझाब छ । सो क्षेत्र करिब सात सय रोपनी क्षेत्रफलमा फैलिएको छ । 

मन्त्रालयले ठिमीमा रहेको शिक्षा विभागको भवन, नागरिक उड्डयनको स्वामित्वमा रहेको १७५ रोपनी जमिन, बोडेमा रहेको कृषि विकास तालिम केन्द्रको भवन र खरिपाटीमा रहेको सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको विद्युत् प्राधिकरणको भवन प्रयोग गर्न सकिने उल्लेख गरेको छ । 

मन्त्रालयले मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र मन्त्रालयहरू ठिमीमा राख्ने र प्रदेश सभा कार्यालय विद्युत् प्राधिकरण रहेको भवनमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

प्रदेश ४

प्रदेश ४ का लागि पश्चिमाञ्चल क्षेत्रीय प्रशासनको कार्यालय र त्यसआसपास रहेका शिक्षा, वन, घरेलु, कृषिका तालिम केन्द्रहरू प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । 

यस्तै, प्रदेश सभाका लागि पोखरा सभागृहलाई प्रयोग गरिने भएको छ । प्रदेश ४ को राजधानीका रूपमा पोखरा निर्विकल्प रहेकाले क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश कार्यालयका रूपमा प्रयोग गर्ने र सभागृहलाई प्रदेश सभा कार्यालयका रूपमा प्रयोग गर्ने करिब निश्चित भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश ५

सरकारले प्रदेश ५ का लागि दाङको लमहीलाई सबैभन्दा उपयुक्त क्षेत्र प्रस्ताव गरेको छ । सो क्षेत्रमा नगर विकास समितिको नाममा सरकारी स्वामित्वको दुई सय पाँच बिघा जमिन छ । 

प्रदेश कार्यालयका लागि तत्काल आवश्यक पर्ने भवन पनि बनिरहेकाले सो क्षेत्र उपयुक्त हुने मन्त्रालयले जनाएको छ । यस्तै, पछि प्रदेश राजधानीका रूपमा व्यवस्थित गर्न सकिने र सरकारी स्वामित्वमा प्रशस्त जमिन रहेको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले बुटवलमा सरकारी स्वामित्वमा प्रशस्त जमिन नरहेको र अधिग्रहण गर्नुपर्दा महँगो पर्ने, प्रदेश कार्यालयका लागि आवश्यक पर्ने सरकारी भवन पर्याप्त नरहेको र भौगोलिक रूपमा पनि अन्य जिल्लालाई पायक नपर्ने जनाएको छ ।

प्रदेश ६

प्रदेश ६ का लागि सुर्खेतलाई अस्थायी राजधानी र मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश कार्यालयका रूपमा प्रयोग गर्न सबैभन्दा उपयुक्त हुने मन्त्रालयले सुझाब दिएको छ । 

क्षेत्रीय प्रशासन कार्यालयको भवनले नपुगेमा त्यहाँ रहेका विभिन्न निकायका तालिम केन्द्रका भवनहरू पनि प्रयोग गर्न सकिने मन्त्रालयको निष्कर्ष छ ।

प्रदेश ६ का लागि जुम्ला सदरमुकामलाई समेत राजधानी तोक्न माग भइरहेको छ । तर, जुम्लामा भौतिक पूर्वाधार नभएको, सेन्टर नपर्ने, संरचना र प्रशस्त मात्रामा जग्गा जमिन नभएका कारण उपयुक्त नहुने मन्त्रालयले जनाएको छ ।

प्रदेश ७

सहरी विकास मन्त्रालयले प्रदेश ७ को अस्थायी राजधानी दिपायल तोक्न प्रस्ताव गरेको छ । दिपायललाई अस्थायी राजधानी तोक्दा प्रदेश कार्यालय व्यवस्थापन गर्न सहज हुने मन्त्रालयको भनाइ छ । 

दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन, विभिन्न निकायका क्षेत्रीय तालिम केन्द्रहरूमा प्रदेशका कार्यालय राख्न सकिने सरकारको निष्कर्ष छ । 

यस्तै, दिपायल भौगोलिक रूपमा पायक पर्ने र त्यहाँ थप नगर विकास कार्यालयको भवन र करिब तीन सय रोपनी जग्गा रहेकाले बढी उपयुक्त हुने मन्त्रालयको प्रस्ताव छ । यो खबर पुष्प ढुंगानाले आजको नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु