माघ ११, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय गरेको हो। यो खबर कृष्ण ज्ञवालीले आजको कान्तिपुरमा लेखेका छन्।

‘करिब साढे चार करोड रुपैयाँको बिगो मागदाबीसहित शर्मा र उनको परिवारका केही सदस्यलाई प्रतिवादी बनाइएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘शर्माको आम्दानी र खर्चको अनुसन्धान हुँदा उनले गैरकानुनी रूपमा आर्जन गरेको भेटियो।’ निर्णय अत्यन्त गोप्य राखिएकाले उनको कुल आम्दानी र खर्चको फेहरिस्त खुल्न सकेको छैन।

स्रोतका अनुसार शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी गरेका छन्। उनले कतिपय आम्दानी आफन्त र व्यापारीका नाममा लुकाएको स्रोतले बतायो।

बढीमा २/३ दिनभित्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरी तयारी भइसकेको छ। यो मुद्दापछि शर्मा शृंखलाबद्ध रूपमा मुद्दा खेप्ने विवादास्पद अधिकारी बनेका छन्।

आन्तरिक राजस्व विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्माविरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो। यसअघि गत साउन १ मा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अभियोगपत्रमा हरेक पदाधिकारीमाथि ३ अर्ब ३४ करोड बिगो र बिगोको दोब्बर जरिवाना असुल्नुपर्ने मागदाबी गरिएको छ। तीन जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको हो। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।

छ महिनापछि तयार भएको अर्को भ्रष्टाचार मुद्दा कुनै फाइल वा निर्णय विशेषमा भएको भ्रष्टाचारसँग सम्बन्धित होइन। राष्ट्रसेवक र सार्वजनिक पदमा रहेका व्यक्तिले वैध र स्रोत पुष्टि हुने आम्दानीको तुलनामा अस्वाभाविक रकम आर्जन गरेको देखिएमा गैरकानुनी आर्जन गरेको ठानी अख्तियारले अनुसन्धान गर्न सक्छ।

यो मुद्दाको सुनुवाइका क्रममा शर्माले आफ्नो आर्जनको वैधता आफैं पुष्टि गर्नुपर्ने हुन्छ। त्यसो गर्न नसके उनीमाथिको अभियोग अदालतले सही ठहर्याउनेछ।

गैरकानुनी सम्पत्ति आर्जनको छानबिनमा शर्माले आफ्नो विवरण बुझाउन आनाकानी गरे। केही दिन बयानमा आएका उनी पछि म्याद गुजारेर सम्पर्कविहीन भएका थिए।

‘लोकसेवाको परीक्षा दिने विद्यार्थीको संख्याभन्दा बढी लोकसेवाको गाइड बिकेको भनेर उनले विवरण देखाएका छन्,’ स्रोतले भन्यो।

उनी लोकसेवाको परीक्षा नजिकिँदै गर्दा सञ्चालन हुने ‘कमान्डो क्लास’ मा पढाउन पुग्थे। सहयोगीहरूको समूह राखेर नै हरेक वर्ष लोकसेवाको गाइड तयार गर्ने शर्माका दर्जनौं पुस्तक प्रकाशित छन्। स्रोतले भन्यो, ‘शर्माले आफ्नो आर्जनलाई पुस्तक बिक्रीको आम्दानी भनी ज्यादा दाबी गरिरहेका छन्।’