१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

लोप हुने अवस्थामा यानीमाया…

६ फाल्गुन २०७४, आईतवार ०६:३०

सन्तोष गौतम / फागुन ६, म्याग्दी | केटा :- “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल…” 

केटी:- “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल…।” कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । 

यानीमाया म्याग्दी, पर्वत र बागलुङको मौलिक लोकभाकाको गीत मानिन्छ । यानीमायाको मौलिक व्याकरणका बारेमा नयाँ पुस्तालाई जानकारी नहुँदा लोप हुने अवस्थामा पुगेको लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो । दोहोरी शैलीमा केटा र केटीले गाउने यानीमायाको व्याकरण अत्यन्तै महत्वपूर्ण, खतरा र रोचक भएको जिसीको भनाइ छ । “यानीमायालाई नबुझेर धेरैले ‘लतरे’ भाका भन्छन् र चासो दिएका छैनन्”, उहाँले भन्नुभयो, “केटाले आधा गाएको टुक्काको भाव र अर्थ बुझी अनुप्रास मिलाएर केटीले पूर्णता दिनु यानीमायाको प्रमुख विशेषता हो ।” 

राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने भएकाले यानीमाया गाउन कठिन मानिन्छ । अघिल्लो पुस्तासम्म म्याग्दीमा मेला, महोत्सव, छेवार, किरिया र व्रतबन्धका समयमा यानीमाया गाउने चलन थियो । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम यानीमाया नै थियो । 

आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारको निधन र नयाँ पुस्ताले नसिकेका कारण यानीमाया हराउँदै गएको म्याग्दीका अग्रज कलाकार धनकुमारी थापाले बताउनुभयो । उहाँका अनुसार विशेष गरेर युवाहरु विभिन्न अवसरमा भेट हुँदा यानीमायाको भाकामा हालखबर, सञ्चोबिसन्चो सोध्ने र दिनचर्याको व्याख्या गर्ने गर्दथे । “लगातार दुई दिनसम्म यानीमाया गाएका थियौं”, थापाले भन्नुभयो “अहिले गाउने मान्छे पनि छैनन्, भाका पनि हराउँदै गएको छ ।” 

केटा:- “उर्ली आयो यानीमाया बर्खे भेल, 

आम्दै आयो छाल हहहहह यानीमाया 

दुःख पिर बढ्दै आयो यानीमाया, आएन मेरो काल । 

केटी:- मेरो लागि किन आयो अहिलेको साल ? 

साथीभाइ त हाँस्छन् खेल्छन् यानीमाया म वैरागी चाल” थापाले डम्मर पूर्जासँग गाउनुभएको यानीमायाको एउटा टुक्का सुनाउनुभयो । केटाले छाडेको टुक्काको भाव बुझेर केटीले लय मिलाई अन्त्य गरेपछि केटा ‘आहैहै’ भनेर लामो स्वर निकाली चिच्याउँछन् । 

यानीमाया गीत गाउन एक एक केटा र केटी मुख्य कलाकार भए पनि उनीहरुलाई साथ दिने पाँच अरु सहयोगी हुन्छन् । प्रत्येक टुक्का सकिएपछि लामो स्वर निकालेर लयबद्ध रुपमा ‘यानीमाया…’ भनिन्छ । पञ्चैबाजा र मादल यानीमाया गाउँदा प्रयोग हुने वाद्यवादन हुन् । 

नेपाल मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगर मौलिक लोकभाका भएकाले यानीमायाको अध्ययन, अनुसन्धान र संरक्षणमा अब स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । यानीमाया म्याग्दीको लोक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण गरी पर्यटन विकासमा उपयोग गर्न सकिने सचिव पुनको धारणा छ । 

नयाँ पुस्ताका कलाकारलाई यानीमायाका बारेमा तालीम र प्रशिक्षण दिएर संरक्षणमा अग्रसर बनाउन सकेमा घरबासमा यानीमाया गाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने उहाँको विचार छ । हालै बेनीमा भएको म्याग्दी महोत्सवमा नेपाल मगर संघका तर्फबाट यानीमाया गीत प्रस्तुत गरिएको थियो । 

यानीमाया गाउने कलाकार जुटाउनै गाह्रो भएको सचिव पुनले अनुभव सुनाउनुभयो । यानीमाया सबै समुदायमा गाइने भाका हो । धनकुमारी थापा, डम्मर पुर्जा, खड्ग गर्बुजा, मनकुमारी छन्त्याललगायत अग्रज कलाकारले यानीमाया गीतको एल्बमसमेत तयार पार्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड