फागुन ८, काठमाडौँ । रूपसिंह चेपाङ । उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो।

करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि सहाराविहीन छन्।

उनी बस्ने ओढारनजिकै छोरीको घर छ। त्यो पनि ‘जनता आवास’ कार्यक्रमले बनाइदिएको। त्यसबाहेक वरिपरि कसैको घर छैन। एक्ला र अशक्त छन् तर छोरीको घरमा बस्न चाहँदैनन्।

खानेकुरा भएको बेला तिनै छोरीले पकाएर ओढारमै लगिदिन्छिन्। नभएको बेला खोकिलामा हात हाल्छन्, भोकै बस्छन्। ‘कसैले ल्याएर दियो भने छोरीले मलाई पनि पकाएर ल्याइदिन्छिन्, नत्र उनीहरू नै भोकै पर्छन्, म बूढोले कहाँबाट पाउनु ? ’ उनले भने।

यसपालि पनि उनले त्यहीं जाडो काटे। न ओढ्ने छ न त आङ छोप्ने एकधरो कपडा। जाडो गएर के गर्नु, फेरि बर्खा लागिहाल्छ। वर्षा सुरु भएपछि पानी रसाउँदै आउँछ, ओढारमा।

शरीर निकै गलिसकेको छ। ओढारबाट निस्केर हिँडडुल गर्न पनि सक्दैनन्। धुनी तापेकै भरमा रात कटाउँछन् उनी। धेरै दिनसम्म केही खान नपाएपछि भोक सहन सक्दैनन्, अनि भोक टार्न त्यही खरानी खान्छन्।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

बीस वर्षदेखि ओढारको बास, भोक टार्न खरानी खान्छन् !