पढ्न करिब 2 मिनेट लाग्छ

चैत २८, काठमाडौं | सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् ।

नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ?

आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि (बुधबार)देखि बिदा हुँदै छु ।

आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा पनि दिने प्रचलन आएको छ, यसले फौजमा कस्तो संस्कार बसाउला ?

पद्धति बसाएर निर्णय गर्नुपर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।

सरकारले कसै न कसैलाई जिम्मेवारी दिनुपथ्र्यो, एकजनालाई दियो । तपाईंप्रति अन्याय के भयो ?

म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय गर्यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ।

तपाईं योग्य अफिसर हो तर सबैभन्दा अब्बल तपाईं नै हो भन्ने आधार के हो ?

दाबेदार सबैले आफूलाई अब्बल ठान्छन् । मैले पनि ठानेँ, के बिराएँ । प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।

सरकारले भर्खर निर्णय गरेको छ, त्यसैले तपाईंको तातो प्रतिक्रिया होला । भोलि (बुधबार) बिहानसम्म पुनर्विचार गर्नुहुन्छ होला नि ?

यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।

अबका दिन कसरी बिताउनुहुन्छ ?

सोचेको छैन । परिवार र राष्ट्रका लागि गर्ने हो ।

राजनीतिमा… ?

मेरो स्वभाव राजनीति सुहाउँदो छैन । तर, गर्दैगर्दिनँ भनेर कसम किन खानू ?

- मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महत संक्षिप्त अन्तर्वार्ता दिँदै खरेलले राजीनामा दिने बताएका हुन्।