बैशाख २, विराटनगर (रासस) | तराईका जिल्लामा आज बिहानैदेखि हर्षोल्लासमय वातावरणमा सिरुवा पर्व मनाइँदैछ ।
नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाइ गर्नु हो ।
सो अवसरमा आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून्’ भनेर आशिष दिन जुटेका छन् । कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर कार्य गर्नुनै सो आशिषको मुख्य उद्देश्य हो । त्यसकारण, मैथिल समुदायले यस पर्वलाई ‘जुडशीतल पर्व’ पनि भन्ने गर्छन् ।
यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ ।
सो अवसरमा घरका देउताका साथै चुलो र चौंखटको पूजा गरी बासीभात, दही, चिनी प्रसादका रुपमा चढाउने गरिन्छ । प्रसादका रुपमा चढाइएका ‘बासीभात’ नयाँ माटाको भाँडोमा एक दिनअगावै पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।
यसका साथै, बिहानैदेखि आ–आफ्ना आँगनबारीमा रहेका विभिन्न रुखको जरामा पानी हाल्नु, बाटाघाटोमा पानी छर्नु, इनार, सडकको नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको देखिन्छ ।
गर्मी महिनामा रुखमा पानीको अभाव हुन नदिन र वैशाख महिनामा हावा पनि चल्ने गरेकाले सडकमा धुलो नउड्न नदिनेका लागि पानी छर्कने गरिन्छ । यस कार्यको माध्यमबाट वातावरणलाई स्वच्छता प्रदान गर्नका लागि समाजमा सचेतना जगाउनुनै पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ ।
यसका साथै, एक अर्कामाथि हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ । टोलका मानिस भेला भएर इनार, कुलो र नालाको सरसफाइ गर्ने बेलामा खुसीयाली मनाउँदै हिलोसँग खेल्ने गर्छन् ।
यस पर्वमा आँपको चिचिलाको चोखा, सोइजनको तरकारी, दही र चिनी अनिवार्य रुपमा खाने गरिन्छ । मैथिल, थारु, राजवंशी, सतारलगायतका समुदायले आ–आफ्ना धार्मिक एवं संस्कतिअनुसार पर्व मनाउने गर्छन् । मैथिल समुदायबाहेक अन्य समुदायले मासु पनि खाने गर्छन् ।