प्रेम सुनार/असार–२३, गुल्मी । विहानभरी सडकमा काम गर्दाको थकान सदा झैं खान खाने वेलामा हाँसो ठट्टा गरेर मेटाउँथे पश्चिम नेपालबाट पुर्वी हिमाली जिल्ला मुस्ताङ्गमा काम गर्न पुगेका मजदुरहरु । शुक्रबार दिउँसो करिव १ वजेको समयमा खाना खाँदा पनि उनिहरु विच हाँसो ठट्टा भई रहेको थियो । सदा झै एउटै मेशको अन्तिम रहेछ त्यो खान रमाउँदै खाए उनिहरु ।
दाङ्गकी शान्ति थापा उनका श्रीमान गुरुदत्त थापा र नाम खुल्न नसकेकी अन्दाजी वर्ष १७ की उनकी छोरी संगै खान खाँदै घरयासी कुराहरु पनि गर्दै थिए । त्यही वेलामा उनिहरुलाई आफन्तजनको फोन आएर कुराकानी पनि गर्दै थिए । कामदारलाई समयको पावन्दी । त्यही अन्तिम खान पनि हतार हतार खानु पर्ने र फेरी असिना पसिना हुँदै त्यही ढुङ्गो माटो संग लड्न जानु पर्ने ।
सवैले एक आपसमा भालकुसरी गर्दै खान खाएर चढे त्यही थोत्रो ट्रिपरमा । एकले अर्कोलाई ट्रिपरमा तान्दै र भेंडा बाख्रा झै कोचिदै उनिहरु काममा फर्किदै थिए । कालिगण्डकी कोरिडोर निर्माण कम्पनी मुस्ताङ्गका सहायक साईड ईञ्चार्ज सिताराम खड्का भन्छन–‘ त्यस कोरिडोरको पुरानो ट्याक हुँदै ति कामदारहरुलाई ट्रिपरमा ल्याईदै थियो । काम गर्ने ठाउँ र त्यो खान खाने मेश करिव ४ किलो मिटरको दुरीमा थियो ।
त्यही काम गर्ने ठाउँ नजिकै पनि उनिहरुलाई मेश सञ्चालन गर्न सकिन्थ्यो तर दिशा पिशाव गर्ने ठाउँको अभावमा उता मेश सञ्चालन गरिएको थियो । काम गर्ने स्थानमा आई पुग्नु नजिकै पुरानो ट्र्याकबाट तल नयाँ ट्र्याकको घुम्तीबाट एक्कासी ट्रिपर खस्यो । सवै जोडले चिच्चाए । आफु भन्दा पनि आफ्नो आफन्त बचाउन एकले अर्कोलाई समाउँदै झरे करिव ५० मिटर तल । ’
खसेकाहरुलाई माथी सडकमा ल्याउँदै राख्न थालियो । गम्भीर घाईतेहरुको कारुणीक अवस्था देख्दा बरु मृत्यु निको महशुस हुन्थ्यो । कसैको ढुकढुकी मात्रै थियो त कोही मुस्कीलले वोल्न सक्थे । वोल्ने सक्नेहरुको मुखबाट हे…आमा…., हे.. बा….बाक्य फुटिरहेको थियो ।
दाङ्गको राप्ती गाउँपालिका ९ की ४३ वर्षिया शान्ति थापा र उनका ५० वर्षिय श्रीमान ४० गुरुदत्त थापालाई माथी ल्याएर सडकमा लडाईएको थियो । त्यसको विचमा उनकी छोरी अकला विकला हुँदै र रुँदै फोन गर्दै थिईन । उनकी आमाको पराण पखेरु गइ सकेको थियो । उनले हारगुहार गर्दै गरेको दृश्य शव हेर्दै आई रहेका एक जना टक्क उभिएर हेरिरहे । त्यो दृश्य जो कोहीलाई मन थाम्न सकिने अवस्था थिएन ।
छोरीले आमा..आमा… भन्दा भन्दै र अन्तिम सासमा छोरीलाई आमाले चिन्दा चिन्दै आमाको पराण पखेरु गई सक्यो । अव उनको अन्तिम आशा भनेका घाईते बाबु थिए । घटना स्थलमा पुगेका उपल्लो मुस्ताङ्ग घमी प्रहरीचौकीका हवल्दार कृष्ण गोपाल पयिार भन्छन–‘ थापाकी छोरी बाबु आमालाई हेलकप्टरमा राख्ने बेला सम्म आमा गुमाए पनि बाबु बाँच्ने आशा राख्दै थिईन ।
उनले थपे–‘ उनका अरु सन्तान कति थिए र बाँचेकी ति छोरीको नाम के थियो थाह भएन जेहोस उनको उमेर १७ वर्षको अनुमान गर्न सकिन्थ्यो, उनको चित्कारले मन थाप्न गाह्रो थियो ।’
मृतकका अरु स–साना वालालिकालाई पालमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ । कतिपय वालवालिकाहरुलाई त बाबु आमाको मृत्यु भएको थाह छैन । उनिहरु सदा झै के ल्याई दिएर वावु आमा कति वेला आउने हुन भनेर बाटो कुरे बसेका छन ।
मृतकका आफन्त र काम गर्ने साथीहरुको चिच्चाहटले घटना स्थलमा सन्नाटा छाएको थियो । दुर्भाग्य बाँच्ने आशा राखिएका ति युवतीका वावुको पनि उपचार्थ लैजाने क्रममा गएराती मृत्यु भयो । थापा सहित दाङ्गका मजदुरहरुको मृत्यु संख्या ६ पुगेको छ ।
राप्ती–१ का वालकुमार घर्ति मगर, वडा नम्वर–२ की कविता घर्ति मगर , वडा नम्वर ३ का सुमेर चौथरी, वडा नम्वर–९ का थापा दम्पत्ती, राजपुर–१ कमल बुढा सहित सवै जना विकट गाउँ र विपन्न परिवारका थिए । राप्ती गाउँपालिका प्रमुख लुमानन्द सुवेदी संग राती अवेर सम्म सम्पर्क राख्दा दुर्घनामा त्यस गाउँपालिकाका मानिसहरुको मृत्यु भएको यस समाचारदाताले भनेर मात्रै थाह भएको बताउँदै थिए ।
देशैभरका मानिसलाई थाह हुँदा गाउँपालिका प्रमुख लगायका जनप्रतिनिधीहरुले त चासो राख्नु प¥यो नि ? भनेर ध्यानकृष्ट गराउँदा उनले सवै वडाध्यक्षलाई रातीनै सर्कुलर गरेर अहिले विहान केहि जानकारी दिए ।
उनले भने– ‘ उनिहरुको घर फोन सम्पर्क समेत नहुने विकट गाउँमा छ । उनिहरु दशै तिहार मानेर त्यस तर्फ काम खोज्न हिडेका रहेछन । उनिहरु वर्षमा एकचोटी दशै तिहार मान्न आउने, अरु समय सधै वाहिर काम खोज्न जाने पाईएको छ । उनिहरुको शव यहि गाउँमा ल्याउने ब्यवस्था मिलाउन आज यहाँबाट केहि जनप्रतिनिधीहरु पठाईदै छ । ’
उनका अनुसार प्रत्येक वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधीहरु कसैको फोन नलागे पछि घर घरमा पुग्दै छन् । जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख डिएसपी रामप्रसाद घर्ति मगर संग सम्पर्क राख्दा उनले मुस्ताङ्गका डिएसपी संग रोल्पा र दाङ्गको शव गृह जिल्ला ल्याउने विषयमा समन्व्य गरिरहेको बताए ।
दाङ्गका ६ वटा शवहरु मध्ये दुई वटा घटना स्थल नजिकै सुरक्षित रहेको अरु शव जिल्ला अस्पताल मुस्ताङ्गमा रहेको जानकारी दिए । मुस्ताङ्गका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्का संग सम्पर्क राख्दा ५ वटा शव जिल्ला अस्पताल मुस्ताङ्गमा रहेको र १५ वटा शव घटना स्थलमा रहेको जानकारी दिए ।
उनले गम्भीर घाईतेहरुको पोखरास्थि मणिपाल अस्पतालमा उपचार भई रहेको बताए । रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फँुयाल संग सम्पर्क राख्दा त्यस जिल्लाका मृतक ९ जनाको शव ल्याउने प्रकृया अगाडी बढाईको र त्यहाँ रोल्पाका ८ जना घाईतको उपचार भई रहेको जानकारी दिए । उनले अत्यन्तै विकट गाउँ भएकोले फोन मार्फत परिवारजनलाई जानकारी गराउन नसकेर प्रहरीलाई गाउँ गाउँमा परिचालन गरिएको बताए ।
गरिवी विरुद्ध हरेक आन्दोलन देखि जनयुद्ध सम्म थुप्रै रोल्पालीहरुले रगतको खोलो बगाए । विभिन्न राजनैतिक दलहरुले थुप्रै खाले सपना देखाए । तर विपनामा उनिहरु सधै त्यही लेक, त्यही झुपडीमा बस्न बाध्य हुँदै आएका छन । थवाङ्ग गाउँपालिका प्रमुख विरबहादुर घर्ति संग सम्पर्क राख्दा त्यस गाउँपालिका वडा नम्वर ४ र ५ का ६ जनाको त्यस दुर्घटनामा मृत्यु भएको खुलेको बताए । एक जना मौशम रोका मृतकको वडा नम्वर नखुलेको तर वडा नम्वर ४ हो कि भन्ने लागेको उनको ठम्याँई छ ।
उनका अनुसार थवाङ्ग–४ र ५ रोल्पाको सवै भन्दा विकट थलो हो । सदरमुकामबाट हिडेर एक दिन लाग्ने कम्पु र कुसुवाङ्ग लेक मानव वस्ती भन्नु मात्रै हो । मानिसलाई चाँहिने न्युनतम आधारभुत कुराहरु छैन भने मानव वस्ती भन्नुको अर्थ छैन । त्यही अर्थहिन मानव वस्तीमा खेतीपाती खासै हुँदैन परम्परा देखि नै उनिहरुको जिविका उपार्जनको मुख्य श्रोत भने कै भेंडा पालन हो ।
राज्य पक्षबाट विकासका नाममा मोटरबाट त्यहाँ सम्म खनिए पनि अहिले वर्षायाममा गाडी जान नसकेर सदरमुकामबाट प्रहरी आज विहान हिडेर पुग्दै छ । कसैको फोन लाग्दैन । यहाँ सम्मकी त्यहाँ रहेको उवाँ ईलाका प्रहरी कार्यालयमा समेत फोन सम्पर्क हुन नसकेर मृतकका परिवारजनलाई खवर गर्न मुस्कील परेको छ ।
थवाङ्ग गाउँपलिका प्रमुख घर्ति भन्छन–‘ हिडेर एक दिन लाग्छ त्यहाँ पुग्न । कसै संग फोन सम्पर्क पनि हुन सक्दैन । अहिले सम्म मृतकका कुनै परिवार सम्पर्कमा आएका छैनन । अत्यन्तै विकट गाउँ हो । त्यहाँका कतिपय परिवार त घरमा ताला नै ठोकेर शहरतिर काम खोज्न जान्छन ।
वर्षमा एक चोटी दशैं तिहारमा घर आउँछन । हिजो मृत्यु भएका र घाईतेहरु पनि दशैं तिहार मानेर पोखरातिर काम खोज्न हिडेको बुझिएको छ । त्यहाँका वासीन्दाहरु परनिर्भर छन । घरको रोजीरोटी चलाउनका लागि बृद्ध बृद्धा वाहेक हुर्केका जति सवै घर छाड्न बाध्य छन ।
त्यहाँ आय आर्जनका कार्यक्रम लैजान खोजे पनि कोही भारत छन कोही स्वदेशका विभिन्न शहरमा छन सम्पर्क हुनै सक्दैन, अहिले त १४ घरधुरीका बुढापाकाहरु मत्रै रहेको सुनिन्छ अरुको घरमा ताला मार्दै हिडेको पाईन्छ । ’
गाउँपालिका प्रमुख घर्तिका अनुसार मुस्ताङ्ग दुर्घटनामा रोल्पा कुशुवाङ्गका एकै परिवारका चार जनाले ज्यान गुमाएका छन । बृद्ध वावु आमालाई घर छाडेर काम खोज्न हिडेका राष्टे रोका, महेश रोका दाजु भाई हुन । साथमा उनकी अविवाहित वहिनी सिर्जना रोका र विवाहित दिदी जितमाया घर्तिको पनि त्यस दुर्घटनामा एकै साथ मृत्यु भएको छ ।
थवाङ्ग गाउँपालिका प्रमुख घर्तिले जितमायाका श्रीमान रिशम घर्ति, दिपक पुन, डिलक पुनको अवस्था माया मार्ने खालको पाईएको बताए पनि प्रहरीले उपचार कक्ष मै रहेको बताएको छ ।
मुस्ताङ्ग जिल्ला प्रहरी कार्यालयका अनुसार घाईतेहरुमा रोल्पाका माथी उल्लेखित बाहेक विमल घर्ति, कुमिर पुन, सुर्यबहादुर बुढा , रिस्चा घर्ति, किशोर पुन रहेका छन । त्यस्तै धादिङ्गका सागर पुन, दाङ्गका च्यामी बुढा मगर, निरज पुन र झापाका दिपेश रायमाझी सहित १२ जना पोखराको मणीपाल अस्पतालमा छन ।
अहिले सम्म मृत्युको संख्या २० पुगेको छ । ३ जनाको अवस्था चिन्ताजनक छ । दाङ्ग र रोल्पाका मृतकका बृद्ध वावु आमाहरु दशैंमा पैसा लिएर आउँछु, ऋण–धन गरेर चलउँनु भन्थौ नि बाबै….भन्दै–रुँदै छोरा छोरीहरुको शव कुरेर बसेको वडाध्यक्षहरु बताउँ छन् । घटना स्थलमा मुस्ताङ्गका प्रहरी निरीक्षक राजेन्द्र रेग्मी सहितको टोली हिजो दिउँसो देखि अहिले सम्म तैनाथ छन ।
हेलिप्याडमा रहेका नजिकै रहेका शव र मृतकका वालवालिकाहरु सुरक्षित रहेको रेग्मीप्ले बताए । हिमाली जिल्ला मुस्ताङ्गमा प्रतिकुल मौसम र विकटताका वावजुत पनि त्यहाँको प्रहरी घटना घटे देखि अहिले सम्म प्रत्येक पल सम्पर्कमा रहेको प्रति धेरै पत्रकारहरुले प्रशंसा गरेका छन ।