तारानाथ आचार्य । वैशाख ३१, बलेवा (रासस)। अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा सङ्क्रमित पुगेका छन् ।

सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दो छ’’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भन्नुभयो, ‘‘सङ्क्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’’

मुस्ताङ अस्पतालमा छ शैयाको आइसोलेसन बनाइएको छ । ती छ वटै शैयामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष भने छैन । भेण्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताउनुभयो ।

सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ । ‘‘स्थानीय तहमा पनि आइसोलेसन बनेका छन् तर अक्सिजन पु¥याउन सकिएको छैन्’’ सहायक प्रजिअ अर्याल भन्नुहुन्छ, ‘‘जनसङ्ख्या थोरै भएर के गर्नु छिरोलिएको ठूलो जिल्ला भएकाले व्यवस्थापनमा कठिन भैरहेको छ ।’’ मुस्ताङमा १३ हजारको हाराहारीमा जनसङ्ख्या छ ।

महामारीको दोस्रो लहर शुरु हुँदादेखि नै सतर्कता अपनाएको मुस्ताङले महामारीको लहरलाई रोक्न भने सकेन । पहिलो चरणको कोरोनाको प्रभाव कम भएपछि जिल्लामा आन्तरिक पर्यटकको निकै चहलपहल बढेको थियो । यस अवधिमा नेपालमा रहेका विदेशी संस्थाका कर्मचारीदेखि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको जिल्ला आवतजावतका कारण कोरोना भित्रिएको प्रशासनको ठम्याइ छ ।

दुई/चार दिन घुम्नेलाई रमाइलो लागे पनि १२ महिना कष्टकर जीवन बिताएका मुस्ताङवासीलाई अहिले कोरोनाको कहरले झन पिरोलिरहेको छ । स्थानीय सर्वसाधारणभन्दा देशका अन्य जिल्ला र विदेशी पर्यटकको आवागमन धेरै हुने गर्दछ । कोरोनाको पहिलो लहर चल्ने बेला मुस्ताङ निकै कठोर बनेर रोगको सङ्क्रमणलाई रोक्न सफल भएको थियो ।

पहिलो चरणमा बिदामा घर हिँडेका कर्मचारी हुन् वा कामको सिलिसिलमा मुस्ताङ बाहिर निस्केका सर्वसाधारणले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यात्मक व्यवस्था जिल्लाभर गरिएको थियो । निकै कठोर बनेर जिल्लालाई सुरक्षित र सजग राखेको मुस्ताङले अहिले कोरोना महामारीको दोस्रो लहरसँग पौंठेजोरी खेलिरहेको छ ।

अहिले कोरोनाको दोस्रो भेरिएन्टको प्रभाव बढेपछि मुस्ताङ प्रवेशका लागि सिमित नाकाहरु मात्रै सञ्चालनमा छन् । नाकाहरुमा पहिलेदेखि नै कडाइ गरेको भए महामारीको कम प्रभाव पर्ने स्थानीयवासीको भनाइ छ ।

महामारीको दोस्रो लहरले पहिलोपटक केही दिन पहिला मुस्ताङकी एक महिलाको मृत्यु भएको थियो । सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका सम्बन्धित निकाय, स्थानीय निकाय र स्थानीयवासी सजग बनेका छन् । ‘‘हामीकहाँ अक्सिजन प्लान्ट छैन्, बाहिरबाट भरेर ल्याउँदा यही अवस्थामा सङ्क्रमण फैलिँदा कठिन छ’‘ अर्याल भन्नुुहुन्छ, ‘’यो अवस्थाको मूल्याकङ्न गरेर हामीले निशेधाज्ञा गरेका छौँ ।’’

जिल्लाभर एक जना समेत चिकित्सक नरहेका कारणले पनि बिरामीको उपचारमा समस्या भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख भण्डारी बताउनुहुन्छ । ‘‘हामीसँग जनशक्तिको पनि अभाव छ, विषेशज्ञ डाक्टर छैनन्, स्वास्थ्यकर्मी पनि चाहिने जति छैनन्’’ भण्डारीले भन्नुभयो ।

यहाँका आइसोलेसनमा उपचरा गराइरहेका छ जना अहिलेसम्म बाहिरी जिल्ला पठाइएका छन्् । श्वासप्रश्वासमा समस्या भएपछि ‘हाइकेयर युनिट’मा उपचार गर्न सकिने बिरामी समेत पोखरा, काठमाडौँ पठाउनु परेको अर्यालले बताउनुभयो । ‘‘एचडियु मात्रै भएको भए धेरै सहज हुने थियो’’ अर्याल भन्नुहुन्छ, ‘‘सबै कुराको अभाव छ यहाँ ।’’ कोरोनाको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य समस्या भएका छ जनाले मुस्ताङबाट हेलिकप्टर चडेर पोखरा काठमाडौँलगायतका शहरका अस्पतालमा पुगेर ज्यान बचाएका छन् भने अरु सबै सङ्क्रमितको मुस्ताङमै उपचार भैरहेको छ ।

May 14, 2021
मुस्ताङ्ग - MST, समाज
चिकित्सक, आइसियु र भेण्टिलेटर विहीन मुस्ताङमा संक्रमण बढ्दै
By साझासवाल
8 मिनेट पढाइ