२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम–कोरला सडक आयोजना धमाधम

२०७५, २२ माघ मंगलवार ०९:२९

निरज थकाली । माघ २२, ठिनी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । 

एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ७० र ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सात वटा प्याकेजमा सञ्चालित जोमसोम–कोरला सडकको छोसेर–कोरला खण्डको १६ किलोमिटर स्तरोन्नतिको काम सकिएको छ । 

लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्म गत कात्तिकमै स्तरोन्नति भएको हो । आयोजना प्रमुख मुकुन्द अधिकारीले अन्य छ वटा प्याकेजको पनि ७० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । 

“जोमसोम–कोरला सडकको बाँकी काम अबको एक वर्षभित्र स्तरोन्नति सकेर सहजरूपमा यातायात सञ्चालनको लक्ष्यअनुसार काम अघि बढाइएको छ”, आयोजना प्रमुख अधिकारीले भन्नुभयो, “जोमसोमदेखि–बेनीतर्फको सडक कालोपत्रे गर्न तयारी अवस्थामा छ । चैतमा कालोपत्रे शुरु हुन्छ ।” 

ट्र्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई जोमसोमदेखि कोरलातर्फ ११ मिटर फराकिलो, नाली, ग्याबियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गर्न लागिएको हो । जोमसोमदेखि–बेनीतर्फको सडक कालोपत्रेका लागि चार वटा प्याकेजमा काम भइरहेको छ । 

जोमसोम–कोरलाखण्डको विसं २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको हो । बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकको ११ वटा प्याकेजमध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सबैभन्दा पहिले सकिएको हो । चालु आर्थिक वर्षभित्रै विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम कोरला सडक स्तरोन्नतिको काम सकिने भएको छ । 

बर्खायाम, सवारी साधनको चाप, बाढी पहिरो र कटानका कारण सुस्ताएको बेनी–जोमसोम सडक कालोपत्रेका लागि फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने कामले मङ्सिरपछि गति लिएको छ । समयतालिका बनाएर यातायातका साधन आवागमनलाई व्यवस्थित र सवारीको चाप पनि कम भएको अवस्थामा निर्माण व्यवसायीले विभिन्न ठाउँमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरेको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताउनुभयो । 

विसं २०७७ मङ्सिरसम्म काम सक्ने ठेक्का लिएका निर्माण व्यवसायीले हालसम्म ४० प्रतिशत काम गरेका छन् । २०७४ असारमा चार वटा प्याकेज (भाग) मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले रु दुई अर्ब ५० करोडमा ठेक्का लिएका थिए । 

रु तीन अर्ब ४० करोड कूल लागत अनुमान गरिएको थियो । शर्मा–गजुरमुखी जेभीले दुई वटा, शर्मा–युनाइटेड जेभीले एक र पप्पु–तामाङ–कोशी–न्यौपाने जेभीले एक प्याकेजको ठेक्का लिएका छन् । कोवाङ–टुकुचे खण्डमा ग्राभेल गरिएको छ । 

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची अवस्थामा छ । आयोजनाबाट कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य छ । गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीका अनुसार बेनी–घाँसा खण्डमा ‘डिबीएसडी’ र घाँसा–जोमसोम खण्डमा ‘असपाल्ट’ प्रविधिको कालोपत्रे गरिने भएको छ । 

नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्रे गरिने प्रतिनिधि क्षेत्रीले बताउनुभयो । पोखरेबगर र तिप्ल्याङस्थित कालीगण्डकी नदीमा सडक विभागअन्तर्गतको पुल विभाग सेक्टर नम्बर तीन पाल्पाले दुई वटा पुल बनाइरहेको छ । आयोजनाले गलेश्वरस्थित राहुघाट र दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको छ । बेनीदेखि कोरलासम्म ३१ वटा मोटरेबल पुल आवश्यक पर्ने आयोजनाले जनाएको छ । 

यसैगरी बेनी–मालढुङ्गा खण्डको सडक स्तरोन्नतिका लागि पनि नक्साङ्कनसम्बन्धी सरकारको निर्णय मागिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । भिरकाटे र बादरजुङ भिरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन शुरु गरेको छ । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन हुन लागेको हो । 

“भिरकाटे र बादरजुङ भिरको कठिन भूगोल भएकाले नेपालमै नयाँ प्रविधि प्रयोगका विषयमा सडक विभागले विभिन्न विकल्पको अध्ययन शुरु गरेको छ”, आयोजना प्रमुख अधिकारीले भन्नुभयो, “कस्तो प्रविधि प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुन बाँकीनै छ ।” 

बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्रे भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । 

उहाँका अनुसार कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ