काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्ने राजा’ टिजरले अपेक्षित प्रतिक्रिया पाएपछि उत्साहित छन्। टिजरले तीन दिनमै झन्डै १० लाख भ्युज पाएको छ। संवाद र माग्नेको शैली दर्शकलाई मन परेको उनले बताए।
घिमिरेले टिजरमा प्रयोग भएका माग्नेकै लवज र थेगो पुरानो माग्ने पात्रको निरन्तरता भएको स्पष्ट पार्दै फिल्ममा नयाँ माग्ने पनि देखिने जनाए।
निर्देशक ऋषि लामिछानेले पनि टिजरले दर्शकको कौतुहलता जगाएको बताउँदै, मुख्य भूमिकामा घिमिरेलाई प्रस्तुत गर्ने चुनौतीमा अब ढुक्क भएको प्रतिक्रिया दिए।
मुनाल घिमिरेको लगानीमा बनेको फिल्ममा केदारसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेललगायतको अभिनय रहेको छ। सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन्। फिल्म भदौ ६ गते रिलिज हुँदैछ।