2026-09-15 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा बसेरपनि…, सीमाले रोक्दैन् सिर्जनालाई

रामबहादुर थापा | कात्तिक ८, बागलुङ (रासस) | विदेशमा बसेरपनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्नुहुन्छ । उहाँको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महीना दिन पुग्दा युट्युबमा १७ लाख पटक हेरिएको छ । कलाको सीमा हुँदैन । भूगोलले सिर्जनाकर्म रोक्दैन् । 

विसं २०६८ मा ‘डाँडै फुर्के सल्लो’ गीत सार्वजनिक हुँदा लोकसङ्गीत प्रेमीले श्रद्धापूर्वक पन्तको पनि नाम लिए । उहाँले गाउनहुन्न, सङ्गीत दिनुहुन्न । तर, शब्दले गीतमा प्राण भर्नुहुन्छ । पन्तको मूल सिर्जनाकर्म गीत रचना हो । 

“भौतिक रूपमा अमेरिकामा बसेपनि मेरो मन र भावना नेपालमै छ”, पन्तले रासससँग भन्नुभयो । सङ्गीतप्रति सानैदेखिको प्रेम र समर्पणले उहाँलाई गीत रचनातर्फ धकेल्यो । रोजगारीको सिलसिलामा चार वर्षअघि अमेरिका पुग्नुभएका पन्तले त्यहाँ पनि गीत लेखनलाई निरन्तरता दिनुभयो । 

सङ्गीतकार बसन्त थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पात…’ लेख्नुभयो । “कम्पनीमा काम गर्दै थिएँ, एक्कासी गीत फुर्यो”, पन्तले सम्झिनुभयो, “कागजको चिर्पेटोमा शब्द उतारेँ ।” मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव उहाँको गीतको रचनागर्भ हो । 

गीतमा गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको स्वर छ । सात वर्षअघिको लोकदोहारी गीत ‘डाँडै फुर्के सल्लो’ पनि यिनै चार कलाकारको उपज हो । बागलुङ नगरपालिका–१२ अमलाचौरका पन्तले अमेरिकामै बसेर हालसम्म दर्जन बढी गीत रचना गर्नुभएको छ । 

गायक/सङ्गीतकार रामकृष्णबम मल्ल जापान पुगेको दश वर्ष भयो । उद्देश्य रोजगारी भए पनि सङ्गीतकर्ममा पनि उहाँको उत्तिकै लगाव छ । नेपालमै सङ्गीतको ज्ञान र अनुभव लिएर विदेशिनु भएका मल्लको जापान पनि सिर्जनाको थलो भएको छ । “म यहाँ आएर पनि थुप्रै गीत रचना गरेँ, गाएँ” मल्लले भन्नुभयो, “सङ्गीत साधनाबाट टाढा छैन ।” 

लोक र आधुनिक शैलीका गीतमा सङ्गीत भर्ने र गाउने मल्लले ‘मायाको बारीमा’, ‘बस प्यारी’, ‘गलकोट सम्झिएँ’ लगायतका गीत जापानमै बसेर रचना गर्नुभयो । जापानमा बसेर गीत लेखीरहेका छ जना गीतकारको संयुक्त आधुनिक गीत सङ्ग्रह ‘सहयात्रा’ मा समेत मल्लको एकल सङ्गीत छ । 

बागलुङको गलकोट नगरपालिका–५ हरिचौरका मल्लको गत महीना जापानमा ‘रामकृष्णबम मल्ल एकल साँझ’ पनि आयोजना गरियो । ‘कलाकार कल्याणकारी कोष’ का लागि टिकटमा उक्त कार्यक्रम राखिएको थियो । “एक वर्षको तयारी गरेर कार्यक्रम गर्यौं” मल्लले भन्नुभयो, “सम्भवत जापानमै पहिलोपटक त्यस किसिमको कार्यक्रम भयो ।” 

प्रत्यक्ष सङ्गीतमा भएको कार्यक्रममा मल्ललाई जापानी बाद्यवादकले समेत सघाएका थिए । “कार्यक्रमले राम्रो सन्देश दियो, विदेशी भूमिमा पनि ठूलो व्यवस्थापनसहित कार्यक्रम गर्न सफल भयौँ”, मल्लले भन्नुभयो । 

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका सूर्य खड्का १० वर्षदेखि जापानमा हुनुहुन्छ । यसबीचमा उहाँले ८० भन्दा बढी लोक तथा दोहोरी गीत गाउनुभएको छ । उहाँका ‘चार बजेको आलाराम’, ‘घडी’, ‘रित्तो काख’ लगायतका गीत चर्चामा छन् । उहाँले अधिकांश गीतको रकर्डिङसमेत जापानमै गर्दै आउनुभएको छ । “नेपालबाट सङ्गीतको एरेन्ज मगाउँछु, स्वर यहीँको स्टुडियोमा रेर्कड गर्छु”, उहाँले भन्नुभयो । 

खड्का जापानमा हुने नेपाली साङ्गीतिक कार्यक्रममा व्यस्त हुने गायक मध्येमा पर्नुहुन्छ । उहाँले कतिपय गीत विदामा नेपाल आउँदा यतै सार्वजनिक गर्नुभएको छ । “अहिले त युट्युबको जमाना छ”, उहाँले भन्नुभयो, “मेरा पछिल्ला गीत युट्युबबाटै सार्वजनिक भइरहेका छन् ।” 

देशमा रहँदा सङ्गीतको प्यास र प्रेम बोकेर हिँड्ने प्रवासी नेपालीहरु कुनै न कुनै रुपमा सङ्गीतकर्मसँग निकट छन् । सानैदेखिको रुचीलाई सर्जक तेजेन्द्र भण्डारीले जापानमै पुगेर साकार रूप दिन सफल हुनुभएको छ । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका भण्डारीले हालै आधुनिक गीत ‘प्रहर’ युट्युबमा सार्वजनिक गर्नुभएको छ । “जापानमै बसेर गीत लेखेँ पछि, बिदामा नेपाल जाँदा गीत रेकर्ड भयो”, उहाँले भन्नुभयो । 

भण्डारीको गीतमा सङ्गीतकार श्रीकृष्णबम मल्लको सङ्गीत र गायक राज सिग्देलको स्वर छ । लाख बढी रकम खर्चेर उहाँले गीतको (भिडियो) चल दृश्यसमेत बनाउनुभएको छ । अग्रजको प्रेरणा र सङ्गीतप्रतिको लगावले आफूलाई सिर्जनाकर्ममा डोर्याएको भण्डारीको भनाइ छ । “व्यावसायिक रूपमा लाग्न नसकेपनि सङ्गीतमा काम गर्ने हुटहुटी छ”, भण्डारीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ