2026-09-11 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

बर्खा लाग्यो : डरै डरमा मनाङका माटाका घर

काठमाडौँ ।  हिमाली क्षेत्रमा पानीपर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् ।  परम्परा तथा मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका घरको छत नै माटोका राखिन्थ्यो । माटो जमाएर बनाइएका घर जलवायु परिवर्तनको चेपुवामा परेर कङ्क्रिटले बन्न थालेका छन् । वर्षायाम लागेसँगै माटाका घर डरैडरमा रहेका छन् ।
विगतको तुलनामा मनाङमा औसतभन्दा अधिक वर्षा र लगातार झरी पर्न थालेपछि माटोले बनाइएका परम्परागत घरको छतले धान्न सक्ने अवस्था छैन । जसले गर्दा यहाँका घर पानीले भिजेर चुहिन थालेका छन् । पहिले माथिल्लो मनाङमा वर्षा नै हुँदैनथ्यो । अहिले विशेषगरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा रहेका यस्ता पुरातन सांस्कृतिक शैलीमा निर्माण गरिएका घर वर्षाका कारण नासिँदै गएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताउनुभयो ।
“प्रकृतिसँग जुध्न सकिँदैन । प्रकृतिलाई फेर्न पनि सकिँदैन । जलवायु परिवर्तनले प्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । परम्परागत तथा मौलिकता नै मासिने अवस्थामा पुगेको छ । यसका साथै परम्परागत संस्कृतिलाई समेत असर गरेको महसुस हुन्छ”, उहाँले भन्नुभयो । विगतमा माथिल्लो मनाङमा वर्षा नहुने हुँदा यस्ता घर नै पहिचान बनेकामा अहिले फेरिँदै गएको उहाँको भनाइ छ ।
सदरमुकाम चामेमा पुराना परम्परागत घरदेखिन छाडेका छन् । विकासको क्रमसँगै आधुनिकताले छोप्दै जाँदा नासोँ तथा चामे गाउँपालिकामा अधिकांश घर आरसिसी गरी निर्माण भएका पाइन्छन् । तर, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने पुरातन शैलीका सांस्कृतिक सम्पदा अझै पनि देख्न सकिन्छ ।
आफ्ना सन्ततिका लागि पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक, गुम्बा, छोर्तेन तथा देवस्थलको अस्तित्व नासिँदै जान थालेका छन् । एकातिर जलवायु परिवर्तनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशुचौपायाको स्वास्थ्य, सामाजिक, सांस्कृतिक धरो नासिने, रैथाने सीप, पहिचान तथा ज्ञान नासिने गरेको छ भने अर्कोतर्फ जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानी पुर्‍याउने गरेको छ । हिउँ र पानी कम पर्ने चक्र फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर परेको अध्यक्ष लामाले बताउनुभयो । पर्यावरणीय प्रभावका कारण जीवनयापन, वातावरणीय अवस्था तथा आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थामा फेरबदल हुँदै गएको छ ।
“पर्यटकको ‘हब’ का रूपमा परिचित मनाङमा आउने विदेशी पर्यटक तिलिचो जान मात्रै आउँदैनन् । उनीहरू यहाँको जीवनशैलीको अध्ययन गर्न पनि आउँछन्, हामीले गुम्बा, छार्तेन, माटाका घरलगायत मौलिक पहिचान बनेको मनाङवासीको संस्कृति संरक्षण गर्नुपर्छ”, नार्पाभूमिका अध्यक्ष लामाले भन्नुभयो ।
उहाँले नार्पाजातिको संस्कृति, रीतिरिवाज संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नार्पाभूमिमा गाउँ छाड्दा साइत हेरेर मात्र निस्किने तथा छोर्तेन घुमेर गाउँ छिर्ने चलन अहिले पनि जीवन्त रहेको छ । गाउँको प्रवेशद्वारका रूपमा अहिले पनि छोर्तेन देख्न पाइन्छ ।  यी परम्परागत गुम्बा छोर्तेन यहाँका सांस्कृतिक सम्पत्ति हुन् । संरक्षणको अभावमा यहाँका गुम्बा, छोर्तेन तथा माटाका घरको छानो चुहिएर दलिन, खम्बा र निदाल कुहिएर मक्किएका छन् ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अधिक वर्षा हुँदा यहाँका बासिन्दाले कङ्क्रिटका घर बनाउन बाध्य भएका बताउनुभयो । “विगतमा जस्तो पानीको आवश्यकता हिउँले पूरा गर्दैन । भारी वर्षा हुन्छ । जसले चिसो ठाउँ भएकाले वर्षाबाट बच्न माटाको घर फेरिन बाध्य भएका छौँं”, उहाँले भन्नुभयो, “चामे–५ मा केही परम्परागत मौलिक घर थिए । अहिले ती पनि नासिँदै गएका छन् । जति वर्ष फेरिन्छ, त्यति वर्षा बढ्दा समस्या भएको छ ।”
बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । यस्ता घरमा बस्दा जाडोयाममा चिसोजन्य रोगले छुँदैन । तर, आधुनिकता छुदै गर्दा आरसिसी घर बन्ने क्रम जारी छ । यस्ता घरमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुन्छ ।
विज्ञका अनुसार माटोले बनेका घरले तातो चिसो सोसेर राख्छ । जसले गर्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ । यी पुराना सम्पदाको संरक्षणका लागि तीनै तहका साथै सम्बन्धित निकाय सचेत हुन आवश्यक छ । विशेषगरी जलवायु परिवर्तन न्यूनीकरण तथा हरित वृद्धिमा सरकारको चासो दिन सकेमा यहाँको जीवनशैलीलाई मुख्य रूपमा टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल