पढ्न करिब 2 मिनेट लाग्छ

पुस २९, बैतडी । बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ ।

आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो ।

गएको चैतदेखि रणनीतिक योजना बनाउने कार्य शुरु गरी तयार पारिएको छ, कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले भन्नुभयो, “बैतडी धेरै बालविवाह हुने जिल्लामध्ये पाँचौँ स्थानमा रहेकाले बालविवाह न्यूनीकरणका लागि यो रणनीतिक योजना तयार पारेका हौँ ।”

योजनामा बालिका र किशोरीे सशक्तीकरण, उनीहरुका लागि गुणस्तरीय शिक्षा तथा बालक, किशोर र पुरुषको सहभागिता, परिवार र समुदायको परिचालन, सेवा प्रवाह र कानून तथा नीतिको सुदृढीकरण र कार्यान्वयन समेटिएको छ ।

सो रणनीतिक योजना सार्वजनिक गर्दै ओआरडीएसका लोकेशलाल शाहले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बालविवाह कानूनविरुद्धको कार्य भए पनि अहिलेसम्म जिल्लामा यस विरुद्ध कुनै उजुरी परेको छैन् भन्नुभयो ।

उहाँले भन्नुभयो “बालविवाह न्यूनीकरणका लागि ग्रामीणस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।”

महिला विकास अधिकृत अनिता बुढाऐरले बालविवाहले समग्र महिलाको जीवनमा समस्या ल्याउने भएकाले यसको रोकथामका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रासस