माघ २, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याएपश्चात उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धर्मालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ । राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन् ।

कुन विवादमा चक्कु प्रहार गरियो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीका अनुसार घटना राति १: ३० बजे भएको बताइएको छ । रासस