2026-10-31 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा माइक्रो फाइनान्सले महिलालाई मुखिया बनाउँदै छ

रुपेन्द्र ऐडी /फागुन २४, कालीकोट | कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत हुने विश्वास बढ्न थालेको छ । 

आठ वर्षअघि खांडाचक्र नगरपालिका–२ निवासी नानी शाहीलाई घर खर्च चलाउनु परेमा श्रीमान्सँग पैसा छ कि भनेर माग्नुपर्ने अवस्था थियो । तर अहिले ठीक उल्टो भएको छ । श्रीमान्ले आवश्यक परेको बेलामा आफूसँग पैसा मागेर समस्या टार्न थालेको उहाँको भनाइ छ । उहाँले विगत सात वर्षअघि सहकारीको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर पहिलो पटक पाँच हजार रुपैयाँ कर्जा लिएर व्यवसाय शुरु गर्नुभएको हो । सामान्य चिया पसलबाट आरम्भ गरेको व्यवसाय अहिले बढ्दै गएको छ । नानी अहिले श्रीमान्सँग मिलेर जिल्ला अस्पतालमा होटल व्यवसाय गर्दै आउनुभएको छ । 

जिल्ला अस्पतालमा खाजाघर सञ्चालन गरेर मासिक २३ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ उहाँले । जिल्ला अस्पतालभित्र र बाहिर सञ्चालन गरेको खाजाघरमा बिहानदेखि बेलुकासम्म उहाँलाई भ्याइनभ्याई छ । अहिले समूहका महिला सदस्यको विश्वासबाट तीन लाख रुपैयाँभन्दा बढी कर्जा लिनुभएका उहाँले मासिक रुपमा कर्जाको किस्ता तिर्नुहुन्छ । यसैको आम्दानीबाट घर खर्च मात्र होइन छोरीलाई अनमिसम्म पढाउन सफल पनि हुनुभएको छ । 

पहिले समाजमा पुरुषलाई मात्र कर्जा दिने साहुमहाजनभन्दा महिलालाई विश्वास गर्ने सहकारी तथा वित्तीय संस्थाका कारण आफूहरुलाई उद्यमी बन्ने अवसर मिलेको यहाँका महिलाहरु बताउँछन् । कतिपय महिलाले अन्य निकायबाट सीप सिकेर समूहबाट कर्जा लिई सफल उद्यमी बनेका छन् । 

नरहरिनाथ गाउँपालिका तीन निवासी शान्ति बुढा अहिले श्रीमान् जहले बुढाको सहयोगमा घरमा कुखुरापालन र खुद्रा पसल चलाउनुहुन्छ । यस अतिरिक्त उहाँ तरकारी खेती पनि गर्नुहुन्छ । । खुद्रा पसलबाट व्यवसाय शुरु गर्नुभएको बुढाले गाउँको साहुबाट वार्षिक ३६ प्रतिशतमा २० हजार कर्जा लिनुभएको थियो । त्यही सिलसिलामा कुमाल गाउँमा हिमचुली कृषि सहकारी संस्था लि.ले माइक्रो फाइनान्स समूह गठनका लागि पठाएका कर्मचारीबाट संस्थाबाट पाउने सुविधाका बारेमा थाहा पाउनुभयो । कर्जा पाउन र कमाएको रकम बचत गर्न सहज हुने देखेपछि गाउँका महिला जम्मा गरेर समूह गठन गर्दै पहिलो पटक ५० हजार रुपैयाँ कर्जा लिएर साहुको २० हजार फिर्ता गर्नुभयो । त्यसैबाट कारोबारलाई बढाएर अहिले मासिक १२ हजारसम्म आम्दानी गरिरहेको बुढा बताउनुहुन्छ । 

छोरीलाई काठमाडौँमा रेडियोलोजी पढाउँदै आउनुभएको छ उहाँले । उहाँले भन्नुभयो, “माइक्रो फाइनान्स समूह नभएको भए छोरीको पढाइका लागि थुप्रै ऋण लिनुपर्ने हुन्थ्यो । अहिले समूहबाट लिएको कर्जा मासिक रुपमा तिर्न सफल भएको छु ।” अहिले माइक्रो फाइनान्स समूहबाट तीन लाख ६० हजार रुपैयाँ कर्जा लिएको उहाँ बताउनुहुन्छ । आफूहरुलाई अहिले श्रीमान्सँग स–सानो कुनै पनि रकम माग्नु नपरेको बरु उल्टै आफूहरुले दिनुपरेको बुढाको भनाइ छ । 

रास्कोट नगरपालिका–५ निवासी मनपुरा तिरुवाको जीवनशैली अहिले परिवर्तन भएको छ । उहाँको खुद्रा पसल गर्ने चाहना भएपनि श्रीमान्को कमाइले सम्भव हुने नदेखेपछि एक वर्षसम्म सोचेको कुरा मनमा राखेर बस्नुभयो । अन्ततः इच्छा मुताबिक उहाँले सहकारी संस्थाको माइक्रो फाइनान्स समूहमा आबद्ध भएर कर्जा लिई व्यवसाय शुरु गर्नुभयो । गाउँबाट बजारमा खुद्रा व्यवसाय शुरु गर्नुभएको मनपुराले घर खर्च व्यहोर्दै मासिक किस्ता पनि तिर्दै जानुभएको छ । उहाँले भन्नुभयो, “आफूलाई आवश्यक पर्ने गरगहना पनि जोडेको छु । समूह आफूहरुका लागि माइती जस्तै भएको छ ।” 

स्थानीय जनप्रतिनिधि हुने अवसरसमेत पाउनुभएका मनपुरा तिरुवा समाजको अगुवाको भूमिकासमेत निर्वाह गरिरहनु भएको छ । चार वर्षअघि २३ जना महिलाको अगुवा हुनुभएका मनपुरा सामाजिक काममा समेत सहभागिता जनाउनुहुन्छ । जिल्लाका अधिकांश महिला अहिले आत्मनिर्भर हुने वातावरण बनेको यहाँका महिलाको भनाइ छ । कालीकोट जिल्लामा महिलामा आत्मविश्वास बढ्दै गएको र सहकारीका समूहमा बसेर नेतृत्व गर्न सक्षम हुने अवसरसमेत मिलेको माइक्रो फाइनान्स प्रबन्धक मनिका बोहरा बताउनुहुन्छ । उहाँका अनुसार अहिले पनि महिलाले कर्जा लिए पनि पुरुष बिना व्यवसाय सञ्चालन असम्भव देख्नेका लागि यहाँका महिलाले उदाहरणीय काम गरेर देखाएका छन् । 

बोहराले भन्नुभयो, “समाजमा हेलाँको दृष्टिले हेरिने एकल महिला पनि समूहमा आबद्ध भई व्यवसायी बन्न सफल हुनुभएको छ । उहाँहरुको व्यवसाय समाजका लागि उदाहरणीय बनेका छन् ।” कुमालगाउँ निवासी रत्ना भण्डारा एकल महिला हुन् । उहाँले गाउँमा कुखुरापालन गरेर राम्रो कमाइ गरिरहनु भएको छ । पहिले पहिले गाउँमा खुद्रा पसल शुरु गर्दा अर्कै नजरले हेर्नेहरु आफूले शुरु गरेको कुखुरापालन व्यवसाय र खुद्रा व्यापार देखेर छक्क पर्ने गरेको उहाँ बताउनुहुन्छ । श्रीमान् हुने महिलाका लागि आफू उदाहरण बनेको र घर खर्चका लागि कुनै कठिनाइ नभएको उहाँको भनाइ छ । 

जिल्लामा माइक्रो फाइनान्स सञ्चालन गरेको हिमचुली सहकारीले अहिले ६ हजार ५०० महिलालाई नौ करोड कर्जा प्रवाह गरेर व्यावसायिक बनाएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताउनुभएको छ । उहाँले भन्नुभयो, “पहिले पहिले कर्जा लिँदा कसरी तिर्ने होला भन्ने चिन्तामा पर्ने गरेको भए पनि अहिले भने महिलामा व्यावसायिक दक्षता बढ्न थालेको छ ।” सात वर्षअघि शुरुआतको चरणमा पाँच हजार कर्जा प्रवाह गर्ने सहकारी संस्थाले अहिले व्यवसाय हेरेर तीन लाख सम्मको कर्जा प्रदान गर्दैआएको छ । 

महिलाले कमाएको रकम लघु बचत, लघु बिमा र लघु कर्जाका माध्यमबाट उनीहरुलाई नै आत्मनिर्भरतातर्फ उन्मुख गराउने काम मात्र नभई सहकारीले सामाजिक काममा समेत अगुवाको भूमिका निर्वाह गर्दै आएको संस्थाका अध्यक्ष कालीबहादुर महताराले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई व्यावसायिक मात्र हैन आर्थिक क्षेत्रमा महिलाको पहुँच वृद्धि गराउन पनि सहकारी सफल भएको छ । 

कालीकोट जिल्लामा महिलालाई आगामी तीन वर्षसम्म १५ हजार महिलालाई समूहमा आबद्ध गराउने सहकारीले लक्ष्य छ । 

कालीकोट जिल्लामा वित्तीय क्षेत्रमा काम गर्ने दुई दर्जन सहकारी संस्थाका साथै एक दर्जन लघुवित्तको काम गर्ने वित्तीय संस्था छन् । चारभन्दा बढी वित्तीय संस्थामा बसेर बचत गर्ने महिला पनि छन् । महिलाका लागि अवसर र चुनौती दुवै थपिएको किसान माइक्रो फाइनान्समा काम गर्दै आउनुभएका दीपक विष्ट बताउनुहुन्छ । 

नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मानशोभा बुढाले महिलामा चेतना अभिवृद्धि भएको र उनीहरुलाई हरेक क्षेत्रमा अवसर दिँदै अगाडि बढाउन जरुरी रहेको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय